सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपिएलको मैदानमा चम्किएका चार हिरा

२०८३ कार्तिक २९, ०७:०६ रासस

काठमाडौँः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागिसकेको छ। यसपालि लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।

प्रतियोगिताको लिग चरणका खेलहरू जारी रहँदा यस पटक केही नेपाली युवा खेलाडीले आफ्नो प्रदर्शनबाट विशेष चर्चा बटुलेका छन्। एनपिएलको प्रत्येक संस्करणले नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्दै आएको छ । यस पटक पनि केही युवा खेलाडीले प्राप्त अवसरलाई सदुपयोग गर्दै आफ्नो उपस्थितिलाई बलियो बनाएका छन्। बलिङतर्फ राहुल यादव र रिजन ढकाल तथा ब्याटिङतर्फ लोकेश बम, रशिद खानलगायतले प्रभावशाली प्रदर्शन गरेका छन्।

ट्यालेन्ट हन्टबाट ‘गोल्डेन क्याप’को दौडमा राहुल
यस संस्करणमा सर्वाधिक चर्चा कमाउन सफल खेलाडीमध्ये एक हुन् युवा तीव्रगतिका बलर राहुल यादव। जनकपुर बोल्ट्समा आबद्ध राहुल ‘ट्यालेन्ट हन्ट’मार्फत छनोट भएर टोलीमा जोडिएका हुन् । पहिलो सहभागितामै उनले आफ्नो बलिङ क्षमताबाट समर्थक तथा क्रिकेटप्रेमीको ध्यान खिच्न सफल भएका छ।

राहुलले सात खेलमा १२ विकेट लिएका छन्। यससँगै उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्षस्थानमा छन्। काठमाण्डु गोर्खाजविरुद्धको खेलमा राहुलले चार ओभरमा ३१ रन खर्चिएर चार विकेट लिएका थिए। त्यसपछि लगातार दुई खेलमा विकेटविहीन भएका उनले पाँचौँ खेलमा दुई विकेट लिँदै पुनरागमन गरे। त्यसपछिका दुई खेलमा क्रमशः एक र तीन विकेट लिएका छन्।

रिजनको निरन्तर विकेट
यस संस्करणमा बलिङतर्फ रिजन ढकाल उत्कृष्ट लयमा देखिएका छन्। चितवन राइनोजबाट खेलिरहेका ढकालले हलासम्म पाँच खेलमा ११ विकेट लिएका छन्। उनले प्रतियोगिताका प्रत्येक खेलमा विकेट लिएका छन्।
रिजनको प्रभावशाली बलिङ चितवनका लागि महत्त्वपूर्ण बनेको छ। चितवनले हालसम्म खेलेका छ खेलमध्ये तीन खेलमा जित हासिल गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवसमेत बटुलिसकेका ढकालले नेपालका लागि आठ टी–२० अन्तर्राष्ट्रिय र चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

ब्याटिङमा लोकेश बम अब्बल

ब्याटिङतर्फ लोकेश बमले यस संस्करणको एनपिएलमा राम्रो प्रभाव छोडेका छन् छ। विराटनगर किङ्सबाट खेलेका उनले सात खेलमा २४२ रन बनाएका छन्। हालसम्म उनी लिगमा सर्वाधिक रन बनाउने ब्याटर हुन्।

लोकेशले प्रतियोगितामा दुई अर्धशतकीय पारी खेलेका छन्। नेपालका लागि २९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका लोकेशले अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने डेब्यु गर्ने अवसर पाएका छैनन्।

राशिद खान पनि पुनरागमनको खोजीमा

राशिद खानले पनि एनपिएलको तेस्रो संस्करणमा ब्याटिङबाट चर्चा बटुलेका छन्। काठमाण्डु गोर्खाजबाट खेलिरहेका उनले छ खेलमा एक अर्धशतकसहित १५५ रन बनाएका छन्। राशिदले नेपालका लागि हालसम्म दुई टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

कमेन्ट लोड गर्नुस