धनगढीमा राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मी उपाधि नजिक
धनगढी : त्रिभुवन आर्मी क्लब कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि नजिक पुगेको छ। शुक्रबार बिहान भएको पहिलो सेमिफाइनलमा अर्को विभागिय टोली एपीएफलाई ३–१ को सेटले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो।
२५–२१ र २५–१६ ले पहिलो र दोस्रो सेट जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो। चौथो सेट २५–१८ ले जित्दै आर्मी फाइनलमा पुगेको हो। अहिले गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच सेमिफाइनलको दोस्रो खेल भइरहेको छ।
सेमिफाइनलमा जित हासिल गर्ने टिमले उपाधिका लागि शनिबार आर्मीसंग खेल्नेछ। प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने छ।