सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको साइपालमा भाइरल ज्वरोका बिरामी बढ्दै, औषधी अभाव

२०८३ भदौ १७, ०४:५२ खबर संवाददाता

बझाङः बझाङको दुर्गम साइपाल गाउँपालिकामा साउनको अन्तिम सातादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ।

गाउँपालिकाको वडा नं. ३ का काया, बाँझचौका, चुझाड, लासी र माझलासीलगायत गाउँमा अधिकांश घरका सदस्य बिरामी परेको स्थानीय लिपक धामीले बताए। बिरामीमा ज्वरो आउने, खोकी लाग्ने, हातखुट्टा दुख्ने तथा शरीर कमजोर हुनेजस्ता लक्षण देखिएका छन्। स्थानीयका अनुसार वडा नं. ३ मा मात्रै ८० जनाभन्दा बढीमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको छ।

साइपाल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जयराज जोशीका अनुसार अहिले स्वास्थ्य संस्थामा दैनिक १५ देखि २० जना बिरामी उपचारका लागि आउने गरेका छन्। वडा नं. १ र २ मा देखिएको भाइरल ज्वरो नियन्त्रणउन्मुख रहे पनि वडा नं. ३ मा भने बिरामीको सङ्ख्या बढिरहेको उनले बताए।

एकैपटक ठुलो सङ्ख्यामा बिरामी बढेपछि स्वास्थ्य संस्थामा आवश्यक औषधीको अभाव देखिएको छ। विशेषगरी सिटामोल, इन्जेक्सन तथा एन्टिबायोटिकलगायत औषधी पर्याप्त नहुँदा उपचारमा समस्या भएको स्थानीयको गुनासो छ।

स्वास्थ्य शाखा प्रमुख जोशीका अनुसार आवश्यक पर्ने करिब १० प्रकारका औषधी आपूर्तिको प्रक्रिया अघि बढाइएको छ। धनगढीबाट औषधी प्राप्त भएपछि थप स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए। 

दुर्गम भौगोलिक क्षेत्र भएकाले औषधी तथा स्वास्थ्य सामग्री ढुवानीमा समय लाग्ने गरेको गाउँपालिका अध्यक्ष मानविर बोहराले बताए। बिरामीको सङ्ख्या बढ्दै गएकाले तत्काल आवश्यक औषधी तथा स्वास्थ्य सामग्री व्यवस्थापनका लागि पहल भइरहेको स्वास्थ्य शाखाले जनाएको छ।

स्थानीयवासीले भने बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीमा सङ्क्रमण फैलिन सक्ने भन्दै गाउँमा स्वास्थ्यकर्मी परिचालन गरी बिरामीको परीक्षण, निगरानी तथा रोकथामका उपाय प्रभावकारी बनाउन माग गरेका छन्।

कमेन्ट लोड गर्नुस