सुदूरपश्चिममा पाएनन् किसानले मल, कति छ मौज्दात?
धनगढीः सुदूरपश्चिममा किसानले मल पाउन सकेका छैनन्। हिउँदे बालीका लागि रासायनिक मल पाउन किसानलाई समस्या भएको छ।
किसानले मल नपाउँदा कृषि उत्पादन नै प्रभावित हुने देखिएको छ। नेपाल सरकारले खरिद गर्ने कूल मलको ९ प्रतिशत मात्रै कोटो पाउने सुदूरपश्चिमले ५०९ सहकारी मार्फत रासायनिक मल वितरण गर्दै आएको छ। तर यो पटक साल्ट ट्रेडिङ प्रादेशिक कार्यालय धनगढीले कोटाको मल नै पाएको छैन। यस्तै, कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीमा रासायनिक मलको मौज्दात न्यून छ।
सुदूरपश्चिमको भागमा ९.७ प्रतिशत मल
नेपाल सरकारले खरिद गर्ने मलको केबल ९ प्रतिशत मात्रै कोटा सुदूरपश्चिमले पाउने गरेको छ। सरकारले तोकेकै कोटा अनुसारको मल साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले नपाउँदा मलको अभाव भएको हो। सुदूरपश्चिम प्रदेशले पाउने जम्मा मलको ३० प्रतिशत साल्ट ट्रेडिङ धनगढीले बिक्री गर्दै आएकोमा यो वर्ष साल्ट ट्रेडिङ धनगढीले कोटाको मल नै पाएन।
साल्ट ट्रेडिङ कर्पोरेसन प्रादेशिक कार्यालय धनगढीका प्रमुख वासुदेव उपाध्यायले यो वर्ष अनुदान प्राप्त यूरिया र डिएपीको मौज्दात नरहेको बताए। ‘यो वर्ष हामीसँग यूरिया र डिएपीको मौज्दात सकिएको छ भने पोटास भने छ,’ उनले भने, ‘अनुदानको यूरिया र डिएपी नभए पनि हामीसँग प्रदेश सरकारले अनुदान दिएको एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट भने प्रशस्त छ।’
कति भयो वितरण?
कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी रासायनिक मलको खपत हुने गरेको छ। कैलालीमा ३१३ कृषि सहकारी मार्फत मल वितरण गरिँदै आएको छ भने कञ्चनपुरमा १४७ सहकारीले मल वितरण गर्ने अनुमति पाएका छन्। बाँकी पहाडी जिल्लामा ४९ सहकारीले मल वितरण गर्दै आएका छन्। कृषि सामग्री कम्पनीले सुदूरपश्चिममा यो वर्ष यूरिया १५ हजार ५ सय मेट्रिकटन बिक्री गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म ८ हजार १२२ मेट्रिकटन मात्रै वितरण गरेको छ।
यसैगरी, ११ हजार ११० मेट्रिकटन डिएपी र एक हजार ३० मेट्रिकटन पोटास बिक्री गर्ने लक्ष्य भए पनि डिएपी ४ हजार ६३२ र पोटास ३०४ मेट्रिकटन मात्रै वितरण गरिएको कृषि सामाग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका निमित्त प्रमुख नवलसिंह बोगटीले बताए। किसानले गहुँ छर्नु अगावै प्रयोग गर्नुपर्ने डिएपी मल नपाएको गुनासो गरेका छन्।
साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीसँग मलको मौज्दात नै नभएको अवस्थामा कृषि सामग्रीसँग पनि आवश्यकता भन्दा निकै कम मल मौज्दात छ। कृषि सामग्री कम्पनीको धनगढीमा आउन बाँकी सहित केवल ३ हजार ३९३ मेट्रिक टन युरिया, ४२९ मेट्रिकटन डिएपी र ८ मेट्रिकटन मात्रै पोटास मौज्दात रहने देखिएको छ। सुदूरपश्चिमका लागि तोकिएको कोटा अनुसार आपूर्ति नभएकाले रासायनिक मलको अभाव भएको बोगटीले बताए। सुदूरपश्चिममा यूरिया, डिएपी र पोटासको अभाव भए पनि साल्ट ट्रेडिङ धनगढीसँग एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेटको मौज्दात रहेको छ। यूरियाको सट्टा एमोनियम सल्फेट तथा डिएपीको सट्टा सिङ्गल सुपर सल्फेट प्रयोग गर्न सकिने अधिकारीले बताएका छन्।