ममता काफ्लेको हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर
धनगढीः ममता काफ्लेको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्ट दोषी ठहर भएका छन्। अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टीको अदालतमा मंगलबार भएको सुनुवाइपछि जुरीले भट्टलाई दोषी ठहर गरेको हो।
अदालतले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो। उनको सजाय निर्धारण सन् २०२७ को मार्चमा हुने तय भएको छ। त्यसबेलासम्म उनी हिरासतमै रहनेछन्।
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ घर भएका नरेश भट्ट करिब १० वर्षअघि धनगढीमा मेडिकल प्रतिनिधि (एमआर) का रूपमा काम गर्थे। त्यसबेला सेती प्रादेशिक अस्पताल आसपासका दुईवटा मेडिकलमा उनको लगानीसमेत थियो। व्यवसाय सञ्चालन गरिरहेका उनी २०७३ साउन १४ गते अमेरिका गएका थिए।
अमेरिकी सेनामा भर्ती हुने उद्देश्यले अमेरिका पुगेका भट्ट एक वर्षपछि सेनामा भर्ती भएका थिए। पक्राउ पर्नुअघि उनी अमेरिकी सेनाको सूचना प्रविधि विभागमा कार्यरत थिए। सामाजिक सञ्जालमार्फत ममतासँग चिनजान भएपछि उनीहरू प्रेम सम्बन्धमा जोडिएका थिए। उनीहरूले २०७७ मंसिर २५ गते विवाह गरेका थिए। विवाहको आठ महिनापछि ममता पनि अमेरिका पुगेकी थिइन्। उनीहरूकी एक छोरीसमेत छन्।
ममतालाई अन्तिमपटक सन् २०२४ जुलाई २७ मा कार्यस्थलमा देखिएको थियो। जुलाई २९ मा नेपालमा रहेकी आमासँग भिडियो कल गरेपछि उनको फोन तथा सामाजिक सञ्जालमा कुनै गतिविधि देखिएन। ममता सम्पर्कविहीन भएपछि सहकर्मीहरूको आग्रहमा अगस्ट २ मा प्रहरी उनीहरूको घर पुगेको थियो।
त्यसक्रममा नरेशले आफूहरू अलग हुन लागेको र ममता परिवारका सदस्यलाई भेट्न न्युयोर्क वा टेक्सस गएको हुन सक्ने बताएका थिए। तर, प्रहरीले अमेरिकामा ममताका परिवारका सदस्य नरहेको पत्ता लगाएपछि घरमा खानतलासी गरेको थियो। त्यसपछि प्रहरीले नरेशलाई पक्राउ गरेको थियो। लामो अनुसन्धान र अदालती सुनुवाइपछि उनी हत्या प्रकरणमा दोषी ठहर भएका हुन्।