कर्ण मल्ल भन्छन्ः डडेल्धुरामा कांग्रेसले मतदाता किन्न गाडीमा पैसा ल्याएको छ (भिडिओ)
धनगढीः नेपाली कांग्रेसबाट निष्कासित भएका नेता कर्णबहादुर मल्लले नेपाली कांग्रेसले डडेल्धुरामा मतदाता किन्न करोडौं रुपैयाँ ल्याएर आएको दाबी गरेका छन्। नेपाली कांग्रेस बीपीमार्फत डडेल्धुरामा चुनावी अभियान चलाइरहेका मल्लले यस्तो दाबी गरेका हुन्।
उनले धनगढीबाट ५६३९ नम्बरको गाडीमा उक्त पैसा ल्याएर डडेल्धुरामा राखेको बताए। सो पैसा मतदाता किन्न कांग्रेसले बाड्ने उनको भनाइ छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सोमबारदेखि डडेल्धुरामै छन्। देउवा मतदानपछि मात्र काठमाडौं फर्किने बताइएको छ। कांग्रेसका दुई कार्यकाल जिल्ला सभापति भइसकेका मल्लले सोमबार साँझ चुनावीसभामा देउवाले करोडौं रुपैयाँ लिएर आएको दाबी गरेका थिए।
डडेल्धुरा काँग्रेसका पूर्व पार्टी सभापति कर्णबहादुर मल्ल समूह विद्रोह गरेर काँग्रेस विपीमा मिसिएको छ। आफूहरुमाथि बारम्बार अन्याय भएको भन्दै उक्त समूहले विपीको चुनाव चिह्न करुवाबाट स्थानीय चुनाव लडिरहेको छ। त्यसैका लागि उसले जिल्लामा नेकपा एमालेसँग तालमेल गरेको छ। उक्त समूहले काँग्रेसलाई क्षति गर्नसक्ने भन्दै देउवा गृह जिल्ला पुगेको नेताहरुले बताउका छन्। केहीदिन अघि उनकी पत्नी आरजु राणा देउवा समेत गृह जिल्ला डडेल्धुरा पुगेकी थिइन्।