सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशरथचन्द विश्वविद्यालयसंग छ ९२० शय्याको अस्पताल र दुई हजार विद्यार्थी पढाउने पूर्वाधार

२०८३ कार्तिक १४, ११:१६ खबर संवाददाता

धनगढीः आफ्नै शिक्षण अस्पताल र अर्बाैंका पूर्वाधारसहित कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय चिकित्सा शिक्षा अध्यापनको तयारीमा जुटेको छ। एमबीबीएसका ५० सहित चार शैक्षिक कार्यक्रममा ९० सिट स्वीकृत भएपछि विश्वविद्यालयले पठनपाठन सञ्चालन गर्न आफू पूर्ण रूपमा तयार रहेको जनाएको छ। चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयलाई एमबीबीएसका लागि ५०, बीएस्सी नर्सिङका लागि २०, मेडिकल ल्याबोरेटरी टेक्नोलोजीका लागि १० र अप्टोमेट्रीका लागि १० सिट स्वीकृत गरेको थियो। तर, शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति र अस्पतालको क्षमताबारे प्रश्न उठिरहेका बेला विश्वविद्यालय प्रशासनले भने सबै तयारी मापदण्डअनुसार भइरहेको स्पष्ट पारेको छ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीले आयोगले कानुनी प्रक्रिया, पूर्वाधार, जनशक्ति र व्यावहारिक अभ्यासको सुनिश्चितताका आधारमा सिट निर्धारण गरेकाले पठनपाठन सञ्चालनमा अन्योल नरहेको बताए। उनका अनुसार पाठ्यक्रम, दक्ष जनशक्ति, प्रयोगशाला, आवश्यक उपकरण र विद्यार्थीको व्यावहारिक अभ्यासका लागि संस्थागत तयारी भइरहेको छ। विद्यार्थी व्यवस्थापन, अस्पतालको शय्या क्षमता र छात्रवृत्तिका लागि समेत आवश्यक स्रोत सुनिश्चित गरिएको विश्वविद्यालयको दाबी छ।

विश्वविद्यालयले शिक्षण अस्पतालमा हाल ३२५ शय्या सञ्चालन क्षमतामा रहेको र ६२२ शय्या व्यवस्थापन गरिएको जनाएको छ। त्यस्तै, अस्पतालको पूर्वाधार क्षमता ९२० शय्यासम्म विस्तार गर्न सकिने अवस्थामा रहेको विश्वविद्यालयको भनाइ छ। विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दका अनुसार विद्यार्थीलाई व्यावहारिक अभ्यासको अवसर विस्तार गर्न विश्वविद्यालयले सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र लम्कीचुहा अस्पतालसँग समेत सहकार्य गरेको छ। यसबाट विद्यार्थीको सिकाइसँगै ती अस्पतालको सेवा क्षमता विस्तारमा पनि सहयोग पुग्ने विश्वविद्यालयको अपेक्षा छ। रजिस्ट्रार चन्दले पछिल्ला पाँच वर्षमा सञ्चालनमा आएका अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुरुवाती अवस्थासँग तुलना गर्दा गेटा विश्वविद्यालयको तयारी निकै अगाडि रहेको दाबी गरे। 

तीन दशक लामो प्रतीक्षापछि स्थापना भएको राष्ट्रिय गौरवको विश्वविद्यालयलाई अघि बढाउन सङ्घीय, प्रदेश र स्थानीय सरकार तथा नागरिकको साथ रहेको उल्लेख गर्दै उपकुलपति जोशीले शैक्षिक कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालय सक्षम रहेको दाबी गरे। यसवर्ष स्वीकृत ९० सिटमा पठनपाठन सुरु हुने तयारी भए पनि विश्वविद्यालयसंग एकैपटक दुई हजारभन्दा बढी विद्यार्थीलाई राखेर पठनपाठन गर्ने पूर्वाधार रहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस