सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको खुटिया नदीको दोहन, जेसिबीसहित चार सवारी नियन्त्रणमा

२०८१ पुष १९, १०:५४ कमल सावद

धनगढी: कैलालीको खुटिया खोलाको दोहन हुँदै आएको छ। जिल्लाको गोदावरी नगरपालिका–८ मा पर्ने खुटिया नदीको जेबिसी प्रयोग गरेर दोहन हुँदै आएको हो।

महेन्द्र राजमार्गको खुटिया नदीको पुल मुनिको क्षेत्रबाट नदीजन्य पदार्थको सङ्कलन तथा उत्खनन हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय, कैलालीले बिहिवार राति चार सवारीलाई नियन्त्रणमा लिएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको टोलीले रातिको समयमा नदीमा भेटिएका २ जेसिबीसहित चार सवारीलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको हो। कैलाली प्रहरीले से १ क ९६६, सुदूरपश्चिम प्रदेश ०१–००१ क १५१०, सुदूरपश्चिम प्रदेश ०१–००१ क १६१४ र से १ त ९६७४ नम्बरका गाडीहरू नियन्त्रणमा लिएको बताएको छ।

प्रहरीले रातिको समयमा नदीमा रहेका सवारीहरू नियन्त्रणमा लिएको बताएको हो। चार सवारीका चालकहरू प्रहरीमा गाडी बुझाएर गएका थिए। सवारीहरू मालाखेती प्रहरीको नियन्त्रणमा रहेका छन। प्रमुख जिल्ला अधिकारी मिश्रले रातिको समयमा नदीमा रहेका सवारी नियन्त्रणमा लिएको बताए। गोदावरी नगरपालिकाले नदीजन्य पदार्थको सङ्कलन, बिक्री वितरणका लागि ठेक्कामा दिएको छ। नगर प्रवक्ता गोपालदत्त भट्टले खोलाहरू ठेक्कामा दिएको बताएका हुन। खुटिया नदीको दोहन भएको विषयमा जानकारी नरहेको उनले बताए।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस