धनगढी प्रिमियर लिगले आईसीसीबाट मान्यता पायो
माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग ‘डिपिएल’को तेश्रो संस्करणलाई अन्तराष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले मान्यता दिएको छ। धनगढी प्रिमियर लिग आयोजक धनगढी क्रिकेट एकेडेमीले आज प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिता आईसीसीको मान्यता प्राप्त भएको बताएको छ। एकेडेमीका अध्यक्ष सुवाश शाहीद्धारा जारी विज्ञप्तीमा आइसिसीले मान्यतासँगै प्रतियोगिताबारे आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई समेत जानकारी गराइसकेको उल्लेख छ।
नेपालमा क्रिकेट संघ प्रतिवन्धित रहेको अवस्थामा आईसीसीले नेपालमा घरेलु क्रिकेट प्रतियोगिता आयोजना हुँदा २० हजार डलर शुल्क लिएर प्रतियोगिताको मान्यता लिनुपर्ने अनिवार्य गरेको छ। सोही अनुरुप डिपिएल आयोजकले २० हजार डलर बुझाएर आईसीसीको मापदण्डहरु पुरा गरेपछि मान्यता पाएको हो। धनगढी प्रिमियर लिगको प्रत्येक टिमको अन्तिम ११ मा २ जना बिदेशी खेलाडीहरु समेत अनिवार्य गरिएकोले विदेशी खेलाडीहरुलाई प्रतियोगितामा खेल्नको लागि आईसीसीको मान्यता प्राप्त भएपछि अनुमति लिएर डिपिएल खेल्न आउने बाटो खुलेको छ ।