सुदूर नेपाललाई विश्वसँग जोड्दै

मौलिक पर्व: ओल्के त्यार

२०७९ भदौ १, १०:५०

-नरबहादुर कार्की
धार्मिक तथा सामाजिक महत्त्व झल्काउने ओल्के पर्व हाम्रो मौलिक पर्व हो। यस पर्वको आगमनसँगै ‘बाँच्नेले ओल्के खानु’ भनेझै समाजमा रोगव्याधी तथा हानिकारक किराजन्य जीवको डर घट्दै जान्छ। बर्सातभरि रुझे झिजेर खेतकान्लामा काम गरि थकित र गलित किसानहरुको तनको भारी बिसाउने चौतारीको रुपमा यस पर्वले काम गर्छ। पिङ खेल्ने, ओल्को दिने, हातमा भँयरी लगाउने यस पर्वमा आकर्षक प्रचलन हुन्। 

ओल्केको पिङ
विशेषगरी यस क्षेत्रमा ओल्के पर्वलाई पिङ (पयली) खेल्ने त्यार मानिन्छ। जंगलबाट बाँबियो काटेर ल्याउनुका साथै घरघरबाट समेत बाँबियो जम्मा गरी साउन महिनाको अन्निम साँझ ओल्के पिङ बाट्ने र अग्लो रुखको हाङ्गामा हाल्ले प्रचलन छ। गाउँका केटाकेटी, युवायुवती, बुढाबुढी, जान्नेमान्ने तथा भद्रभलाद्मी सबैले भाद्र सक्रान्तिका दिन पिङमा अनिवार्य खुटटा राख्नु पर्छ भन्ने मान्यता रहिआएको छ । मान्यताअनुसार एकक्षण भएपनि पिङमा खुट्टा राख्दा धरतीमाताको बोझ कम हुने जनविश्वास रहेको छ।

ओल्केको भँयरी
प्रचलित परम्मपरा अनुसार ओल्केमा भँयरी लगाउने गरिन्छ। भयरी सुन्दर एवम् रङ्गिचङ्गी भई फूल्ने एक प्रकारको फूलको बुटा हो। भँयरी लाउने स्थानीयहरुले ओल्केको अघिल्लो दिन जंगलबाट बिभिन्न प्रकारका जडिबुटीहरुका जरा जम्मा गर्छन्। ती जराहरुलाई भँयरीका डाठ तथा पातसँग मिसाई लेदो हुन्जेल ओखलमा कुटिन्छ। साँझको खाना खाइसकेपछि त्यो लेदोलाई दुबै हातमा राखी भुजा(फर्सी) का ठूलाठूला पातले हात बाधेर सुत्ने प्रचलन छ।
दोस्रो बिहान फर्सीका पातले बाधेका हातहरु खोलेपछि हातहरु आकर्षक राता एवम् चमकदार देखिने हुन्छन्। यी हातहरुको रङ्ग झण्डै १५ दिनभन्दा बढीसम्म रहन्छ। यस परम्मपराले एकातिर हातको सौन्दर्यता बढाउँछ भने अर्कोतिर वर्षायामभरि हिलो र पानीद्बारा रुजेभिजेका हातहरुमा भयँरी तथा जडिबुटी लगाउँदा यसले औसधिको कामगरी हातको छाला सुरक्षामा सहयोग पुर्‍याउँछ।

ओल्केको खसी
ओल्के पर्वमा आफूभन्दा ठूला, समाजका भद्र, भलादमी तथा मान्यजनहरुलाई हरियो साग, मुला, फर्सी, काक्रा, पिडालु तथा बर्षामा फूल्नेफल्ने खानेकुराहरु खसीमानी खसी दिने परम्परा छ। साथै समाजमा परम्परागत पेसा अँगालेका जातिहरुले मान्यजनहरुलाई आफ्नो सिप अनुसारका उपहारहरु जस्तै चिम्टा, चोया, आँसी, मिजुरो, बाउँसो, थैली आदि उपहार दिने र मान्यजनहरुले उक्त उपहारको सम्मान स्वरुप अन्न, मासु भात, सेलपुरी, नगद आदि दिने चलन छ। 
ओल्को दिने चलन
यस पर्वमा सानो नाता पर्ने इष्टमित्र तथा नातेदारले ठूलो नाता पर्ने इष्टमित्र तथा नातेदारलाई सम्मान स्वरुप ओल्को दिने प्रचलनको छ। ओल्को दिनु भनेको मान्यजनलाई मान्न जानू हो भन्ने भनाई छ। ओल्कोको रुपमा पँहेलो केरा, वर्षायाममा फलेको साँगतरकारी तथा फलफुलहरु दिने चलन बढी छ। 

अतः सामाजिक मेलमिलाप, जातीय सहिष्णुता, आपसी भेटघाट गराउन मद्धत गर्ने भएकोले यो एक सामाजिक महत्त्वको चाड हो।
 
(लेखक कार्की केआईसिंह गाउँपालिका–४, वायल डोटीका स्थानीय हुन्।)
 

कमेन्ट लोड गर्नुस