सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘आत्मविश्वास र ग्राहकको विश्वास राखे व्यवसायमा सफल भइन्छ’

२०७८ पुष २९, ०४:१५ खबर संवाददाता

धनगढी: नेपालभरी छरिएर रहेका पुस्तक तथा स्टेशनरी व्यवसायीलाई संगठित गर्ने उद्देशले सुरु भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघ हो। जसमा देशभरीकै पुस्तक व्यवसायी आवद्ध छन्। सबैलाई मिलाएर लग्नका लागि र साझा उद्देश्य प्राप्तिको लागि रुपन्देहीका केही पुस्तक व्यवसायीहरुले स्थापना गरेका थिए। अरु व्यवसायीहरु सांगठिक भएको र आफ्ना पुस्तक व्यवसायीहरु एकअर्कामा आवद्ध नभएको देखेर विस २०६३ सालमा महासंघको स्थापन भएको थियो। नेपाल अधिराज्य भरीमा १६ हजार भन्दा बढी सदस्य रहेको संघमा सुदूरपश्चिम प्रदेश अध्यक्षको रुपमा रहेका मेखराज दाहालसँग दिनेश खबरकर्मी पदमराज जोशीले कुरा गरेका छन्।  दाहाल पुस्तक पसलका सञ्चालक समेत रहेका दाहालसँग गरिएको कुराकानीको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौँ। 

प्रदेश अध्यक्षमा हुँदा कस्तो महसुस भएको छ ?
साथीहरूले जिम्मेवारी थप्नुभएको छ। अर्थात् अवसर दिनुभएको छ। म यो अवसरलाई सदुपयोग गरेर, सबै वर्गलाई समेटेर लाने छु भन्ने एउटा हौसला आएको छ। मलाई सर्वसहमत गराउनु हुने साथीहरूले जुन आशा भरोसा गर्नुभएको छ। त्यसलाई साकार गर्ने जोश जागर उर्जा मभित्र आएको छ।

संघमा तपाईंको आवद्धता कहिलेदेखि हो ? 
म आफ्नो पसल सञ्चालन गरेदेखि नै साधारण सदस्यको रुपमा संघमा आवद्ध थिए। केही समय कैलालीको समितिमा सल्लाहकारको रुपमा रहे। त्यसपछि केन्द्रीय सदस्यको रुपमा पनि संघमा काम गरे र काम गर्दै गर्दा हामीले प्रदेशमा नै रचनात्मक र केही विशेष गरेर देशभरी नै हामी पनि यता छौं है भन्ने वातावरण निर्माण गर्ने अवसर प्राप्त गर्यौं। 

तपाईं नै के–का लागि त अध्यक्षमा ?
म भन्दा पनि हामी के–का लागि भन्ने हो। हाम्रो जुन अहिलेको कार्यसमिति छ, यसको पछाडि सुदूरपश्चिमका सम्पूर्ण पुस्तक व्यवसायी छन्। हामीले अहिले भोग्नु परिरहेका साझा समस्या जुन छन् तिनलाई समाधान गर्नको लागि र आउने चुनौतिहरु सामना गर्नको लागि हामी हौं। हाम्रो समितिमा विभिन्न ठाउँमा काम गरिसक्नु भएका र निखारिएका साथीहरू छन्। त्यो टिम अझ उर्जामय बन्ने छ भन्ने आशा पनि छ। र, हामीले आजसम्म गर्दै आएका रचनात्मक काम र सामाजिक काम छन्। तिनलाई निरन्तरता दिनका लागि पनि हामी अहिलेका साथीहरू समितिमा छौँ। 

दाहाल पुस्तक पसलको सुरुवात कसरी भयो ? कसरी सम्झनुहुन्छ ती दिनहरु ?
सुरुवाती व्यवसाय गर्दा कयौं दिन निद्रापर्ने अवस्था पनि थिएन। एउटा धैर्यता चाहिँदो रहेछ। मेरो अनुभव हो एकैचोटी सफलता प्राप्त नहुँने रहेछ व्यवसाय भनेको। चुनौतिहरु सुरुवातमा धेरैनै हुन्छन्। परिवारले नै पहिला व्यवसाय गरिदिएको भए हुन्थ्यो भन्ने लाग्ने रहेछ। मेरो पारिवारिक पृष्ठभूमि पनि व्यापारिक थिएन। अनि त्यसले पनि एक किसिमको प्रभाव पारिरहेको थियो। व्यवसायलाई हेर्ने दृस्टिकोण पनि त्यतिबेला भिन्न थियो। फेरि सुरुवातमा सम्पर्क पनि धेरै हुँदैन र अहिलेको जस्तो सहज तवरले स्रोत साधन खोज्न सकिने स्थिति त्यतिबेला थिएन। सुरुका केही समय त म भाडा पनि तिर्न सक्ने होइन कि भन्ने चिन्ता हुन्थ्यो। सानो पुँजीवाट सुरु गरेको भोलिका दिनमा के होला भन्ने डर लागिरहन्थ्यो सुरुका दिनहरुमा। 

कहिलेकाँही उतारचढावले व्यावसायिक यात्रालाई रोक्नुपर्ने स्थिति आयो कि आएन ?
आएन। यदि बुझाई निर्माण गर्दै धैर्यताका साथ अगाडि बढ्ने हो भने त्यो स्थिति नआउँदो रहेछ। व्यवसायमा सबैभन्दा ठूलो विश्वास हुँदो रहेछ। यो अहिलेसम्मको मेरो सिकाई पनि हो। यदि आत्मविश्वास र ग्राहकको विश्वास आफूमा राख्ने हो भने व्यवसायमा कहिले असफलता बेहोर्नु पर्दैन जस्तो मलाई लाग्छ।

 

कमेन्ट लोड गर्नुस