अचार काठमाडौंसम्म पुर्याउने धनगढीकी उद्यमी सिन्धु
धनगढीः परिवार र बालबालिकाको जिम्मेवारीले रोजगारी छाड्नुपरे पनि धनगढीकी सिन्धु शर्मा अहिले आफ्नै उद्यममार्फत आत्मनिर्भर बन्ने बाटोमा अघि बढेकी छन्। घरमै बसेर अचार बनाउनेदेखि फूल, तरकारी, फलफूल र स्ट्रबेरीका बेर्ना उत्पादन तथा बिक्री गर्नेसम्मका काममा उनी सक्रिय छिन्।
धनगढी उपमहानगरपालिका–५ शिवनगरकी सिन्धुले घरायसी जिम्मेवारीसँगै फुर्सदको समयलाई सदुपयोग गर्दै उद्यमशीलताको यात्रा सुरु गरेकी हुन्। स्वास्थ्य संस्थामा काम गरिसकेकी उनले विवाहपछि छोराछोरीको पालनपोषण र पारिवारिक जिम्मेवारीका कारण जागिर छाड्नुपरेको थियो।
परिवारको जिम्मेवारीमा सहजता आएपछि घरमै बसेर आम्दानी गर्न सकिने उपाय खोज्दै उनी उद्यममा जोडिएकी हुन्।
सुरुमा घरायसी कामसँगै सानो स्तरमा उत्पादन गर्न थालेकी सिन्धुले अहिले विभिन्न वस्तिको उत्पादन र बिक्री गर्दै आएकी छन्। उनले उत्पादन गरेका अर्गानिक वस्तु धनगढी आसपासका क्षेत्रमा बिक्री हुने गरेका छन्। विशेषगरी उनले बनाउने अचारले काठमाडौंसम्म बजार पाउन थालेको छ।
त्यसैगरी, घरमै उत्पादन गरेका स्ट्रबेरीका बेर्ना प्रतिगोटा ५० रुपैयाँका दरले बिक्री गर्दै आएकी छन्। तर, स्ट्रबेरीको महत्त्व र फाइदाबारे पर्याप्त जानकारी नहुँदा यसको बजार अपेक्षाअनुसार विस्तार हुन नसकेको उनको अनुभव छ।
आफ्ना उत्पादन उपभोक्तामाझ पुर्याउन उनलाई धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको शनिबारीय महिला उद्यम बजारले पनि सहयोग गरेको छ। बजारमा सहभागी भएर उत्पादन बिक्री गर्ने अवसर पाएपछि ग्राहकसम्म पुग्न र आफ्ना वस्तुको पहिचान बनाउन सहज भएको उनी बताउँछिन्।
स्थानीय स्तरमै महिला उद्यमीलाई बजारको अवसर उपलब्ध गराउँदा घरमै उत्पादन गरिएका वस्तिको बिक्री बढाउन सहयोग पुग्ने उनको विश्वास छ। सिन्धुको उद्यमशीलताको यात्रामा श्रीमान् भीमदत्त भट्टको साथ र हौसला पनि महत्त्वपूर्ण बनेको छ। भीमदत्त, महिलाहरू पनि उद्यमशीलतामा अघि बढ्नुपर्ने धारणा राख्छन्। फुर्सदको समयमा श्रीमतीलाई बारीलगायतका काममा सघाउने गरेको उनी बताउँछन्। परिवारको साथ र सहयोगले महिलालाई घरायसी जिम्मेवारीसँगै आफ्नै काम अघि बढाउन सहज हुने उनको बुझाइ छ।
घरायसी जिम्मेवारीलाई महिलाको सीमितता ठान्न नहुने सिन्धुको भनाइ छ। आफ्नै घरबाट थोरै लगानीमा पनि आम्दानीको बाटो खोल्न सकिने भएकाले महिलाहरूले आफ्नो सीप, क्षमता र समयको सदुपयोग गर्नुपर्ने उनी बताउँछिन्। घरमै उद्यम सञ्चालन गरेर परिवारको आर्थिक अवस्था सुधार गर्न सकिने उनको विश्वास छ। पारिवारिक जिम्मेवारीसँगै आफ्नै उत्पादन र बिक्रीबाट आम्दानीको बाटो पहिल्याएकी सिन्धु अहिले अन्य महिलालाई पनि उद्यमशीलतामा जोडिन प्रेरित गरिरहेकी छन्।