सुदूर नेपाललाई विश्वसँग जोड्दै

सखुवाको खसीबोका बजार तीन दिन सञ्चालन हुने

२०८३ असोज २८, ०४:५० रासस

धनुषा : सखुवाको मवेसी (खसीबोका) हाटबजार तीन दिन सञ्चालन हुने भएको छ ।

दसैँमा खसीबोकाको खरिदबिक्री बढेपछि  धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ मा हाटबजारको समय बढेको हो । बजार व्यवस्थापन समितिका अनुसार दसैँका अवसरमा खसीबोका खरिद गर्ने उपभोक्ता तथा बिक्रीका लागि ल्याउने किसान र व्यापारीको सुविधालाई ध्यानमा राख्दै बिहीबार, शुक्रबार र शनिबार बजार सञ्चालन गर्न लागिएको हो । 

यसअघि उक्त बजार मङ्गलबार र शनिबार गरी सातामा दुई दिन मात्र सञ्चालन हुँदै आएको थियो । बजारका ठेकेदार अनिल चौधरीले दसैँका बेला खसीबोकाको माग बढेको र खरिदबिक्री गर्नेको चापसमेत वृद्धि  भएकाले बजार सञ्चालनको अवधि थप गरिएको बताए । 
चाडपर्वका समयमा उपभोक्ताले आफूलाई आवश्यक खसीबोका खरिद गर्न र किसान तथा व्यापारीले सहज रूपमा बिक्री गर्न सकून् भन्ने उद्देश्यले बजार सञ्चालनको समय बढाइएको ठेकेदार चौधरीले बताए । दसैँमा घरघरमा मासुका लागि खसीबोका खरिद गर्ने चलन छ ।

 सखुवास्थित मधेसी खसीबोका बजार स्थानीय किसान तथा पशुपालकका लागि उत्पादन बिक्री गर्ने महत्वपूर्ण स्थल हो । घरपालुवा खसीबोका बजारमा ल्याएर बिक्री गर्न पाउने भएकाले चाडपर्वको समयमा किसानलाई आम्दानी गर्ने अवसरसमेत प्राप्त भएको छ । 
 व्यापारी महेन्द्र यादवले  खसीबोका  बिक्री वितरण कार्यले बजार चलायमान भएको बताए ।

बजार थप तीन दिन सञ्चालन हुँदा खसीबोका खरिदबिक्रीका लागि उपभोक्तालाई समयको छनोट हुने तथा किसान र व्यापारीलाई बिक्री व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ । 
दसैँ नजिकिँदै जाँदा खसीबोका खरिद गर्ने उपभोक्ताको चहलपहल बढेको छ । यो अवधिमा स्थानीय पशुपालक किसान, व्यापारी तथा अन्य व्यवसायीलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ ।

दसैँमा खसीबोकाको माग उच्च रहने भएकाले बजारमा खरिदबिक्री सहज बनाउनुका साथै उपभोक्ताले उचित मूल्यमा खसीबोका खरिद गर्न पाउने वातावरण बनाउनुपर्ने आवश्यकता छ । 
बजारको व्यवस्थापन र व्यवस्थित कारोबारले किसान तथा व्यापारीलाई आफ्नो उत्पादन बिक्री गर्न र उपभोक्तालाई आवश्यक सामग्री खरिद गर्न सहयोग पुग्ने देखिन्छ ।
 

कमेन्ट लोड गर्नुस