सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटाको शिक्षण अस्पतालमा ५२ प्रकारका सेवा, दैनिक ४५० बिरामीको उपचार

२०८३ असोज २४, ०७:३२ अनुभव भट्ट

धनगढी: कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पतालमा ५२ प्रकारका स्वास्थ्य सेवा सञ्चालनमा आएका छन्। अस्पतालमा दैनिक औसत ४५० जना बिरामीले बहिरङ्ग सेवा (ओपीडी) लिइरहेका छन्।
विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दका अनुसार अस्पतालमा ६० प्रकारका सेवा उपलब्ध गराउने योजना छ। त्यसमध्ये ५२ प्रकारका सेवा सञ्चालनमा आइसकेका छन् भने बाँकी सेवा सञ्चालनको प्रक्रियामा छन्।

अस्पतालमा आकस्मिक, मेडिसिन, सर्जरी, हाडजोर्नी, मुटुरोग, न्युरो, छालारोग, नाक, कान तथा घाँटी, आँखा, दन्त, मानसिक स्वास्थ्य, स्त्रीरोग र बालरोगलगायतका सेवा उपलब्ध छन्। त्यस्तै, नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), बाल सघन उपचार कक्ष (पीआईसीयू), सघन उपचार कक्ष (आईसीयू), शल्यक्रिया कक्ष (ओटी) तथा विभिन्न वार्ड र क्याबिनको सुविधा पनि सञ्चालनमा रहेको चन्दले बताए।
अस्पतालमा रेडियोलोजी सेवासमेत सञ्चालनमा छ।

चालु वर्षभित्र सीटी स्क्यान र एमआरआई सेवा सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए। रक्तसञ्चार सेवा (ब्लड बैंक) भने सञ्चालनको प्रक्रियामा छ।

सेवा विस्तारसँगै अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ। चन्दका अनुसार अस्पतालमा बिरामीको चाप कुनै दिन ५०० देखि ६०० सम्म पुग्ने गरेको छ। हाल दैनिक औसत ४५० जनाले ओपीडी सेवा लिइरहेका छन्।

अस्पताललाई चालु वर्षमा ५०० शय्यामा स्तरोन्नति गर्न सके दैनिक एक हजारदेखि एक हजार ५०० जनासम्म ओपीडीका बिरामीलाई सेवा दिन सकिने अपेक्षा गरिएको चन्दले बताए।
अस्पतालमा भेन्टिलेटर, प्रयोगशाला र रेडियोलोजीलगायतका आधुनिक उपकरण उपलब्ध छन्। स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा यसअघि नै खरिद गरिएका उपकरण स्तरीय रहेको चन्दको भनाइ छ।

माइक्रोबायोलोजीबाहेक प्रयोगशालाका अन्य सबै सेवा सञ्चालनमा रहेको उनले जानकारी दिए।

अनुभव भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

 

कमेन्ट लोड गर्नुस