सुदूर नेपाललाई विश्वसँग जोड्दै

७२ घण्टे औषधि

२०७८ मंसिर १६, ०६:१५

-जीवन शाही(यायावर जी)

माथिको शिर्षक पढ्दा अचम्म लाग्यो होला।  यो कस्तो औषधि हो, भनेर। धेरैलाई थाहा पनि होला। यो कस्तो बेला खाइन्छ भनेर र कुन अवस्थामा यो प्रयोगमा आउँछ भनेर। ७२ घण्टे औषधिको विषयमा, त्यसको प्रयोग र असर जाने, बुझेका तपाईं र म जस्ता व्यक्तिहरु पनि खुलेर बोल्न चाहिरहेका हुन्नौ। अब, हाम्रो समाजको कुरा त, बयान गरेर सकिन्न। 

यस्तो अवस्थामा, बहत्तर घण्टे औषधि केटी मान्छेले किन्छे। आफैले सेवन गर्छे भने, हामीले उ प्रतिको धाराणा के राख्छौं भन्ने हामीमा नै भरपर्छ। र, उ प्रति हामी धेरैले राख्ने धारणा कस्तो होला ? हामी सहजै अनुमान लगाउन सक्छौं।
एउटा यस्तो परिवेश, जहाँ अझै पनि महिनावारीमा लगाउने सेनेटरी प्याड त, केटी मान्छेले निर्धक्क भएर किन्न सकिरहेका छैनन्। किन्यो भने पनि पेपरमा लुकाएर हिँड्छन। ढाकेर, छोपेर हिड्छन, लाज मान्छन्। निर्धक्कसँग ‘म महिनावारी भएकी छु है, भनेर भन्न सकिरहेका छैनन्। यस्तो अवस्थामा एउटी केटी, निर्धक्क भएर बिना संकोच वा डर बहत्तर घण्टे औषधि अर्थात इकोन किनिरहेकी छे भने, यो अचम्म भएन र ? अनौठो नै भएन र ? सोच बाहिरको कुरा नै भएन र ? र, यसबाट हामीले, केही महिलाहरु समाजको परिबन्धबाट बाहिर आउने प्रयास गरिरहेका छन है। भन्ने कुरा पनि बुझ्नु पर्यो, हैन र ?

तपाईं पनि बहत्तर घण्टे औषधि, यो शिर्षक पढेर अचम्मित हुनुभएको होला। अब धेरै चकित नहुनुस। माथिका सबै कुरा पढेर, कल्पनाको दुनियाँमा हुनुहुन्छ भने, तयार रहनुस। अबको यात्रा यथार्थको यात्रा हो। जुन यात्राले धेरै कुरा अनुभव गराउनेछ।

एकताका, म ललितपुरको एउटा परिचित फार्मेसीमा जागीरे थिएँ। १२ देखि आठ बजे सम्मको मेरो ड्युटी थियो। सधैं साँझको समयमा म हुन्थे फार्मेसीमा। साँझको सिफ्ट मेरो थ्यो। भदौको महिनाको एक साँझ, करिब साढे सात बजिसकेको हुँदो हो। सधैं जसो, म त्यो दिन पनि काउन्टर नजिकैको कुर्सीमा बसेर काम गरिरहेको थिए आफ्नै धुनमा।

त्यही समयमा मेरो एकाग्रता तोड्दै, ‘एक्सक्यूज मि, सर..., तपाईंसँग ईकोन छ....?’ एकै स्वरमा र नशालु लवजमा एउटी महिलाको सुरिलो आवाज मेरो कानमा छिर्यो। म झसङ्ग भए। कम्प्युटरको किबोर्डमा औंला राखेर मोनेटरमा औषधिको स्टक हेर्न घोत्लिएको म जुरुक्क उठेर टाउको सिधा पारें। एकछिन ट्वाल्ल परें। तत्काल जवाफ दिनलाई बोली नै निस्केन मेरो।  

 मेरो सामुन्ने अगाडि साढे पाँच फिटभन्दा अग्ली, चिटिक्क जिउडाल मिलेकी, नशालु हेराई भएकी, मुखमा स्काई ब्लूपेपर मास्क, कालो जिन्सको पाइन्ट र सेतोमा कालो धर्के सर्ट र शरीरमा सुगन्धित विदेशी अत्तर छर्केर टक्क उभिएकी थिइ एउटी सुन्दर केटी। 

उसलाई देख्ने हर कोही उसको त्यो यौवनको रसले टमक्क भरिएको शरिरको बनावट देखेरै पागल हुन्थे होला। त्यति राम्री थिई, देख्नमा उ। उसकै बोली थियो, जसले कम्प्युटरमा घोत्लिएको म र मेरो एकाग्रता तोड्यो। र, मलाई लाग्यो साँच्चिकै, उसको भरिभराउ यौवनको असर उसको बोलिमा पनि परेको रहेछ। जति नशालु उसको बोली, उतिनै नशा दिने उसको सुन्दरता। उसको सुन्दरताको नशामा, म डुबेछु क्यारे ! र त, केही बोल्न सकिन।

‘सर...,’ उसले अनुरोध गरेको शैलीमा मलाई भनी। सायद, मैले एकोहोरो उसलाई हेरेको हुनाले होला। मैले दायाँ हातले ओठ माथिको जुँगा मिलाए झैँ गरे, ‘हजुर भन्नुस न...म्याम’ भन्दै अघिको कुरा नसुने झैँ गरें। र हल्का मुस्कुराएँ।
‘इकोन छ,  सर....बहत्तर घण्टे क्या,’ अलिकति लजालु नजर लगाउँदै उसले फेरि सोधी। मैले ठट्यौली पारामा भनें, ‘अह...छैन भनेर कसरी भन्नू, स्वर्गकी परी जस्ती मान्छे स्वंयम हाजिर भएपछि।’

मैले भनेको कुरा उसले बुझिन वा नबुझेको नक्कल गरी। र, फेरि ‘हजुर के भन्नुभएको ?’ भनेर लोभलाग्दो स्वरमा बिस्तारै सोधी। ‘हजुरहरु कै सेवा गर्न त, यो झिसमिसे साँझमा म छु। झन् फार्मेसीमा आइसकेपछि इकोन नपाइने कुरो नि हुन्छ त ?’ मैले यहि भनेको। म मुस्कुराए। उसले टाउको हल्लाई। सायद बुझिछे।

म फार्मेसीमा जागिर सुरुवात गर्दाको  समयमा केटीहरुले प्याड दिनुस् भन्दा लजाउँथे। भेजाइनल वासहरु माग्दा केही नबोलेरै दिन्थे। एक दिन एउटा पैंतीस नाघेकी महिलाले‘कण्डम दिनुस। वा कुनै अर्को काँडा वाला छ भने त्यो दिनुस् है’, भनेर नाम तोकेरै भन्दा रातोपिरो भएको मान्छे आज बडो जिस्किरहेछु। सोचेँ अनुभव धेरै भएर होला लज्जा र डर हराइसकेछ मेरो। अनि त्यही बेला कता–कता  पेशामा पर्फेक्ट भएको महसुस पनि गर्न थाले।  

‘कति वटा छ तपाईंसँग ?’, मेरो मनमा कुरा खेल्दा–खेल्दै उसको टाउको हल्लाइको कम्पन नसकिदै उसले फ्याट्टै सोधी। म फेरि एकपटक ट्वाल्ल परें। उसलाई मैले बुझिन भन्ने भेउ भएछ। र, आफै फेरि सजिलो तरिकाले उसले, ‘तपाईंको फार्मेसीमा कति वटा इकोन छ, सर अहिले....?’ भनेर  मेरो जवाफको पर्खाइमा बसी।

मलाई एकछिन सोच्न बाध्य बनायो, उसको प्रश्नले। ‘कति वटा छ ?’ भनेर किन सोधेकी होलिन्। मेरो मनमा यहि कुरा खेल्दै गर्दा, ‘तपाईंलाई कति वटा चाहिने हो?’ प्रश्नको जवाफमा मैले पनि उसलाई प्रश्न नै दिएँ। उसले मेरो प्रश्नको अलिकति उत्साहित हुँदै ढुक्क भएर जवाफ दिँदै गर्दा, ‘फार्मेसीमा जति छ, सबै मलाई चाहिन्छ’, भनी। मैले तत्कालै, ‘ मजाक नगर्नुस् न मिस’, भनेर हल्का रुखो स्वरमा भनें। उ फेरि पनि, ‘मजाक होइन, साँच्चै नै चाहिरहेको छ मलाई भन्नथाली। सवालजवाफ अलि बढी नै हुँदै गयो। 

मैले, ‘केही पिस लिनुस, धेरै दिन त गाह्रो पर्छ’, भनेर उसलाई सम्झाउने प्रयास गरे। उसले मानिन। झन प्रस्ताव राखेरै भनि, ‘५० वटा भन्दा धेरै चाहिन्छ मलाई।’ म दंग परें। उसको प्रस्तावले मलाई झड्का दियो।

‘तपाईं पनि इकोनको किनबेच गर्नुहुन्छ, हो ?’ मैले उसको प्रस्तावलाई महत्त्व नदिए झैं गरे उसलाई सोधे। उसले अलिकति सोच–बिचार गरे जस्तो गरी। बायाँ हातले गालामा लत्रिरहेको कपाल कान पछाडि अड्काई। अनि, हल्का खोके जस्तो गर्दै, ‘हैन म बेच्ने काम गर्दिन, तर किन्ने काम चि गर्छु’, भन्दै हाँस्न थाली। यो कस्तो खालकी केटी हो पचासभन्दा बढी चाहियो भन्छे, हाँस्छे,मजाक गरेजस्तो गर्छे। म झन अचम्मित हुन थालेँ।

मेरो मनमा अनेक कुरा खेल्न थाले। ‘सर, धेरै नसोच्नुस बरु जति छन् मलाई दिनुस’, म चुप भएको देखेर उसले भनि। ‘मिस, हाम्रो इथिक्सले एउटै व्यक्तिलाई व्यक्तिगत प्रयोगका लागि धेरै बिक्री गर्न मिल्दैन’, मैले अलिकति कडा तरिकाले भनेपछि, ‘बागमतीमा बगाउनुस तपाईंको इथिक्स, अरु कतै इथिक्स देख्दिन, यहीँ मात्र रैछ इथिक्स। पैसा कमाउनुस सर पैसा’ भन्दै अघिको भन्दा अलिकति फरक शैलीमा उसले तत्कालै जवाफ दिइ। अनि आफ्ना आँखा औषधि भरिएका र्याकहरुमा डुलाउन थाली। मानौं की उ केही खोजिरहेकी छे।

मैले बाहिर आँखा पुर्याए। अँध्यारो बढीरहेको थियो। साँझ छिप्पिदै थियो। उसलाई कि सबै चाहिने  कि पचास भन्दा बढी चाहियो भन्छे। म सबै दिने मुडमा थिएन। दुई चारवटा उसले नलिने संकेत गरिसकेकी थिइ। तर पनि अलिकति पेशाप्रति इमान्दारिता त देखाउनै पर्यो। यतिकैमा, ‘पैसा त आज नभए नि भोलि कमाउला मिस तर तपाईंलाई यसको धेरै प्रयोगले हुने असरको बारेमा थाहा छ ?’ मैले ढुक्क साथ उसलाई सोधेँ।

औषधिमा डुलिरहेका आफ्ना नजरलाई टक्क रोकाई। दायाँ हातले सानो ब्यागबाट मोबाइल झिकेर, ‘साइड इफेक्ट्स अफ कन्ट्रासेप्टिभ पिल्स’ लेखिएको एउटा फोटोको स्क्रिनसट मलाई देखाई। जसमा आठ÷दस वटा  बुँदामा इकोनको धेरै प्रयोगले महिलाको शरीरमा देखिन सक्ने असरहरुको बारेमा लेखिएको थियो। म दंग परेँ। उ एक शब्द बोलिन। म निशब्द भएँ।

मनमनै  लाग्यो जानकार रहिछे मोरी। यतिका असरको बारेमा बुझेर पनि किन सेवन गर्नमा लागेकी रै‘छे। बजारमा गर्भ निरोधक र सुरक्षित यौन सम्पर्कका थुप्रै उपायहरू छन्। किन अन्य उपायहरुको प्रयोग नगरेकी होली ? यस्तै प्रश्न माथि प्रश्न मनमा जाग्न थाले। यसै बिचमा, ‘सबै जान्दा जान्दै किन आफ्नो स्वास्थ्य दाउमा लगाउनुहुन्छ ?’ विनम्र भएर मैले सोधेँ। ‘सबै सोचेका कुरा पुग्ने र जानेका कुरा गर्ने भए म यहाँ हुन्थेन र तपाईं त्यहाँ हुनुहुन्थेन होला, हैन र ?’ ब्यागमा मोबाइल राखिरहेको अवस्थामै मैले गरेको प्रश्नको ब्याजसहित मलाई प्रतिप्रश्न तेर्साई। मैले नाजवाफ भए। न हो भन्न सके न हैन नै भन्न सके।

काम भन्दा कुरा धेरै भने जस्तै भइरहेको थियो। उ पनि हतारिरहेको संकेत गर्दै थिई। मलाई पनि समयमै फार्मेसी बन्द गर्नुथ्यो। तर, दोधारमा थिए म। यति लामो कुराकानी भयो। रित्तो हात कसरी पठाउँ ? दुई चारवटा उ लिन मान्दिने। कि सबै कि पचास बढी उसलाई चाहिने। के गरौं ? के नगरौं ? म दोधारमा थिए। उसको प्रतिप्रश्नमा मैले कुनै प्रतिक्रिया जनाउन चाहिन। बरु कसरी अब यो झन्झटबाट मुक्ति पाइएला भनेर सोच्न थालेँ। उ चुपचापले मलाई हेरिरहेकी थिइ।  सायद मेरो प्रतिक्रियाको पर्खाइमा थिई। 

‘मिस म केही प्रश्न गर्न सक्छु ?’ शान्त माहोलमा मैले प्रस्ताव राखेँ। उसले आँखा झिम्काउँदै हरियो बत्ति बाली र हुन्छ भन्ने संकेत गरी। म उत्साहित भएजस्तो पनि लाग्यो। प्रश्न गर्नुपूर्व मैले उसलाई सिधै भनें, ‘सहि जवाफ मात्र दिनुहुन्छ त ?’ मुखको मास्कलाई तल सारी। लामो सास तानी। केही सहज भएको महसुस गरी। एकछिन केही सोची र उसले, ‘दिन्छु तर एउटा शर्त छ’ भनेर मलाई हेरी। मैले पनि हतार नगरी, ‘भन्नुस कस्तो शर्त हो’ भनेर नजिकैको बोत्तलको पानी पिए। 

फार्मेसीमा सम्झौता गर्न पो आएकी होकि ? जस्तो पनि लाग्यो शर्तका कुरा गर्न थालेपछि। ‘मान्नु हुन्छ त मेरो शर्त’ अलि नजिक आएर भन्न थाली। मैले पनि धेरै सोचिन र ‘हुन्छ मान्छु तर साँचो भन्नुपर्छ’ भनेर कुरा अगाडि बढाउन थालेँ। 
उ, ‘साँच्चै मान्नुहुन्छ त ?’ भनेर फेरि सोध्न थाली। मैले जवाफमा ‘अँ, मान्छु’ भनेर उसलाई विश्वास दिलाएँ। यतिकैमा हल्का हँसिलो मुहार पार्दै, ‘तपाईंले जे–जे सोध्नुहुन्छ म सरासर जवाफ दिन्छु तर तपाईंलाई सहि लागोस वा नलागोस मलाई पचास बढी इकोन चाहिँ दिनैपर्छ यहि हो मेरो शर्त।’ उ यति भनेर खुसीसाथ मज्जाले हाँस्न थाली।    

तत्कालै, ‘यो कस्तो शर्त हो ? यस्तो नि शर्त हुन्छ त ?’ मैले अलिकति उत्तेजित हुँदै भनेँ। जवाफमा, ‘शान्त रहनुस सर हान्त रहनुस। आशा छ तपाईं आफ्नो बचनमा पक्का हुनुहुन्छ।’ यति भनेर ढुक्क भएको भावमा उ मुसुक्क हाँसी। 
म सँग अब उसले जे बोले पनि उसको जवाफ सुन्नु बाहेक अरु विकल्प थिएन।  ‘आफूले खनेको खाल्डोमा आफै परिन्छ’ भन्ने सुनेको थिएँ साँच्चै म आफै उदाहरण बनेँ। ‘ल, बरु ढिलो नगरी सोध्नुस् आफ्ना जिज्ञासा’, उसले जिस्काएको जस्तो गर्दै भनी। सर्प पनि मरोस लाठी पनि नभाँचियोस भन्ने मेरो योजना फेल खायो। बरु अब प्रश्न चाहिँ, ‘के सोध्ने होला ?’ म सोच्न थालेँ।

अलिकति अगाडी सरें। उसको सामुन्ने बायाँपट्टी उभिएँ। उसको मुहारमा खुसी प्रस्टै झल्किरहेको थ्यो। ‘तपाईंको ब्वाईफ्रेण्ड छ ?’ पहिलो प्रश्न राखेँ। ‘हि हि हि...’ हाँस्दै बायाँ हातले मुख छोपी। शिर हल्का झुकाई। मलाई अचम्म लाग्यो उ हाँसेको देखेर। ‘म विवाहित हो सर’ उसले आफ्नो हाँसोलाई एकछिन रोकेर, हाँस्नुको कारण खोली। 

म झसङ्ग झस्किएँ। र, उ हाँस्नु पछाडिको रहस्य पनि प्रस्ट भयो। यतिका बेरसम्म यो प्रश्न सोधेको भए यति धेरै बहस हुँदै नहुने मनमा लाग्यो। उतिर हेर्दै, ‘यत्रो कुरा भयो। अघि नै भन्नुपर्छ नि’, मैले भनेँ। ‘तपाईंले पनि सोध्न सक्नुहुन्थ्यो नि’, उसले मलाई भनी। हुन त हो भन्ने स्वभावमा मैले टाउको हल्लाएँ। पहिलो प्रश्नको जवाफमा धेरै अरु प्रश्न जन्मिए। म निश्चित भएँ। अब एकदुई बाहेक धेरै प्रश्न सोध्नुहुन्न।

दोस्रो प्रश्नमा, ‘कहिले बाट यो बहत्तर घण्टे खाँन थाल्नुभएको ?’, भनेर मैले सोधेँ। उभिएर थाकी छे सायद नजिकैको कुर्सीमा थचक्क बसी र भनि ‘१६ वर्षकी थिएँ सायद पहिलो सम्भोगपछि ब्वाइफ्रेण्डले खुवाएको थियो। थाहा थिएन त्यो बेला यसको उपयोग। अन्जानमै खुवाएपछि खाइयो। आजभोलि जानेर आफैले खाइन्छ। बिहे भएको ९ वर्ष भइसक्यो। यति नै वर्ष भयो निरन्तर रुपमा खान थालेको भनेर नभनौं होला। मात्र यति बुझ्नुस धेरै नै भयो।’ उसको जवाफ सत्य वा असत्य के हो ? त्यो त उसैलाई थाहा होला। तर उसको जवाफ दिने बेलाको त्यो भावले केही गम्भीर इसारा दिइरहेको थियो। जुन मैले त्योबेला बुझ्न सकिन। 

‘तपाईंको बच्चा/बच्ची छैनन र ? अन्य, गर्भ निरोधक उपाए किन नअपनाउनु भएको ?’ हातमा एउटा इकोनको चक्की समाएर मैले उतिर हेर्दै सोधेँ। उसले मेरो हातबाट इकोन खोसी र त्यसको नाम पढेर भनि, ‘यहि आइपिल हो जुन मैले मेरो पहिलो सम्भोगपछि खाएकी थिएँ।’ अनि, म तिर हेर्दै खिस्स हाँसी। 

उ अघि सुरुवातमा भन्दा धेरै नै खुलीसकेकी थिइ। इसाराले जिस्किन थालिसकेकी थिइ। ‘केटालाई पहिलो प्रेम र केटीलाई पहिलो सेक्स जिन्दगीभर याद रहन्छ’ भन्थे, होकी क्या हो जस्तो लाग्यो मलाई। ‘स्याबास नौँ वर्ष पुरानो कुरा पनि याद रहेछ’, मैले उसलाई जिस्काउँदै भने। उसले आँखा झिमिक्क पारी र लजाएको संकेत दिई। अनि आफै, ‘अँ, साँच्ची अघिको प्रश्नको जवाफ दिनै भुलेछु। मेरो बच्चा÷बच्ची छैनन्।’ एक स्वासमा यति भनेर उ चुप भई। उसको मुहारको चमकता केही उडे जस्तो लाग्यो। उसको त्यो आधा जवाफ सुनेँ बाँकी भन्नुस भनेर अब मैले धेरै कर गर्न सकिन।

‘सर अब त दिनुस् होला है आधा घण्टा भन्दा बढी भइसक्यो म आएको पनि’, केही नम्र, शान्त अनि हतारिएको स्वरमा उसले मतिर हेर्दै भनी। ‘शर्त जितिसक्नुभयो। नदिएर सुख छैन। तपाईं भने ध्यान पुर्‍यानुहोला आफ्नो स्वास्थ्यको’, मैले उसको नजरमानजर जुधाउँदै उसलाई भनेँ। 

उसले पनि जवाफमा टाउको हल्लाई। म केही कदम पछाडि गए। इकोन राख्ने र्याक नजिक पुगेपछि ईकोनको तीन डिब्बा झिकेँ। अनि मजाले गन्न थालेँ। ‘सढ्चालिस, अढ्चालिस, उन्पचास, पचास’ उसको मुहारमा हेरेँ। 
मुसुक्क मुस्कुराई। केही बाँकी रह्यो। त्यो पनि गनेर सक्दा सन्ताउन्न पुग्यो। मैले केही ढिलो नगरी क्यालकूलेटरमा जम्मा यति भयो भनेर हिसाब देखाएँ। उसले पनि एक शब्द नबोलेर हिसाब भन्दा तीन सय बढी दिइ। मैले फिर्ता गर्न खोजेँ उसले, ‘पर्दैन यो तपाईं नै राख्नुस’, भनेर भनी। उसले जति गर्दा पनि फिर्ता लिन मानिन। मैले नि धेरै बल गरिन। 

घडी हेरें। आठ बजेर सात मिनेट भएको रहेछ। उसले पनि सबै इकोन डिब्बाबाट झिकेर आफ्नो ब्यागमा राखीसकेकी थिइ। ‘तपाईं कति बेला बन्द गर्नुहुन्छ ?’ उसले सोधी। जवाफमा, ‘गर्न त आठ बजे हो तर आज सात मिनेट बढी भएछ’, मैले भने। 

अलिकति हतार भए जस्तो गरी, ‘ए....होर, ल तेसो भए म पनि हेल्प गर्छु सटर बन्द गर्न हजुरलाई’, उसले मतिर हेर्दै भनी। मैले, ‘हैन पर्दैन’ भनेर उसको सहयोगको अनुरोध टार्न खोजे। उसले मानिन। अघि लिनुपर्ने पैंसा पनि जति गर्दा नि फिर्ता लगिन। अहिले पनि यस्तो भन्छे। म पक्का भएँ उ अलि जिद्दी स्वभाव कि रहिछे। ‘हुन्छ त तेसो भए’, भनेर कम्प्युटर अफ गरेँ। काउन्टर लक गरेँ। ‘लु निस्किम न त म्याम’, भनेर बत्ति अफ गरेँ। म मिसबाट म्याम सम्बोधन गर्न थालिसकेको थिएँ।

म बाहिर निस्केँ। उ साइडमा रोकिई। मैले बीचबाट सटर तान्दा उसले पनि सटरको साइडमा झुन्डेर ताने झैँ गर्दै मलाई सहयोग गरी। सहयोगको लागि ‘धेरै धन्यवाद’ मैले भनेँ। उसले मेरो धन्यवाद लाई नस्विकार्दै बरु उल्टै, ‘हजुर लाई धेरैधेरै धन्यवाद छ। मेरो आवश्यकता पूरा गरिदिनु भएकोमा’ भनेर खुसी व्यक्त गरी। अनि मैल पनि, ‘मैले गर्दा दुखित हुनुहुन्छ भने माफी चाहान्छु’, भनेर आफ्नो भाव प्रकट गरेँ।  

रिङ्ग रोडतिर बढी रहेका थिए हाम्रा कदमहरु। यतिकैमा मैले ‘कता बस्नुहुन्छ नि ?’,भनेर सोधेँ। ‘नजिकै हो सनराईज अपार्टमेन्ट छेउछाउ मै बस्छु, अनि हजुर नि ?’, उसले जवाफ र प्रश्न सँगै दिइ। 
‘ए ए....म चाँही एकान्तकुनातिर बस्छु’, मैले भनेँ। मेरो जवाफ सुनेपछि टाउको हल्लाई। ‘सर हजुरले त एउटा कुरा सोध्नै भुल्नु भए छ नि।’ उसले हिँडिरहेका पाइलालाई टक्क रोकेर मतिर हेर्दै भनी। 

‘हैन के कुरा सोध्न भुले छु?’ भनेर, म पनि रोकिए। उसले, ‘महत्त्वपूर्ण र खास कुरो त सोध्नै भुल्नु भएछ त ? भनी । ‘के कुरा होला त त्यस्तो खास’ भनेर म मुसुक्क हाँसे। उसले अलि गम्भीर मुडमा, ‘मेरो बुढोको बारेमा सोध्न भुल्नुभयो नि, तपाईं ?’,भनेर भनी। 

‘ए ! होत नि है साँच्चै लु भन्नुस भन्ने मन भए’, मैले भनेँ। ‘मेरो बुढो गल्फमा बस्नुहुन्छ, ५ वर्ष भयो। म पनि विगत ३ वर्षदेखि गल्फ मै बस्छु, तर अलग कन्ट्री हो।’ म रोकिनै सकिन, उ बोलिरहेकै बेला झ्याप्प सोधेँ, ‘अनि यो सब इकोन ?’ उ हाँसी, ‘रोक्नुस न एकछिन, किन हतार हजुरलाई।’ म चुप भएँ चुप हुनु बाहेक अरु विकल्प थिएन। 

‘म दुई महिनाअघि नेपाल आएकी हुँ। मेरी बुढी आमालाई भेट्न। उहाँ (श्रीमान) पनि आउने कुरा थियो। सायद कम्पनीले बिदा दिएन। उहाँ आउनु भएन। बिहे भएको ४ वर्ष बितिसक्दा पनि हाम्रो बच्चा भएन। उहाँ त्यतिकैमा गल्फ भाँसिनु भयो। सोचेको जस्तो नहुँदो रहेछ जिन्दगीमा। जतिसुकै आस्था र आत्मबल बोके पनि शरीरिकको आवश्यकताका अगाडि सबै  आस्था र विश्वासका पहाडहरु ढलीदिने रहेछन्। र, शारीरिक सुख नै एक अन्तिम लक्ष्य होकि जस्तो पनि लाग्ने रहेछ एक मोडमा पुगेपछि। अलिकति शारीरिक सुख प्राप्ति र जिविकोपार्जनका लागि निश्चित काम गर्दै ३ वर्ष बितेको पत्तो भएन परदेशमा।’ उ, मजाले भावनामा डुबेर गहिरो स्वासस तान्दै आफ्ना जीवनका भोगाइहरु साँटिरहेकी थिई।

तपाईले अघि मलाई सोध्नुभएको थियो अन्य उपायको बारेमा। ल सुन्नुस म भन्छु, ‘एउटा सन्तानलाई जन्म दिएर हुर्काउने आमा बन्ने ठूलो रहर छ मेरो। र, अर्को कुरा मलाई अक्सर साधन लगाएर सम्भोग गर्दा आनन्द महसुस पनि लाग्दैन। अनि श्रीमानसँग टाढिएको ५ वर्ष नै भइसक्यो।’ उ बाटोमा उभिएर कसैको प्रवाह नै नगरी एकोहोरो रुपमा आफुभित्र गुम्सिएका बेदनाका गाँठाहरु फुकाली रहेकीथिइ। 

मलाई पनि खै किन–किन सुन्न आनन्द लागिरहेको थियो। ‘आज मेरो अन्तिम बसाई हो नेपाल। भोलि फेरि उही गल्फ कन्ट्री नै जाँदैछु। अनि यो इकोन मैले केही मेरो साथीहरुले मगाएको भएकोले पनि लैजान आँटेकी हुँ। उता अलि महङ्गो पर्छ। जो नेपालबाट जान्छ उसँग मगाउँछन्। खाडीको गर्मीमा आफ्नो जवानी पगाल्ने बिचरी ती दिदीबहिनीहरुलाई अलिकति बचेको आफ्नो यौवनको उपभोग गर्न मन लाग्दो हो। एकछिनलाई जवानीको आनन्द लिन पनि कति गाह्रो, यसको सहारा लिनैपर्ने।’    

म उसैको कुरामा केन्द्रीत थिए। मेरो सम्पूर्ण ध्यान उसैमा थियो। ‘बरु हजुरलाई थाहा छ भने भन्नुस न सर...यो सबै इकोन लिँदै गर्दा यताको एअरपोर्टमा कतै अप्ठ्यारो त पर्ने हैन ? उता त खासै केही हुँदैन रे’, उसले मेरो एकाग्रतालाई अघि जस्तै तोडेर मलाई सोधी। 

मैले खै ! थाहा भएन मलाई, भनेर जवाफ दिए। उसले, ‘जे पर्छ त्यही टर्छ’ भनेर खिस्स हाँसी।  म हेरेको हेरेई भएँ। उसको आँट देखेर। र, अहिले उसले गरेका कुराहरु अघि कुरा गर्दै गर्दाको उसको भावसँग दाँज्न थालिरहेको थिए म। 
यतिकैमा ‘तपाईको नम्बर दिनुस न दिनमिल्छ भने, भोलि एअरपोर्टमा केही परिहाल्यो भनेँ, हजुरलाई कल गर्छु’, उसले मलाई अनुरोध गरी। मैले पनि नाईं भन्न सकिन। न म केही गर्न सक्थे। न मलाई जानकारी थियो। तर पनि उसको अनुरोधलाई नाईं भन्न सकिन। सरासर नम्बर भनें। उसले नम्बर मोबाइलमा टिप्दै गर्दा घडी पनि हेर्न भ्याई छे।

‘ओहो ! ९ बज्न थालेछ घरम आमा पर्खिराख्नु भएको होला। हजुरसँग कुरा गर्दागर्दै समय बितेको पत्तो नै भएन, भन्या’, उसले अतालिए जसरी मतिर हेर्दै भनी। मैले पनि एकछिन घडीतिर घोत्लिएर हेरेँ, ‘ए होत नि है’, भनेर उसलाई साथ दिदै टाउको माथि गरें। उ त पर पुगिसकेकी रहिछे। 

एक पटक पछाडि फर्की। बाई नभने पनि हात हल्लाएर बाइको इसारा गरी। एक शब्द बाई पनि भन्न सकिन बिचरीले मलाई यस्तो लाग्यो। रिङ्गरोडको एकछेउको लेन पार गरेर बीचको लेनमा हिन्दै थिइ। म पनि धेरै बेर उसलाई हेर्न नसकेपछि एकान्तकुनको बाटोतर्फ बिस्तारै मोडिएँ र अघि बढेँ।

बाटोमा हिड्दै गर्दा सुरुदेखि अन्तिम सम्मका उसँग गरेका कुराकानीहरु सम्झिएँ। उसले विदेशीएका नारीका बारेमा गरेका कुराले कता–कता मनमा चसक्क पनि भयो। यस्तो नि हुन्छ होला र ? भन्ने प्रश्न पनि आफूले आफैलाई गरें। उसको व्यक्तिगत जीवनको उतारचढाव सम्झिएँ। उसको आमा बन्ने रहर पनि सम्झिएँं। अरु दिन भन्दा आज मेरा पाइलाहरु बिस्तारै अघि बढिरहेका थिए। मनमा अनेक प्रश्नहरु अझै उब्जिरहेका थिए। 

७२ घण्टे किन्न आएकी सुन्दर हँसिली र अपरिचित मान्छेले केही दुःखका, केही आशाका, केही जीवन भोगाइका पलहरु साँटी अनि केही शारीरिक सन्तुष्टिका कुराहरु सुनाएर गई। ‘कस्तो नसोचेको कुरान नै भयो आज’ म यहि कुरा सोच्दै गर्दा नक्खु दोबाटो पुगेको थिए।

सायद, प्रोफेसनमा उ नै पहिलो र अन्तिम होली, जो इकोन किन्न आएर अपरिचित भए पनि साथी जस्तै बनेर आफ्ना जीवनका केही कुराहरु आफ्नै मान्छेलाई जसरी सुनाएर गई। यहि कुरा सोच्दै थिए। झट्ट दिमागमा एउटा कुराले, करेन्टले झैँ झड्का दियो। त्यो झड्कामा बल्ल याद आयो, म त उसको नाम सोध्न पो बिर्सिएछु, नत उसले नै सोधी मलाई।
यायावर जि  
 

कमेन्ट लोड गर्नुस