पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय एकता दिवस
-मनोज भट्ट
नेकपा (मसाल)ले पुष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन र त्यस दिन सार्वजनिक विदा दिइनुपर्ने माग गर्दै आएको छ। अहिले पनि त्यो मांग कायम नै छ। पुष २७ गतेका दिन विगत २००७ सालदेख पञ्चायत हुँदै बहुदल कालसम्म विदा दिने चलन थियो। तर २०६२/६३ सालको जनआन्दोलन पश्चात बनेका सरकारहरुले पुष २७ गते विदा दिने विगतको चलन बन्द गरेका थिए। गणतन्त्रको स्थापना पश्चात राष्ट्रिय एकता दिवस मनाउन सरकारी स्तरबाट बन्द गरियो। तर त्यस दिन विदा दिनुपर्ने माग र औचित्य बढदै गएको छ। त्यसका साथै विखण्डनको उदेश्यबाट पे्ररित भएर पृथ्वीनारायण शाहमाथिको आक्रमणलाई पनि तिव्र पारिदै आएको छ। पृथ्वीनारायण शाहलाई क्रुर अत्याचारी, विभिन्न जातिका संहारकको रुपमा प्रस्तुत गरिँदै आएको छ। निश्चित रुपले राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भएका कारण विगत नेपालको शासकिय प्रणाली फेरिएको छ। तर इतिहासमा नेपाल राष्टको निर्माणमा सामन्ती शासकहरुले खेलेको भूमिका र योगदानलाई बिर्सन मिल्दैन।
विश्वमा भएका अन्य मुलुक पनि नेपाल जस्तै ससाना राज्यमा विभाजित थिए। विगतमा साना–साना राज्यमा विभाजित विश्वका विभिन्न मुलुकलाई एकसुत्रमा बाधेर एकिकरण गर्नुपर्ने ऐतिहासिक आवश्यकता थियो। तात्कालिक रुपले त्यो सामाजिक राजनीतिक आवश्यकतालाई पूरा गर्ने कार्यमा कुनै मुलुकमा नवोदित धर्मले भूमिका खेलेको पाइन्छ भने कुनै मुलुकमा त्यसको नेतृत्वदायी भूमिका सामन्ती शासक, धर्मगुरु वा प्रशासकले खेलेको पाइन्छ। त्यो कार्यमा नवोदित धर्म वा जुनसुकै व्यत्तिले योगदान गरेको भए पनि तत्कालीन अवस्थामा तिनिहरुको प्रगतिशिल महत्व रहने कुरा स्वतः सिद्ध छ। विषय वस्तुलाई बुझ्न सजिलोका लागि केही उदाहरण दिएर चर्चा गर्नु सान्दर्भिक हुनेछ।
रोमन सामराज्यको निर्माणमाका लागि इसाई धर्मले तात्कालीन अवस्थामा महत्वपूर्ण योगदान पुर्याएको थियो। साना साना राज्य ध्वस्त गरेर ठूला राज्य निर्माणका लागि इस्लाम धर्मले प्रगतिशिल भुमिका खेलेको थियो। साना राज्यमा विभाजित रोममा व्याप्त राज्य तथा दण्डहिनताको अवस्थालाई खतम गरेर विशाल साम्राज्य निर्माणका लागि प्रगतिशील भूमिका खेलेको थियो। सुुरुवातमा इस्लाम धर्म तात्कालिन समाज अनुसार प्रगतिशील कदम थियो। त्यसैले ‘राज्य र क्रन्ती’ नामक आफ्नो पुस्तकमा लेलिनले इसाइ धर्मलाई जनवादी क्रान्तिकारी भावना भएको धर्म बताएका थिए। धर्मको प्रतिकृयावादी स्वरुप र चरित्र हुँदाहुँदै पनि तत्कालीन सामााजिक अवस्थामा त्यस्ले खेलेको भूमिकालाई प्रगतिशिल बताइएको हो। धर्मको प्रतिकृयावादी स्वरुप तथा चरित्र हुँदाहुँदै पनि तात्कालीन समाजिक अवस्थामा धर्मले खेलेको प्रगतिशिल भूमिकालाई स्वीकार गरिए जस्तै सामन्तवादी व्यवस्था आफैमा प्रतिकृयाबादी व्यवस्था भए पनि वा त्यसका नाइकेहरु निरङकुस भए पनि तात्कालीन सामाजिक अवस्थामा उनीहरुले खेलेको प्रगतिशिल भूमिकालाई अस्विकार गर्न मिल्दैन। त्यसैगरी इस्लाम धर्मले कविलाई समाजमा विभाजित अरबको एकिकरणको लागि तत्कालिन अवस्थामा प्रगतिशिल भूमिका खेलेको थियो। त्यसैले फ्रेडरिक एगेल्सले तात्कालिन सामाजिक अवस्थामा इस्लाम धर्मलाई सबै वर्गको धर्म बताएका थिए। ठीक त्यसै प्रकारले विभिन्न ससाना राज्यमा विभाजित नेपाललाई एकिकरण गर्न तात्कालिन अवस्थामा पृथ्वीनारायण शाहले पुर्याएको योगदानलाई पनि व्याख्या विश्लेषण गर्नुपर्ने हुन्छ।
करिब २५० वर्ष अघि दक्षिण एसियाली क्षेत्र अन्तरगत झण्डै सात/आठ सय मुलुक अस्तित्वमा थिए। दक्षिणतर्फ ब्रिटिस साम्राज्यले एकपछि अर्को गर्दै साना राज्यलाई आफ्ना उपनिवेश बनाई रहेको अवस्था थियो। तत्कालीन अवस्थामा नेपाल पनि झण्डै ५३ वटा स–साना भुरे टाकुरे राज्यमा विभाजित थियो। गण्डकी क्षेत्रमा २४, कर्णालीमा २२, नेपाल उपत्यकाभित्र ३, मकवानपुर तथा पूर्वी नेपालका ३,वटा राज्य गरी ५३ वटा भुरेटाकुरे राज्यमा नेपाल विभाजित थियो। यी राज्यहरुका विचमा आपसमा निरन्तर काटमार चलिरहन्थ्यो। त्यसबाट जनता वाक्क दिक्क र आजित थिए। काठमाडौं र भक्तपुरबीच सधैभरी शत्रुता थियो। पाटनको राजाबाट त्यहाँका जनता वाक्क दिक्क भएका कारण त्यहाँको राजा कसलाई बनाउने भन्ने कुराको निर्णय ७ जना प्रधानहरुको समूहले गर्ने गथ्र्यो। आ–आफ्नो प्रदेशभित्र आवतजावत गर्ने प्रतिद्धन्दी राज्यका जनतालाई विभिन्न प्रकारले दुखः यातना दिने गर्थे। व्यापार व्यावसायको विकासमा गम्भिर रुपले नकारात्मक असर परेको थियो। व्यापारीहरुले राज्य पिछे कर तिर्नु पर्ने समस्या त छँदै थियो अझ त्यसमा पनि उनिहरुको सामान लुटपाट हुन्थ्यो। यहांसम्म कि भोटबाट ल्याएको नुन, सुन तथा चाँदी समेत अर्को राज्यका मान्छेले लुटपाट गथ्र्ये।
सबैतिर असुरक्षा तथा राज्य विहिनताको अवस्था थियो। त्यसबाट जनता मुक्त हुन चाहिरहेका थिए। ठिक त्यसैबेला नेपालको छिमेकमा उत्तरतर्फ चीनले आफ्नो भूमिका र प्रभावमा वृद्धि गरेर तिब्बतमाथि आफ्नो नियन्त्रण कायम गरेको थियो। दक्षिणमा ब्रिटिस साम्राज्यवादले भारतका विभिन्न राज्य रजौटाबीच आपसी बैमनस्यता वा अन्तरविरोधलाई उपयोग गरेर, ‘फुटाउ र राज गर’ नीति अन्तरगत आफ्नो एकक्षत्र आधिपत्य जमाउन सुरु गरेको थियो। ब्रिटिस इस्ट इन्डीया कम्पनी भारतमा बेलायतको शासनलाई सुदृढ गर्न हिमालयको दक्षिण तर्फका सबै ससाना भू–भाग नेपाल, भुटान, तिब्बत र सिक्किमलाई भारतमा गाभ्ने रणनीति अन्तरगत काम गरि रहेका थियो।
यस्तो प्रकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितीमा गोर्खाका राजा पृथ्वीनारायण शाहले विभिन्न राज्यमा विभाजित नेपालको एकिकरण अभियानलाई अगाडि बढाएका हुन्। पृथ्वीनारायण शाहको यो कार्यलाई के भन्ने ? विषयमा मतभेद पाइन्छ। कतिपयले यसलाई एकिकरण भनेका छन् भने कतिपयले विस्तारवादी नीतिका रुपमा व्याख्या गरेर पृथ्वीनारायण शाहलाई विस्तारवादी शासककारुपमा प्रस्तुत गर्ने गरेका छन्। पृथ्वीनारायण शाहको कार्यलाई एकीकरण वा विस्तारवाद जुन रुपमा व्याख्या वा विस्लेषण गरेपनि उनको उक्त कार्यको परिणाम हामीलाई एकीकृत नेपाल प्राप्त भएको छ। जसको परिणाम विश्वमा हामी छुट्टै पहिचानका साथ स्थापित भएका छौं।
तत्कालीन नेपालको राजनीतिक, आर्थिक सामाजिक तथा भुराजनीतिक अवस्थाका कारण नेपालको एकिकरण एउटा अपरिहार्य आवश्यकात थियो। उक्त आवश्यकतालाई पृथ्वीनारायण शाहले चिने र नेपालको एकिकरणमा नेतृत्वदायी भूमिका खेलेर महत्वपूर्ण योगदान दिएका थिए। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुका साथै ब्रिटिस साम्राज्यबादबाट नेपालको राष्ट्रियताको रक्षाका लागि महत्त्वपूर्ण योगदान दिएका थिए। व्यापार फैलाउने नाम ब्रिटिसले जसरी भारतलाई आफ्नो उपनिवेश बनायो ठिक त्यसै प्रकार नेपालमा समेत प्रभाव र शक्ति बढाएर नेपालको राष्ट्रियता खतम गर्नेछ भन्ने सवालमा पृथ्वीनारायण शाह प्रष्ट थिए। तत्कालीन अवस्थामा उपत्यकाको मल्ल राज्यहरुकाबीच आपसी अन्तरविरोधका बारे काठमाडौंमा मल्ल राजाहरुबाट विभिन्न सुविधा लिएर बसिरहेका क्रिश्चिय पादरीहरुबाट ब्रिटिसहरुले जानकारी पाइरहेका थिए। मल्लकालको अन्त्यतिर अन्तिम मल्ल राजा जयप्रकाशले ब्रिटिस भारतसँग सम्बन्ध स्थापित गर्ने प्रयास पनि गर्न थालिसकेका थिए। ब्रिटिसहरु पनि नेपाल प्रवेश गर्ने बहाना खोजिरहेका थिए। पृथ्वीनारायण शाहले एकिकरण अभियान सञ्चालन गर्ने क्रममा काठमाडौं उपर आक्रमण गर्दा त्यसका विरुद्ध ब्रिटिशले सशस्त्र फौज नेपाल पठाएको थियो। उक्त ब्रिटिस फौजलाई सिन्धुली गढीतिरको पौवागढीमा गोर्खाली सेनाबाट नराम्रो हार खानुपरेको थियो। नेपाललाई घेर्न नेपालको मकवानपुरमा आएको ब्रिटिस तथा बंगालको नवाबको फौजले समेत गोर्खाली सेनाबाट पराजय व्यहोर्नुपरेको थियो।
भारत र बिस्तारै एसियामा समेत आफ्नो प्रभाव र शक्ति विस्तार गर्न ब्रिटिस साम्राज्यबादको उपस्थिति बलियो हुँदै आइरहेको परिपेक्ष्यमा ५३ वटा स–साना राज्यमा विभाजित नेपालले आफ्नो अस्तित्व जोगाउन सक्ने प्रश्नै थिएन। तात्कालीन अवस्थालाई ध्यान दिने हो भने यदि पृथ्वीनारायण शाहले नेपालको एकिकरण अभियान नचालएको भए नेपाललाई समेत ब्रिटीसले कब्जा गर्दथ्यो र पछि गएर सम्भवतः स्वाधिन भारतको बन्थ्यो होला। नेपालको अहिलेको स्वतन्त्र हैसियत नरहन पनि सक्दथ्यो।
दक्षिण एसियामा उदाउँदो ब्रिटिस सामराज्यवादबाट नेपाल जस्तो सानो मुलुकको रक्षाको लागि पृथ्वीनारायण शाहले ब्रिटिसबाट पृथक रहने नीति अपनाएका थिए। त्यो नीतिलाई उनका उत्तराअधिकारीहरुले पनि अगाढी बढाएका थिए। नेपालको भूराजनीतिका अवस्थाको बारेमा पृथ्वीनारायण शाह राम्रोसँग परिचित थिए। ब्रिटिसहरु धर्म र व्यापारको नाममा अरुको देशमा प्रवेश गर्ने र त्यस देशको राष्ट्रियतालाई खतम गर्ने गरेको थियो। त्यसैले पृथ्वीनारायण शाहले नेपालमा तथा त्यसका साथै तिब्बतमा समेत युरोपियनहरुको प्रवेशमा रोक लगाएका थिए। नेपालबाट क्रिश्चियन पादरीहरुलाई देश निकाला गरेर विहार लखेटेका थिए। नेपालको एकिकरण र ब्रिटिश साम्राज्यवादबाट नेपालको रक्षाको कार्य पृथ्वीनारायण शाहको सामन्ती राष्ट्रवादमाथि आधारित भएको कुरालाई इन्कार गर्न सकिन्न। तर कुनै सामन्त आफनो देशको राष्ट्रियताको रक्षाका लागि संघर्ष गर्छ भने त्यो संघर्षलाई सामन्ती राष्ट्रवाद भनेर त्यस मुलुकको मुक्ति आन्दोलनलाई उपेक्षा गर्नु सहि हुन्न।
अफगानिस्तानमा आफनो मुलुकमाथिको वैदेशिक हस्तक्षेपका विरुद्ध अमेरिकी साम्राज्यवादसँग मुस्लिम कटरपन्थीहरु लडेको सबैलाई अवगत नै छ। त्यहाँ प्रगतिशील राष्ट्रवाद कमजोर भएका कारण राष्ट्रियताको रक्षाका लागि साम्राज्यवाद विरुद्ध मुस्लिम अतिवादीहरुको आन्दोलनलाई गल्त भन्न मिल्दैन। ठीक त्यसै प्रकारले तात्कालीन अवस्थामा आफनो देशको रक्षाका लागि सामन्तहरुले गरेको संघर्षलाई सामन्ती राष्ट्रवाद भनेर उपेक्षा गर्नुको अर्थ देशको राष्ट्रियताको रक्षाको पक्ष लिनुको सट्टा घुमाउरो रुपमा हाम्रो देशमाथि आक्रमण गर्ने साम्राज्यवादीहरुको पक्ष लिने काम हुने छ। कतिपयबाट जान वा अनजानमा त्यस प्रकारको काम भइरहेको छ।
निश्चित रुपले नेपालको एकिकरण गर्ने क्रममा भएका युद्ध वा संघर्षमा युद्धरत दुइटै पक्षबाट कतिपय ज्यादती भएका हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन। तर त्यो ज्यादती भएका कारण नेपालको एकिकरण गल्त थियो भन्ने निस्कर्ष निकाल्नु सहि हुन्न। सुुरुमा नेपालको इतिहास लेख्न कार्य नेपाली भन्दा विदेशीहरु अझ त्यसमा पनि पश्चिमाहरुले गरेको पाइन्छ। पश्चिमाहरुले नेपालको इतिहास लेख्दा मुख्यतया नेपालको ब्रिटिश विरोधी नीति भएको हुनाले पूर्वाग्रह प्रेरित भएर नेपालको इतिहासमाथि कलम चलाएका छन्। मल्लकालमा नेपालमा भएका क्रिश्चियन पादरीहरुले दिएका गलत सूचनाका आधारमा वा यथार्थलाई तोडमरोड गरेर दिएका जानकारीका आधारमा वा विभिन्न मिशन अन्तरगत आएका विदेशी प्रतिनिधिमण्डलका प्रतिनिधिहरुले अरुबाट सुनेका कुराहरुलाई आधार बनाएर इतिहास लेखेको पाइन्छ। उनीहरुले विशेषतः पृथ्वीनारायण शाहकाविरुद्ध बढी कलम चलाएका छन्। एकिकरणलाई नकारात्मकरुपमा तथा पृथ्वीनारायण शाहलाई कुरुप रुपमा प्रस्तुत गर्नाका पछाडी पश्चिमाहरुको विखण्डनको उद्धेश्यले काम गरेको छ।
नेपालमा गणतन्त्रको स्थापना भइसकेपछि जातीय राज्यसहितको संघीयता स्थापना गर्नाका लागि युरोपियन युनियनले नेपालमा झण्डै ९७ अरब रकम खर्च गरेको थियो। ठूलो धनराशी खर्च गरेर पनि नेपालमा जातीय राज्य स्थापना गर्ने पश्चिमाहरुको योजना संविधान निर्माणको क्रममा सफल हुन सकेन। यद्यपि त्यस उद्देश्यबाट उनीहरु पछाडि हटेका छैनन्। नेपालमा विभिन्न जातीकाबीच द्वन्द गराएर नेपाललाई टुक्रयाउने उद्धेश्यले एकिकरण अभियान गलत र दमनकारी थियो भन्ने कुरा सिद्ध गर्नका लागि युरोपियन शक्तिहरुले पृथ्वीनारायण शाहमाथि प्रहार केन्द्रीत गरिरहेका छन्। त्यस अवस्थामा राष्ट्रिय एकता दिवसको महत्व झन बढेर गएको छ।