सुदूरपश्चिम भूगोलबाट कांग्रेसको केन्द्रीय सदस्यमा को–को भए विजयी ?
धनगढीः सुदूरपश्चम भूगोलतर्फ नेपाली कांग्रेसको केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणामअनुसार भूगोल खुलातर्फ तीन, महिलामा एक तथा ३५ वर्षमुनि महिला र खुलामा एक–एक गरी छ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
सुदूरपश्चिम प्रदेश भूगोलबाट बहादुरसिंह थापा, दिवानसिंह विष्ट र जनक चटौत केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। केन्द्रीय सदस्य निर्वाचित थापा सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री हुन्। विष्ट सुदूरपश्चिम प्रदेशसभाका सदस्य हुन्।
अन्तिम मतपरिणाम अनुसार दुवै जनाले समान एक हजार ७९९ मत पाएका छन्। चटौतले दुई हजार ५०८ मत पाएका छन्। थापा र विष्ट कञ्चनपुरका र चटौत डडेलधुराका हुन्।
यस्तै, सुदूरपश्चिम महिला क्लस्टरबाट अम्बिकाकुमारी चलाउने केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। चलाउनेले तीन हजार ७५५ मत पाएकी छन्। उनी अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर पनि हुन्। चलाउनेकी निकटतम् प्रतिस्पर्धी सुशीला शाहीले एक हजार ६४२ मत प्राप्त गरेकी छन्। उनी कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर हुन्।
यस्तै, सुदूरपश्चिम प्रदेशको ३५ वर्षमुनिको युवा महिला क्लस्टरअन्तर्गत केन्द्रीय सदस्यमा रीता शाही निर्वाचित भएकी छिन्। बाजुराकी शाही विद्यार्थी नेतृ भूपेश्वरी ऐरलाई पराजित गर्दै विजयी भएकी हुन्। ३५ वर्षमुनिको युवा खुला क्लस्टरमा भुवनराज भट्ट विजयी भएका छन्।