सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्राकृतिक सौन्दर्यताले भरिपुर्ण कैलालीको जाखौर ताल

२०७५ पुष १७, १२:११ खबर संवाददाता

भौगोलिक दृष्टिकोणले नेपाल भुपरिवेष्ठित सानो राष्ट्र हो । यो देश अरु राष्ट्रको तुलनामा सानो र गरिब राष्ट्र भएतापनि प्राकृतिक दृष्टिकोणले धनी मानिन्छ । विश्वकै अग्लो हिमाल सगरमाथा, विश्वकै होचो स्थानमा रहेको अरुण उपत्यका र ५७ मिटर होचो स्थानदेखि ८,८४८ मिटर अग्लो हिमश्रृंखला पनि नै रहेका छन् । नेपाललाई हिमालको धनी भएको देश भनेर चिन्दछन् । यस देशको ठाउँ–ठाउँमा ताल तलैयाहरु, हिमश्रृंखलाहरु पहाड, पर्वतहरु र प्राकृतिक सौन्दर्यताले भरिपुर्ण ठाउँहरु प्रशस्त छन् । नेपालको भुभागलाई भौगोलिक दृष्टिकोणले तराई, पहाड र हिमाल प्रदेश गरी ३ प्रदेशमा बाँडिएको छ । 

जाखौर ताल
कैलाली जिल्ला पनि भौगोलिक दृष्टिकोणले प्रदेश नम्बर ७ अर्थात सुदुरपश्चिम प्रदेशको तराई जिल्ला हो । यो जिल्लाको सिमाना पुर्वमा कर्णाली नदी, पश्चिममा कञ्चनपुर, उत्तरमा डोटी र डडेल्धुरा र दक्षिण सिमाना भारतसँग जोडिएको छ । जैविक विविधताले परिपुर्ण कैलाली जिल्ला स्वस्थ्य जलको भण्डार, चुरेबाट उद्गम भई प्रवाह हुने नदीहरुका लागि भाग्यमानी जिल्ला हो । कैलालीमा मात्रै साना ठुला गरी १९३ प्राकृतिक तालहरु रहेका छन् । तसर्थ कैलाली नेपालमै सबैभन्दा बढी प्राकृतिक ताल भएको जिल्लाको रुपमा चिनिन्छ । यसरी प्राकृतिक रुपले धनी जिल्ला कैलाली पछिल्लो अवस्थामा मानवीय क्रियाकलापहरु र प्रचार–प्रसारको कमी, संरक्षण गर्ने परिपाटी नभएकाले यहाँका अधिकांश तालहरु संकटमा परेका छन् । 

प्राकृतिक सौन्दर्यमा रमाएको जाखौर ताल धनगढी उपमहानगरपालिको बजार देखी पुर्वपट्टी ५ किलोमिटर देवरिया ७ मा अवस्थित छ । समुद्र सतहबाट १५० मिटर उचाईमा रहेको यो तालको पुर्व, पश्चिम र उत्तरमा घना जंगल रहेको छ । जंगलमा विभिन्न प्रकारका दुर्लभ बन्यजन्तु मौसम अनुसार आउने गर्दछन् । यो ताल जलप्राणी अन्तर्गत विभिन्न किसिमका माछाहरु त्यस्तै जलेवा, सुईरोठुडे, जलकौवा, सेतो सानो बकुल्ला, भुडिफोर, काप्रे चरा, माछाखाने बाझ, चखेवा जस्ता चराचुरुङ्गीहरुको लागि राम्रो वासस्थान रहेको छ । जंगलमा रहेका ताल जनावर तथा चराचुरुङ्गीको आहारको प्रमुख बासस्थान मानिन्छ । अझै धेरै प्रजातिका चराचुरुङ्गीको लागि प्राकृतिक बासस्थान ताल नै रहने गर्दछ । सौन्दर्यताले भरिपुर्ण यो ताल भित्रै देवरिया बनस्पती उद्यान जुन नेपालकै सबैभन्दा ठुलो बनस्पति उद्यान, १२२ प्रजातिका बनस्पतीहरु, जडीबुटी प्रदर्शनी स्थल, चुरे प्रदर्शनी प्लट अवस्थित छन् । १२.५ हेक्टर क्षेत्रफलमा फैलिएको यो तालको २०० मिटरको दुरीमा २ वटा मुरफट्टी र मुरफट्टा तालहरु अवस्थित छन् । सुन्दर मनोरम पवित्र गोदावरी चुरे पहाडको काखमा अवस्थित जाखौर ताल जैविक विविधता, धार्मिक एवम् पर्यटकीय हिसाबले महत्वपुर्ण मानिन्छ । तर संरक्षणको अभावले गर्दा प्राकृतिक सौन्दर्यता गुमाईरहेको छ । यो तालको किनारमा जाखौर बाबाको मन्दिर पनि अवस्थित छ । जुन स्थानमा जाखौर बाबाले तपस्या गरेको किम्बदन्ती रहेको छ । 

कैलाली जिल्ला १ सय १ सिमसार क्षेत्र घोषणा भएको जिल्ला हो । केही समय अगाडी मात्र यहाँका सिमसार क्षेत्रमा प्रशस्त मात्रामा पाईने थुप्रै बनस्पति र जनावरको संख्या पनि घट्दै गईरहेको छ । तसर्थ ताल वरिपरी भएको जंगल क्षेत्रको अतिक्रमण जिवजन्तुको चोरी निकासी रोक्ने प्रदुषण जस्ता मानविय क्रियाकलापहरु रोक्नुपर्ने देखिन्छ । स्थानीय बासिन्दाहरुलाई बनजंगल र त्यहाँ रहने जीवजन्तुको बारेमा जानकारी दिलाउन समेत आजको आवश्यकता रहेको छ । यो तालको प्रभावकारी संरक्षण, प्रचार–प्रसारमा स्थानीयस्तर र जिम्मेवार निकायबाट सक्रिय रुपमा संरक्षण भएमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरुलाई भित्र्याई स्थानीय बासिन्दाहरुलाई जिविकोपार्जनमा सहयोग हुने कुरामा कुनै दुईमत छैन । प्रकृतिको अनुपम सृष्टि, जैविक विविधता अन्य प्राणीजगत र वनस्पतिलाई बाँच्ने अधिकार सुनिश्चित गर्न परम कर्तव्य मानवको हो । प्राकृतिक तथा मानवीय क्रियाकलापले वातावरणमा निम्त्याईरहेका असरहरुलाई रोक्नै पर्ने देखिन्छ । यसका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको छ । 

धिरेन्द्रबहादुर चन्द
युवा प्राणी शास्त्री
एम.एस्सी.कन्जरभेसन बायलोजी  
 

कमेन्ट लोड गर्नुस