नगरपालिकाका उपलब्धि सार्वजनिक
बाजुरा बडिमालिका नगरपालिकाले १७ महीनाका १७ वटा उपलब्धि सार्वजनिक गरेको छ।
जनप्रतिनिधि निर्वाचित भएर काम शुरु गरेको १७ महीनासम्म गरेका १७ उपलब्धि सार्वजनिक गरेको नगरप्रमुख पदम बडुवाले जानकारी दिए।
सार्वजनिक गरिएको उपलब्धिमा मार्तडी बजार व्यवस्थापन, गौँडादेखि खुला मञ्च र डिभिजन वन कार्यालयदेखि जिल्ला अस्पतालसम्मको सडक विस्तार, मार्तडी बजारमा खानेपानी व्यवस्थापनका लागि विस्तृत योजना निर्माण, ई–बडिमालिका कार्यक्रमअन्तर्गत नौ वटै वडामा इन्टरनेट सुविधा, हरेक वडामा शहरी स्वाथ्य केन्द्र सञ्चालन, बडिमालिका पर्यटकीय पदमार्गअन्तर्गत मार्तडी–त्रिवेणी र कालाजग्रा पदमार्ग निर्माण शुरु गरेको रहेको छ।
त्यस्तै मार्तडी सरसफाइ गौरव यात्राअन्तर्गत सफा र स्वच्छ बडिमालिका सरसफाइ अभियान सञ्चालन, सबै वडा कार्यालयसम्म सडक सञ्जाल विस्तार, बृहत् बहुउद्देश्यीय मना कौर्ध सिँचाइकुलो निर्माण शुरु र वैकल्पिक ऊर्जा प्रवद्र्धनअन्तर्गत गोबर ग्यास कार्यक्रम सञ्चालनजस्ता कार्य गरिएको छ।
यसैगरी कृषकसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत भैँसीलाई सुत्केरी स्याहारभत्ता, अण्डा, कुखुरापालन, कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणमा सुधार, महिलासँग उपप्रमुख समाज सुधार अभियानअन्तर्गत वडा नं ३ लाई छाउपडी गोठमुक्त घोषणा गरिएको नगरपालिकाका उपप्रमखु कविता बिष्टले बताए।
यस्तै नगरको उपलब्धिमा बुढाकौर्ध मालिका केवलकार सम्भाव्यता अध्ययन, बडीमालिका रिङ्गरोड निर्माण कार्य प्रारम्भ, थुवाकाँधमा विश्वकै नमूना त्रिकोण पुलको सर्भे, मालिका मन्दिरमा एक हजार सिँढी निर्माण प्रारम्भ, शिक्षा क्षेत्रमा क्रान्तिकारी रुपान्तरणका लागि नगर शिक्षकको व्यवस्थालगायत रहेका छन्। रासस