सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा एकल प्रयोग हुने प्लाष्टिक उत्पादन, बिक्री र प्रयोगमा प्रतिबन्ध

२०७९ असार १७, ११:०४

एजेन्सी: आजदेखि भारतमा एकल प्रयोग हुने प्लाष्टिकका सामान उत्पादन, बिक्री वितरण र प्रयोगमा रोक लगाइएको छ। प्लास्टिक फोहोर व्यवस्थापन नियमावली अन्तर्गत एकल प्रयोगका प्लाष्टिकका बस्तुमा जुलाई १ तारिकदेखि १९ प्रतिबन्ध लगाइएको हो।

थर्मोकोल प्लेट, कप, चस्मा, काँटा, चम्चा, चक्कु, स्ट्र, ट्रे, मिठाईको बक्समा ¥यापिङ गर्ने फिलिम, निमन्त्रणा कार्ड, चुरोटको प्याकेटका लागि फिल्म, प्लाष्टिकको झण्डा, बेलुन स्टक र आइसक्रिमका स्टिकहरू आजदेखि प्रतिबन्ध लगाइएको हो। डिसेम्बर ३१, २०२२ सम्म प्लास्टिक बोक्ने झोलाको न्यूनतम मोटाई अवस्थिति ७५ माइक्रोनबाट १२० माइक्रोनमा परिवर्तन गरिने भारत सरकारले बताएको छ।

एकल प्रयोग हुने प्लाष्टिकको प्रयोग उन्मूलन गर्ने उद्देश्यले बाक्लो क्यारी ब्याग ल्याइनेछ। प्रतिबन्धलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न राष्ट्रिय र प्रदेश स्तरमा कन्ट्रोल रुमहरू स्थापना गरी प्रतिबन्धित एकल प्रयोगका प्लास्टिक वस्तुहरूको अवैध उत्पादन, आयात, वितरण, बिक्री वितरण नियन्त्रण गर्न अधिकारीहरूको टोली खटाइने भएको छ।

सरकारले प्लाष्टिकको झोलाको मोटाईको मापदण्ड तोकेर खुद्रा बिक्रेताले झोला उपलब्ध गराउन अनिवार्य गरेको छ। केन्द्रीय र राज्य प्रदूषण नियन्त्रण प्राधिकरण र साना, सूक्ष्म र मझौला उद्यम मन्त्रालयले प्रतिबन्धित एकल–प्रयोग प्लास्टिक वस्तुहरूको विकल्प उत्पादन गर्न साना औद्योगिक एकाइहरूलाई प्राविधिक सहयोग प्रदान गर्नेछ।

जुलाई १ गतेदेखि प्रतिबन्धित वस्तु प्रयोग गर्ने सर्वसाधारणलाई ५ सयदेखि २ हजार रुपैयाँसम्म जरीवाना हुने भएको छ। त्यसैगरी औद्योगिक स्तरमा उत्पादन, पैठारी, भण्डारण र बिक्री गर्नेलाई वातावरण संरक्षण ऐन, १९८६ को दफा १५ बमोजिम सजायको व्यवस्था हुनेछ। त्यस्ता व्यक्तिलाई २० हजारदेखि एक लाख रुपैयाँसम्म जरीवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ। 

कमेन्ट लोड गर्नुस