सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ३५ वर्षअघि ब्यूटी पार्लर खोल्ने निशा, भन्छिन् ‘हिजो हेला गर्ने अहिले सम्मान गर्छन्’

२०७८ पुष २८, ०५:२४ खबर संवाददाता

धनगढी: धनगढीमा आजभन्दा ३५ वर्षअघि निशा सिंहले काठमाडौं ब्यूटी पार्लर सञ्चालनमा ल्याइएकी थिइन्। सुदूरपश्चिमको पहिलो ब्यूटी पार्लर मानिने उक्त पार्लर खुल्दै गर्दा कस्तो स्थिति थियो होला ? महिला, त्योपनि विवाहित महिला। चुलोचौकोमा मात्रै सिमित रहनुपर्छ भन्ने पुरातनवादी सोच अहिले त विद्यमान छ भने त्यो बेलाको अवस्था कस्तो थियो होला ? ब्यूटी पार्लर भनेको के–हो भन्ने बुझिनसकेको धनगढीमा यही व्यवसाय गर्दा कति अप्ठ्यारो पर्यो होला ?  तर निशाको परिवार बुझ्ने र सहयोगी थियो।

बिहे गरिसकेपछि उनका श्रीमानले नै केही गर्न उत्प्रेरित गरे। काठमाडौं गएर केही समय पार्लर सम्बन्धी औपचारिक शिक्षा नै लिइसकेपछि उनी धनगढी आइन् र आफ्नै घरमा ब्यूटी पार्लर सञ्चालनमा ल्याइन्। उनी काठमाडौं जाँदै गर्दा उनकी छोरी एक वर्षकी थिइन्। ‘हामी दुई बुढाबुढी बस्यौं। केही गर न त भनेर मेरो श्रीमानले भन्नुभयो। मलाई पनि घरमा त्यत्तिकै गृहणी भएर मात्रै बस्न मन थिएन’ निशाले विगत सम्झिँदै भनिन्, ‘भोलिलाई राम्रो सम्भावना छ भन्ने लागेको थियो। परिवारको सहयोगमा काठमाडौंमा राम्रै ठाउँमा सिके।’ 

उनका अनुसार त्यो बेला उनले महिनाको एक हजार रुपैयाँ तिरेर ६ महिना आधारभूत तालिम र फेरि एक वर्ष डिप्लोमा कोर्ष गरिन्। अहिले उनले सिकाएका धेरैले रोजगारी पाएका छन्। धनगढीमै पनि गल्ली–गल्लीमा ब्यूटी पार्लर खुलेका छन्। काठमाडौं ब्यूटी पार्लरमै अहिले ३ जनाले रोजगार पाइरहेका छन्। रोजगारको शिलशिलामा आउने जाने र सिक्नेहरुको संख्या पनि धेरै नै छ। तर उनले यो यात्रा सुरु गर्दैगर्दा समाजमा विभिन्न कुरा सुन्नुपरेको बताइन्।् ‘‘राम्रै परिवारको हौं। अर्काको कपाल काटेर तिम्रो प्रगति हुन्छ ? आफ्नो गुजारा गर्नसक्छौं ? त्यस्तो नराम्रो कुरा पनि सिक्छन् ? भनेर भने।  तर परिवारले ‘जांउ, सिक्न चाहेको कुरा सिक। भन्नेले त के के भन्छ’ भनेपछि उत्प्रेरणा मिल्यो।’ उनले भनिन्।

निशाले सिप सिकेपछि पनि काम नगर्ने सोच सम्म बनाएकी थिइन्। ‘सानै लगानीबाट ब्यूटी पार्लर सञ्चालन गरेपछि मान्छेका नानाथरी कुरा सुन्नुपर्ने। एक दिन त बुढालाई अबदेखि त म पार्लर जान्न। अब यो नगर्ने भने’ उनी भन्छिन् ‘तर श्रीमानले फेरि पहिलाकै उत्प्रेरणा दोहोर्‍यानु भयो र कामलाई निरन्तरता दिए।’ अहिले उनका तिन छोराछोरी छन्। विभिन्न देशमा उच्च शिक्षा अध्यापन गरेर केहीले काम पनि गर्न थालीसके। एउटा आँटले छोराछोरीलाई राम्रो र शिक्षा दिन सकिएको उनी बताउँछिन्। ‘घरमा कमाउने अरु पनि थिए तर  उच्च शिक्षाका लागि त्यो प्रयाप्त थिएन। मैले पनि घर परिवारमा आर्थिक रुपले सहयोग गर्न थालीसकेपछि छोराछोरीलाई राम्रो शिक्षा दिन सकियो’ उनले भनिन्। 

हिजो यस्तो पनि काम हुन्छ भन्नेहरुले अहिले सम्मानको दृष्टिले हेर्नेको गरेको उनको अनुभूति छ। ‘यहीँ पेसाले यति धेरै सम्मान पाइरहेकी छु। एकदम खुसी छु’, उनी भन्छिन् ‘कति धेरैले चिने। अहिले भारतका विभिन्न ठाउँ दिल्ली, लखनउ पलियाबाट समेत पार्लरमा नियमित आउने ग्राहक छन्। नेपालकै पनि विभिन्न ठाउँबाट एउटा विश्वास राखेर पार्लरमा आउनु हुन्छ। फेरि तपाईंले मात्रै गरिदिनुस् भनेर ग्राहकहरुले भनिरहँदा खुसी महसुस हुन्छ।’ 

उनी खाली बसिरहेका र केही गर्ने सोच बनाएका महिलालाई सिप सिकेर काम गर्न सुझाव दिन्छिन्। ‘सानो पुँजीबाट व्यवसाय गर्नुस् र मेहनत गरेर काम गर्नुस्। परिवारलाई विश्वास दिलाएर अगाडी बढ्नुस्’ उनी भन्छिन् परिवार सबैभन्दा बढी महत्त्वपूर्ण हुन्छ। महत्त्वका साथ लिनुस् र परिवारले पनि सहयोग गर्नुस्। उत्प्रेरणा काम गर्नेलाई मिल्छ।’

 

कमेन्ट लोड गर्नुस