सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–१२ मा ६० दिने अभियान, सामाजिक विकृति नियन्त्रणदेखि वडा महोत्सवसम्म

२०८३ मंसिर १, ०८:१३ खबर संवाददाता

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१२ ले ६० दिने अभियान सुरु गरेको छ। शान्ति सुरक्षा कायम गर्न तथा लागूऔषध, घरेलु तथा लैङ्गिक हिंसा, आत्महत्या, झैझगडा, बालविवाह, बहुविवाहलगायतका सामाजिक विकृति र विसङ्गति नियन्त्रण गर्न अभियान सुरु गरिएको हो।

अभियानअन्तर्गत ६० दिनसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम, सरसफाइ, सचेतनामूलक र्‍याली, बालमैत्री वडा घोषणा, व्यवसाय अनुगमनलगायतका गतिविधि सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ। खेलकुद गतिविधि, बाल क्लब तथा युवा क्लबसँगको सहकार्यमा विभिन्न रचनात्मक कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

वडा अध्यक्ष शेरबहादुर महराका अनुसार अभियान अवधिमा विभिन्न समूह गठन, ज्येष्ठ नागरिक सम्मान तथा नगर र वडाबाट सञ्चालित कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिइनेछ। चोरी, हिंसात्मक गतिविधि, कुरीति र कुसंस्कार नियन्त्रण अभियानको मुख्य उद्देश्य रहेको उनले बताए।

उनका अनुसार यसअघि एक वर्ष ४५ दिने र अर्को वर्ष ३५ दिने अभियान सञ्चालन गरिएको थियो। ती अभियानको प्रभाव सकारात्मक देखिएपछि यसपटक ६० दिने अभियान सञ्चालन गरिएको हो।

अभियानको ५३ दिनसम्म विभिन्न गतिविधि सञ्चालन गरिनेछ भने अन्तिम सात दिन ‘वडा विशेष महोत्सव’ आयोजना गरिने वडा अध्यक्ष महराले बताए। महोत्सवमा वडा नम्बर १२ का सांस्कृतिक तथा पर्यटकीय स्थलको पहिचान र प्रवर्द्धनसँगै सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिनेछ। वडासँग सहकार्य तथा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने तयारीसमेत गरिएको छ।

वडा सचिव हरिप्रसाद भट्टले नागरिकसँग नजिक हुने र वडाले गरेका कामको प्रभावकारिता बुझ्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए।

कमेन्ट लोड गर्नुस