सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको पुर्वचौकी–६ को वडाअध्यक्ष बन्न महिलासहित ४ उम्मेदवार मैदानमा

२०८१ मंसिर ९, ०५:०८ खबर संवाददाता

डोटीः उपनिर्वाचनको मिति नजिकिँदै गर्दा डोटीको पूर्वीचौकी गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ।

गाउँपालिकाको वडा नम्बर ६ को अध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। वडाध्यक्ष पदमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार खडा गरेका छन्। चारै जना उम्मेदवारले आफूले जित्ने दाबी गरेका छन्। एमाले र कांग्रेसका उम्मेदवारले यसअघि पनि चुनावी प्रतिस्पर्धा गरिसकेका व्यक्ति हुन् भने माओवादी केन्द्र र रास्वपाले नयाँ अनुहारलाई मैदानमा उतारेका छन्।

कांग्रेस उम्मेदवार मोहन थापाले आफू २०५४ सालमा साविकको गाउँ विकास समिति अध्यक्ष भएर काम गरिसकेकाले मतदाताले आफूलाई छान्ने दाबी गरे। एमाले उम्मेदवार देवबहादुर थापा पनि निर्वाचन जित्नेमा विश्वस्त छन्। उनी २०७४ सालको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

यस्तै माओवादी केन्द्रका उम्मेदवार देवीलाल थापाले लामो समयदेखि राजनीति गर्दै आएको र हालसम्म कुनै लाभको पदमा नगएको भन्दै नयाँ अनुहार भएकाले जनताले आफूलाई विश्वास गर्ने बताए। स्थानीय तहको निर्वाचनमा नयाँ अभ्यास गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी जानकी खड्का कुँवरले आफू एकमात्रै महिला उम्मेदवार भएकाले जित सुनिश्चित भएको दाबी गरेकी छन्।

कुल एक हजार ५९३ मतदाता रहेको सो वडामा दुई मतदान केन्द्र कायम गरिएको छ। शिशु सुधार माध्यमिक विद्यालय गाँजरी केन्द्रमा एक हजार ४०६ मतदाताले मतदान गर्नेछन्। शारदा आधारभूत विद्यालय बासकोटको अर्को मतदान केन्द्रमा १८७ मतदाता रहेका छन्। साविक गाँजरी गाउँ विकास समिति हुँदा २०५४ सालको स्थानीय निकाय निर्वाचनमा कांग्रेसले जितेको थियो।

२०७३ सालमा स्थानीय तहको पुनर्संरचना भएपछि २०७४ साल असार १४ गते भएको निर्वाचनमा एमाले र कांग्रेसबिच मुख्य प्रतिस्पर्धा थियो। सो निर्वाचनमा पनि कांग्रेस र एमालेबाट अहिलेकै उम्मेदवारहरु चुनावी मैदानमा थिए। २०७९ साल बैशाख ३० गते भएको दोस्रो स्थानीय तहको निर्वाचनमा कांग्रेसले पूरै गाउँपालिकामा क्लीन स्वीप गरेको थियो। गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सातै वडाका ३७ पदमा कांग्रेसका उम्मेवारहरु विजयी भएका थिए।

कांग्रेसका पुष्पराज जोशी ५१३ मतसहित विजयी भएका थिए। उनका मुख्य प्रतिस्पर्धी एमालेका देवबहादुर भण्डारीले ३८७ मत ल्याएका थिए। सो निर्वाचनमा माओवादी केन्द्रका टंकबहादुर नेपालीले ४९ मत पाएका थिए। यस्तै राप्रपाका प्रकाश थापाले एक मतमात्र पाएका थिए। २०७९ सालमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पुष्पराज जोशीको २०७९ साल मंसिर १४ गते हृदयाघातका कारण निधन भएपछि उक्त पद रिक्त थियो।

कमेन्ट लोड गर्नुस