सुदूर नेपाललाई विश्वसँग जोड्दै

४ वर्षसम्म नबनेको धनगढीको एउटा सडक, स्थानीयलाई सास्ती उस्तै

२०७८ माघ १७, ०७:२० विन्दु चन्द

धनगढीः धनगढीको हसनपुर–शिवनगर सडक निर्माणको काम ४ वर्ष बितिसक्दा पनि अधुरै छ। सडक निर्माणमा उपमहानगरपालिकाले लापरबाही गरेको भन्दै स्थानीय आक्रोसित बनेका छन्। कालोपत्रे सडक भत्काएर नगरवासीलाई झनै सास्ती हुने गरी सडक अलपत्र पारेको भन्दै स्थानीयले आक्रोस पोखेका हुन्। उपमहानगरपालिकाले सडक निर्माणको नाममा पटकपटक झुक्याउने गरेको स्थानीय गगांराम चौधरीले गुनासो गरे। 

उनले भने, ‘४ वर्ष भइसकेको छ यो सडक निर्माण गर्न थालेको। अहिलेसम्म काम सकिएको छैन। हामीलाई आवतजावत गर्न धेरै समस्या भइरहेको छ।’ पटकपटक सडक कालोपत्रे गर्ने भन्दै उपमहानगरपालिकाले म्याद थप गर्दै आए पनि निर्माणले अझै पूर्णता पाएको छैन।

कालोपत्रे सडकमा योजनाबीना डोजर चलाएर ४ वर्षसम्म सडक निर्माणको काम अलपत्र पारेको अर्का स्थानीय सुरेनानन्द भट्टले बताए। उनले भने,‘ पहिले यहाँ पिच सडक थियो। पुर्व योजनाबीना स्थानीयलाई जानकारी नगराई धमाधम डोजर चलाइयो। त्यसपछि अलपत्र छाडियो। पटकपटक उपमहानगरपालिकालाई ताकेता गर्दा बल्ल काम गर्न थालियो। तर एक दिन काम गर्ने एक साता बन्द गर्ने गरेर दुख दिन थालिएको छ।’

सडक निर्माणका लागि आश्वासन मात्र दिने गरेको उपमहानगरपालिकाले अब पनि निर्माण कार्य सुरु नगरे उपमहानगरपालिका कार्यालयमा तालाबन्दी नै गर्ने चेतावनी स्थानीयको छ। जीर्ण सडकका कारण एक स्थानबाट अर्को स्थान पुग्नै समस्या भएको स्थानीय अनिल भण्डारीले बताए। उनले भने, ‘बालबालिकालाई स्कुल जानै समस्या छ। दैनिक मोटरसाइकल दुर्घटना हुँन्छन्।’

यसअघि पनि स्थानीयले सडक निर्माणको माग गर्दै विरोध गरेका थिए। उनीहरुले हिलाम्य सडकमै धान रोपेर विरोध जनाएका थिए। उक्त सडकमा ३र३ पटक म्याद थप भइसकेको छ। तर सडक निर्माणको जिम्मा पाएको न्यू साहारा कन्सट्रक्सनका प्रतिनिधि राजु भट्टले भने कामदार बिरामी भएकाले केही दिन काम बन्द गर्नु परेको बताए। उनले भने, ‘काम जारी नै थियो तर कामदार बिरामी हुँदा समस्या भएको हो। सञ्चो भएर आएपछि काम सुरु गछौँ।’

आर्थिक वर्ष २०७४र७५ मा धनगढी उपमहानगरपालिकाले ठेक्कामा लगाएको उक्त सडकमा अहिलेसम्म कालोपत्रेको काम सुरु पनि भएको छैन्। तर असार मसान्तमा सक्नेगरि काम भइरहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ। केही दिनमै काम सुरु हुने धनगढी उपमहानगरपालिकाका इञ्जिनीयर दिजराज भट्टले बताए।

उनले भने,‘केही कारणले अहिले काम रोकिएको हो। अब लगत्तै काम सुरु हुन्छ। चैत मसान्तमा सक्नुपर्ने हो। हामीले निर्माण व्यवसायीलाई ताकेता गरेका छौँ। समय अवधिमै काम सम्पन्न हुन्छ।’ ७३ लाख २६ हजार ६ सय ८७ रुपैयाँमा ठेक्का सम्झौता गरिएको उक्त सडक निर्माण सम्झौतामा मात्र सिमित बन्न पुगेको स्थानीयको गुनासो छ।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस