श्रीलंकाका कप्तान चरिथ असलंकाले विराटनगर किङ्सबाट एनपीएल खेल्ने
काठमाडौं: विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि श्रीलंकाका कप्तान तथा ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ।
सन् २०२१ देखि श्रीलंकाको राष्ट्रिय टोलीका नियमित सदस्य रहेका असलंकाले सोही वर्ष इंग्ल्यान्डविरुद्ध एकदिवसीय तथा भारतविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए।
असलंकाले हालसम्म ७७ टी–२० अन्तर्राष्ट्रिय खेलमा १ हजार ४६६ रन बनाएका छन् भने ७ विकेट पनि लिएका छन्। समग्र टी–२० क्रिकेटमा उनले १८५ खेलबाट ३ हजार ७१५ रन बनाउनुका साथै ३७ विकेट हात पारेका छन्।
सन् २०२४ देखि सीमित ओभरको क्रिकेटमा श्रीलंकाको नेतृत्व गर्दै आएका असलंकाले अन्तर्राष्ट्रिय क्रिकेटसँगै विभिन्न फ्रेन्चाइज प्रतियोगितामा पनि अनुभव बटुलेका छन्। उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र इन्टरनेसनल लिग टी–२० लगायतका प्रतियोगिता खेलिसकेका छन्।
विराटनगर किंग्सले असलंकाको आगमनले टोली थप बलियो बन्ने विश्वास व्यक्त गरेको छ।
“चरिथ असलंकाजस्ता अनुभवी खेलाडीलाई टोलीमा स्वागत गर्न पाउँदा हामी उत्साहित छौँ। उनको अन्तर्राष्ट्रिय अनुभव, आक्रामक ब्याटिङ र नेतृत्व क्षमताले एनपीएलको तेस्रो सिजनमा टोलीलाई थप ऊर्जा प्रदान गर्नेछ,” विराटनगरले जनाएको छ।
विराटनगरमा आबद्ध हुन पाउँदा खुसी व्यक्त गर्दै असलंकाले नेपालमा खेल्न आफू उत्साहित रहेको बताएका छन्।
“नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा विराटनगर किंग्सको प्रतिनिधित्व गर्न पाउँदा म निकै उत्साहित छु। नेपालमा क्रिकेटप्रतिको उत्साह, माया र समर्थनका बारेमा मैले धेरै सुनेको छु। अब आफैँ नेपाल आएर नेपाली क्रिकेट समर्थकहरूसँग त्यो अनुभव साझा गर्न म आतुर छु,” असलंकाले भने।