धनगढीमा हुने एलपीएलको सातौँ संस्करण कात्तिकमा
काठमाडौंः विद्यालयस्तरीय यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को सातौँ संस्करणको आयोजना धनगढीमा आगामी १३ कात्तिकदेखि २६ कात्तिकसम्म हुने घोषणा गरिएको छ। विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगले मिति घोषणा गरेको हो। लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सले आयोजना गर्ने प्रतियोगिताको विजेताले २ लाख ५१ हजार १५१ रुपैयाँ प्राप्त गर्ने छन्।
यस्तै उपविजेताले १ लाख २५ हजार १२५ रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचले ३ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द सिरिजले ३० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागिता रहनेछ।