सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त’

२०७८ चैत्र २७, ०४:५६ खबर संवाददाता

धनगढी : २५ चैतमा सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् चौथोपटक पुनर्गठन भयो। काँग्रेसलाई सरकारमा सहभागी गराउन एकीकृत समाजवादीले तीन मन्त्री र तीन राज्यमन्त्रीलाई फिर्ता बोलायो। 

काँग्रेसका संसदीय दलका नेता रणबहादुर रावल र गोविन्द बोहरा मन्त्री नियुक्त भए भने टेकबहादुर रैका राज्यमन्त्री भए। यस्तै एकीकृत समाजवादीका अमर साउद र कुलविर चौधरीले पनि राज्यमन्त्रीको सपथ लिए। 

एकीकृत समाजवादीले सााजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, आर्थिक मामिला मन्त्री तारा लामा तामाङ तथा राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउद र माया तामाङ बोहरालाई फिर्ता बोलाएको थियो। 

एकीकृत समाजवादीले मन्त्रीबाट फिर्ता बोलाएको दुई दिनपछि पूर्वमन्त्री तामाङले मन्त्रिपरिषद् पुनर्गठनबारे अनभिज्ञ भएको आशयको अभिव्यक्ति दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त।’

एकीकृत समाजवादीको स्रोतका अनुसार मन्त्रीबाट फिर्ता बोलाएपछि तामाङ असन्तुष्ट छन्। ‘२५ गते काँग्रेस पनि सहभागी हुने भए एकीकृत समाजवादीले सरकारबाट बाहिरिनुपर्छ भन्ने निचोड निकाल्दै सामूहिक राजीनामा दिने छलफल भएको थियो,’ एकीकृत समाजवादीका एक नेताले भने, ‘सबै मन्त्री र राज्यमन्त्रीले राजीनामा दिने छलफल भएपछि तामाङले पनि दिएका हुन्। तर दीर्घ सोडारीलाई यथावत राखेर अन्य मन्त्री हेरफेर गरिएपछि तामाङ असन्तुट छन्।’

कमेन्ट लोड गर्नुस