दार्चुला जिप दुर्घटना अपडेटः मृतकको संख्या ८ पुग्यो, सबैको सनाखत
धनगढीः दार्चुलाको मालिकार्जुन जात हेरेर फर्किरहेको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार २ जना भारतीय नागरिकसहित ८ जनाको मृत्यु भएको हो। भारतको उत्तरप्रदेश राज्यको विजौर जिल्लाका ४५ वर्षका मोहम्मद सकिर, सोही ठाउँका १८ वर्षका मोहम्मद वसीम, दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर-५ का ३० वर्षका विरेन्द्र रावल र उनकी २८ वर्षीया श्रीमती शान्ति रावल, शैल्यशिखर नगरपालिका वडा नम्बर-९ का ४५ वर्षका दिलिप विष्ट, सोही ठाउँका ४५ वर्षीया मीना लेखक, बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर-५ का ४५ वर्षीय विरेन्द्र सिह बोहरा र सोही ठाउँका १५ वर्षीय सुजिब बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले जानकारी दिए।
दुर्घटनामा बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर-५ का ३५ वर्षका उत्तम रोकाया, दार्चुलाको मालिकार्जुन गाउपालिका-८ का चालक सुनील जोशी, शैल्यशिखर नगरपालिका-९ का ७ वर्षका सुमीत रावल र भारतीय नागरिक सोहील शाह गम्भिर घाईते भएका छन। शैल्यशिखर नगरपालिका-५ का प्रकाश सिह डाँगा भने सामान्य घाईते भएका छन्।
डिएसपी दाहालले चालक सहितका घाइते ४ जनालाई हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौं लैजाने गरी समन्वय भईरहेको बताए। दार्चुलाको मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको बोलेरो जिप शुक्रवार विहान ४ बजेतिर दुर्घटना भएको थियो। म १ ज ३३८ नम्बरको जिप ग्वानीको बजानी नजिक दुर्घटना भएको थियो। घाईते सबैजनाको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ भने मृतकहरुको शवपनि अस्पतालमै राखिएको डिएसपी दाहालले बताए।