सुदूरपश्चिमका जनप्रतिनिधिविच आफन्तलाई सहयोगी राख्ने प्रतिस्पर्धा
कैलालीका स्थानीय तहका जनप्रतिनिधिले कानुन विपरीत स्वकिय सचिव तथा सहयोगीको सुविधा लिएका बेला सुदूरपश्चिमका अन्य जिल्लाका जनप्रतिनिधिले पनि त्यसैको सिको गरेको भेटिएको छ। अन्य ८ जिल्लाका जनप्रतिनिधिले पनि कानुन विपरीत स्वकीय सचिव, सहयोगी तथा प्रेस सल्लाहकार राखेको पाईएको छ।
स्वकीय सचिव तथा सहयोगी राख्न नपाउने भएपनि जनप्रतिनिधिहरुले आफ्ना छोराछोरी, भतिजा भतिजी लगायतका नातागोता पर्ने र पार्टी निकटका व्यक्तिलाई जिम्मेवारी दिएर राज्य कोषको दुरुपयोग गरिरहेका हुन्। कतिपय स्थानीय तहले स्वकीय सचिव तथा सहयोगीलाई नियुक्ती नदिएरै मासिक तलब खुवाइरहेका छन्।
धेरै स्थानीय तहमा जनप्रतिनिधिका नातागोता पर्ने र पार्टी निकटका व्यक्तिलाई कार्यालय सहयोगी, कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटरको नियुक्ती दिएर स्वकीय सचिवको जिम्मेवारी दिइएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकाले मासिक २२ हजार तलब दिनेगरी नगर प्रमुख सुरेन्द्र विष्टको स्वकीय सचिवमा भान्जा नाता पर्ने नरेन्द्र कार्की, २२ हजार तलबमै प्रेस सल्लाहकारमा रनी विवश तथा उपप्रमुख सुसिला चन्द सिहको नन्द नाता पर्ने पार्वती सिहलाई २० हजार तलब पाउनेगरी स्वकीय सचिवमा नियुक्त गरेको छ।
नगरपालिकाले कानुन विपरीत नगर राखिएका प्रमुख र उपप्रमुखको स्वकीय सचिव र प्रेस सल्लाहकारको तलब सुविधामा मात्रै मासिक ६४ हजार र वार्षिक सात लाख ६८ हजार खर्च गर्दै आएको छ। यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिकाले अध्यक्ष नरेन्द्र सिह धामीका भतिज गोविन्द धामीलाई कम्प्युटर अपरेटरको नियुक्त दिएर मासिक साढे २३ हजार तलबमा सहयोगीको रुपमा राखेको छ भने उपाध्यक्ष पुष्पा अवस्थीले गाउँपालिकाका नासु समेत रहेका श्रीमान जनक अवस्थीलाई स्वकीय सचिव राखेकी छन्।
डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाका मेयर विश्वेश्वर ओझाले पनि भतिजा नाता पर्ने गोविन्द ओझालाई स्वकीय सचिव राखेका छन्। यसरी कैलालीमा जस्तै सुदूरपश्चिमका अन्य जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले पनि नातागोता र पार्टीका कार्यकर्तालाई कानुन विपरीत स्वकीय सचिव, सहयोगी तथा प्रेस सल्लाहकार राखेर वार्षिक लाखौँ बजेट सकिरहेका छन्।
जनप्रतिनिधिका स्वकीय सचिव तथा सहयोगीमा एउटा स्थानीय तहले न्युनतम वार्षिक ४ लाख देखी ८ लाख सम्म बजेट खर्च गरिरहेका छन्। यो तथ्याङकलाई हेर्दा सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका जनप्रतिनिधिको स्वकीय सचिव र सहयोगीको सुविधामा वार्षिक साढे ३ करोड देखी ८ करोड सम्म बजेट गैर कानुनी रुपमा जाने खर्च हुने देखिएको छ। तर यो विषयमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धीको ऐन बनाउने प्रदेश सरकार भने मौन रहेको छ।
प्रदेशका मन्त्रीहरुले पनि स्थानीय तहकै जनप्रतिनिधिहरुको सिको गरेकाले मौन बसेको अनुमान गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने सञ्चार माध्यममा सार्वजनीक भएका समाचारका आधारमा कारवाहीको प्रक्रिया अगाडी बढाउने जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी राजन नेपालले जनप्रतिधिले कानुन विपरीत सुविधा लिएको विषयमा अनुसन्धान थालेर कारवाहीको प्रक्रिया अघि बढाउने बताए।
नेपालको संविधानको धारा २२७ ले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधा प्रदेश कानुन बमोजिम हुने उल्लेख गरेको छ। सोही धारामा टिक्दै प्रदेश सरकारले बनाएको स्थानीय तहका पदाधिकार तथा सदस्यको सुविधा सम्बन्धी ऐनको दफा ८ मा दृष्टिविहिन वा अशक्त पदाधिकारी वा सदस्यले मात्र एकजना सहयोगी राख्न पाउने व्यवस्था गरेको छ।
सोही ऐनको दफा १२ मा स्थानीय तहका पदाधिकारी सदस्यले उक्त ऐनले निर्धारण गरेको सुविधा बाहेक अन्य सुविधा लिन नपाउने भनेको छ। तर कैलालीका जनप्रतिनिधि भने संविधान र कानुन भन्दा माथि उठेर आफ्नो नातागोता पर्ने र पार्टी निकटका व्यक्तिलाई स्वकीय सचिव तथा सहयोगी राखेर राज्य कोषको दुरुपयोग गरिरहेका हुन्।
यो पनि पढ्नुस्
कैलालीमा स्थानीय जनप्रतिनिधिका छोराछोरी स्वकीय सचिव, नियुक्ती बिना तलव खुवाउँदै https://dineshkhabar.com/article/7286
सूची सहित
कञ्चनपुर
१.भीमदत्त नगरपालिका स्वकीय सचिव तलब
प्रमुख सुरेन्द्र विष्ट (भान्जा) नरेन्द्र कार्की २२,०००
प्रेस सल्लाहकार –रनी विवश ,,
उपप्रमुख सुसिला चन्द सिह (नन्द)पार्वती सिह २०, ०००
२. पुर्नवास नगरपालिका
प्रमुख जीवन थापा (भतिज) टेक बहादुर थापा २३,५००
३.वेदकोट नगरपालिका
प्रमुख अशोक चन्द प्रकाश कलौनी (सहयोगी) १६०००
४.महाकाली नगरपालिका
प्रमुख वीर बहादुर सुनार सहयोगी आनन्द प्रसाद भट्ट २३, ५००
५.शुक्लाफाँटा नगरपालिका
प्रमुख दिल बहादुर ऐर (छोरा) पदम बहादुर ऐर २३,५००
उप–प्रमुख तुलसीदेवी हमाल कलावती विक –दैनिक ज्यालादारी
६. बेलौरी नगरपालिका
प्रमुख पोतीलाल चौधरी जय बहादुर कुवँर २३,५००
उप–प्रमुख चित्रा कुमारी चौधरी लक्षमण बुढा २२,१७०
७. कृष्णपुर नगरपालिका
प्रमुख कर्ण बहादुर हमाल गणेश सिह ऐरी २३, ५००
उप–प्रमुख रमिता राना पार्वती भण्डारी २२,१७०
८.बेलडाँडी गाउँपालिका
अध्यक्ष धन बहादुर थापाक्षेत्री कृष्ण कुमार रोकाया – २२,१७०
९.लालझाडी गाउँपालिका
अध्यक्ष, मदनसेन बडायक सहयोगी प्रभुराज जोशी
दार्चुला
१.महाकाली नगरपालिका
प्रमुख मेयर हंसराज भट्ट
प्रेस सल्लाहकार किरन धामी –१९,५००
२.शैल्यशिखर नगरपालिका
प्रमुख अमर सिह धामी नविन पार्की (कार्यपालिका सदस्य)
उपमेयर राजमती बमपाल – धौली खत्री
३.मालिकार्जुन गाउँपालिका
अध्यक्ष नरेन्द्र सिह धामी (भतिज) गोविन्द धामी कम्प्युटर अपरेटर २३,५००
उपाध्यक्ष पुष्पा अवस्थी (सहयोगी) हरिसिह धामी
४.दुहुँ गाउँपालिका
अध्यक्ष पुलेन्द्र बहादुर कार्की प्रेम धामी – २२,१७०
उपाध्यक्ष ईश्वरी जोशी गिता बम १६,२३०
५.मार्मा गाउँपालिका
अध्यक्ष जमन सिह धामी (भतिज) धनन्जय धामी १६,२३०
६. ब्याँस गाउँपालिका
अध्यक्ष दिलिप बुढाथोकी दिपेन बुढाथोकी १६,२३०
बैतडी
१ पाटन नगरपालिका
प्रमुख केशव चन्द (भाई) गजेन्द्र चन्द
उपप्रमुख सरस्वती कोली (श्रीमान) रमेश कोली –
३.मेलौली नगरपालिका
प्रमुख कृष्णसिह नायक (छोरा) महेन्द्र नायक २२,१७० नियुक्ती सहायक कम्प्युटर अपरेटर
४.पुर्चौडी नगरपालिका
कार्यपालिका बैठकले स्वकीय सचिव राख्न निर्णय गरेको
५.सिगास गाउँपालिका
अध्यक्ष, हरि सिह धामी प्रकाश सिह धामी कार्यालय सहयोगी स्तरको सुविधा
६.दोगडाकेदार गाउँपालिका
अध्यक्ष, चक्र बहादुर कार्की अम्बादत्त जोशी २२,१७०
७. डीलासैनी गाउँपालिका
अध्यक्ष उकेन्द्र बोहोरा जगदिश जोशी १६,२३०
उपाध्यक्ष पार्वती भण्डारी सन्तोश कुमार राना
डडेलधुरा
१.अमरगढी नगरपालिका
प्रमुख विश्वेश्वर ओझा (भतिज) गोविन्द ओझा २३,५००
उपप्रमुख संगिता भण्डारी राजेन्द्र जैसी २२, १७०
डोटी
१.दिपायल सिलगढी नगरपालिका
प्रमुख मन्जु मलासी
प्रेस सल्लाहकार झलक प्वाली २०,०००
स्वकीय सचिव रविन्द्र जोशी २५,०००
२.शिखर नगरपालिका
प्रमुख सीताराम जोशी प्रेस सल्लाहकार योगेन्द्र बलायर १०,०००
स्वकीय सचिव केशवराज जोशी २२,१७०
उपप्रमुख धौलीदेवी रावल सहयोगी दिनेश बलायर १५,०००