सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपः हिमालयन शेर्पा अन्तिम चारमा

२०७८ फाल्गुन २३, ०८:२९ खबर संवाददाता

धनगढी : सहिद स्मारक ए डिभिजन क्लब हिमालयन शेर्पा सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा सोमबार भएको खेलमा आयोजक तथा साविक विजेता सुदुरपश्चिम–११ स्पोर्टस क्लबलाई २–१ गोल अन्तरले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो।

प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक एक गोल गरे। यस्तै हिमालयनका विवेक पण्डितले आत्मघाती गोल गरे । खेलको ३४ औं मिनेटमा पिस्टनले गोल गर्दै हिमालयनलाई अग्रता दिलाए। ५५ औं मिनेटमा सुरेशले गोल गरेपछि हिमालयन २–० ले अघि रह्यो। त्यसपछि खेलको ६७ औं मिनेटमा विवेकले आत्मघाती गोल गरेपनि हिमालयन २–१ ले विजयी भयो।

प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा लिग विजेता मछिन्द्र क्लब र वागमति युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ । अब हिमालयन सेमिफाईनलमा मनाङ मस्र्याङ्दी क्लबको सामना गर्ने आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका सचिव तथा प्रवक्ता ओम विक्रम चन्दले जानकारी दिए। 

खेलपछि प्रतिक्रिया दिदैं हिमालयन शेर्पा क्लबका प्रशिक्षक युगलकिशोर राईले सुदुरपश्चिम ११ ले  सोचेभन्दा निकै अब्बलको प्रदर्शन गरे पनि स्कोर गर्न सकेका कारण खेल जितेको बताए। ‘लोकल, जुनियर प्लेयरहरु भाईहरुले जुन तरिकाले खेले  त्यो अब्बलको प्रदर्शन रह्यो। हामीलाई मास अट्याक गरे। टोटल फुटबल देख्न पाईयो । हामीले पनि स्कोर क्वालिटी देखायौ। गोल गरेर खेल जितेपनि यो जित सुप ११ लाई समर्पित गर्न चाहन्छु।’ प्रशिक्षक राईले भने–‘पहिलो हाफमा उनीहरुले निकै समस्यामा पारे। क्वीक अट्याकले हामी डोमिनेट भयौ। दोस्रो हाफमा हामीले क्रियटिभ भएर खेल जिते। केही खेलाडीले खेल्न नपाउँदा पनि केही समस्या त भयो। अब सेमिफाईनलमा टीम अझ बलियो हुन्छ। जित्ने गरी खेल्छौ ।’ 

खेलपछि प्रतिक्रिया दिदै सुदुरपश्चिम–११ स्पोर्टस क्लबका प्रशिक्षक गजेन्द्र शाहीले अधिकांश समय बल आफ्नो कब्जामा राख्दा राख्दै पनि गोल गर्न नसक्दा खेल गुमाएको बताए। ‘खेल एकदम कम्पिटिसन भयो। बल पोजिसन धेरै राख्दा राख्दै पनि केही कुराका कारण हार्न पुग्यौँ। फिनिसिंगमा तालमेल नमिल्दा गोल हुन सकेन। हामीले ईजी खेलेर उनीहरुको रणनिति ब्रेक गर्न खोज्यौं। अट्याकिंग खेल्दा पनि दुई तीन स्कोर हुन सकेन।’ प्रशिक्षक शाहीले भने–‘घरेलु दर्शकको पनि राम्रो साथ थियो। तर उहाँहरुलाई खुशी बनाउन सकेनौं। हामी फेरि पनि घरेलु दर्शकहरुलाई खुशी बनाउने प्रयास गर्नेछौ।’

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ। जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ।
 

कमेन्ट लोड गर्नुस