देशको ढुकुटीमा कहिल्यै र्याल नचुहाउने रवि लामिछानेको प्रतिवद्धता
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूहरुले कहिल्यै देशको ढुकुटीमा र्याल नचुहाउने प्रतिवद्धता व्यक्त गरेका छन्। पार्टीको काभ्रे जिल्ला भेलालाई सोमबार सम्बोधन गर्दै लामिछानेले अहिले चुनाव घोषणा भएपछि पनि सांसदहरुले सेवा सुविधा लिइरहेको तर्फ संकेत गर्दै यस्तो बताएका हुन्।
‘अहिले चुनाव घोषणा भएपछि सरकार काम चलाउ भइसकेको छ। अबको बाँकी तीन महिना तलब भत्ता नखाए हुन्थ्यो। तर अझै छोडेका छैनन्।’ उनले भने, ‘ देशभरका ८२५ सांसदहरुको तलब र दशैंको भत्ता सुविधा खाने पैसा हामीलाई अहिले प्राप्त हुने हो भने यो देशमा कयौं बर्थिङ्ग सेन्टर र दुर्गममा अस्पताल बनाउन सक्छौं। त्यो ३०/४० करोड भन्दा बढी पैसा निर्वाचन घोषणा भएपछि किन खान खोजिँदैछरु देशको ढुकुटीमा यसरी हामी कहिल्यै र्याल चुहाउँदैनौँ, यो मेरो वाचा भयो।’
उनले राजनीतिक दलका शीर्ष नेतालाई चुनावको धपेडी छाडेर आराम गर्न आग्रह गरे।