कर्णाली नदीमा नियमित भएन र्याफ्टिङ, पानीजहाजको सम्भाव्यता अध्ययन
धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल पर्यटन वर्ष २०२० को अवसरमा चिसापानी कर्णाली नदीमा र्याफ्टिङ जम्बोरी कार्यक्रमको उद्घाटन गरे। जिल्लाको मोहन्याल गाउँपालिकाको सोल्टाबाट चिसापानीमा नियमित र्याफ्टिङ गरिने भन्दै २०७५ चैत २३ गते जम्बोरीको सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले उद्घाटन गरेका थिए।
चिसापानीमा र्याफ्टिङको औपचारीक उद्घाटन भएको तीन वर्ष भएको छ। तर नियमित र्याफ्टिङ सञ्चालन भने हुन सकेको छैन। टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले चालू आर्थिक वर्षमा र्याफ्टिङ सञ्चालनका लागि बजेट नरहेको बताए। उनले भने, ‘सम्भाव्यता अध्ययन भएको हो। जिल्ला समन्वय समितिले सम्भाव्यता अध्ययन गरेको हो। चालू आर्थिक वर्षमा कार्यक्रम छैन।’
तीन वर्ष अगाडि जिल्ला समन्वय समिति कैलाली र मोहन्याल गाउँपालिकाले रकम खर्च गर्दै नियमित र्याफ्टिङ सञ्चालन गर्ने बताइएकोमा उक्त योजना अलपत्र परेको हो। कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाको सोल्टादेखि कर्णाली नदीमा जिल्ला समन्वय समिति, जिल्लाका स्थानीय तह र सुदूरपश्चिम प्रदेश सरकारले नियमित र्याफ्टिङ सञ्चालन गर्ने दाबी गरेका थिए।
जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्यबहादुर थापाले कोरोना भाइरसको संक्रमणका कारण र्याफ्टिङलाई नियमित सञ्चालन गर्न नसकिएको बताए। ‘हामीले र्याफ्टिङलाई निरन्तरता दिने भनेका थियौ,झ उनले भने, ञकोरोनाका कारण सम्भव भएन। पानी जहाँज सञ्चालनको अध्ययन थालिएको छ।’
कर्णाली चिसापानीमा नियमित र्याफ्टिङ सञ्चालनका लागि बजेट विनियोज समेत नगरिएकोमा पानीजहाजको सम्भाव्यता अध्ययन थालिएको हो। गत आर्थिक वर्षमा कर्णाली नदीको खक्रौला–खिमडीको करिब १ सय १५ किमिमा सम्भाव्यता अध्ययन योजना थियो। कोभिड–१९ ले रोकिएपछि चालू वर्षबाट काम सुरु भएको बताइएको छ। पानीजहाज कार्यालयले अध्ययन थालेको जिल्ला समन्वय समिति कैलालीका प्रमुख थापाले बताए।
'पानीजहाज सञ्चालनका लागि नीजि क्षेत्रलाई पनि भनेका छौ,' उनले भने, 'पानीजहाज कार्यालयले सम्भाव्यता अध्ययन गरेको हो। कर्णालीमा पानीजहाज सञ्चालन हुन्छ।' चिसापानीमा नियमित र्याफ्टिङ सञ्चालनमा आए, सुदूरपश्चिमको पर्यटन व्यवसाय मजबुद हुने अपेक्षा गरिएको छ।