सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलास्थित महाकाली नदीमाथि निर्मित पक्की पुल शीघ्र सञ्चालन ल्याइने

२०८३ भदौ १७, ०५:३९ खबर संवाददाता

दार्चुला: दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुल शीघ्र सञ्चालन ल्याउने सहमति भएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लामा सोमबार भएको नेपाल–भारत समन्वय समिति बैठकमा निर्माण सम्पन्न पुललाई शीघ्र सञ्चालनमा ल्याउने विषयमा दुवै देशका अधिकारीबिच सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए।  

उनले भने, “पुल सञ्चालन गर्नुअघि आवश्यक पर्ने पूर्वाधार निर्माण गरी नेपाल–भारत  पक्की पुल सञ्चालनमा ल्याउन केन्द्र सरकारलाई दुवैपक्षले बैठकमा भएका सहमतिको जानकारी गराउने निर्णय पनि भएको छ ।” दुई देश जोड्ने पक्की पुलको निर्माण सम्पन्न भएको छ ।

पुल सञ्चालनपूर्व आवश्यक पर्ने संरचना निर्माण गर्न भने बाँकी रहेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ । पुल निर्माणको पूर्ण रूपमा सम्पन्न भई दुवैतर्फको मुख्य सडकसमेत निर्माण भइसकेको पुल निर्माणमा संलग्न भारतीय निर्माण कम्पनीका सबइन्जिनियर हेम पाण्डेले जानकारी दिए। यहाँका स्थानीयले पक्की पुल छिटो सञ्चालन गर्न माग गरेका छन् । 

सबइन्जिनियर पाण्डेका अनुसार अब पुलको दुवैतर्फ साइनबोर्ड राख्ने काम मात्रै बाँकी रहेको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी पौडेलले पुल सञ्चालनका लागि भन्सार कार्यालय र सुरक्षाकर्मीका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि जग्गा प्राप्तिको काम सम्पन्न भइसकेको बताए।

भन्सार कार्यालय निर्माणका लागि दार्चुला भन्सार कार्यालयबाट माथिल्लो निकायमा लेखिपठाइएको उनले बताए। नेपाल सरकार र भारत सरकारको सहमतिमा दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारतको धार्चुला तहसिल अन्तर्गत पर्ने छारछुम क्षेत्रमा ११० मिटर लम्बाइको दुई लेनको पक्की पुल निर्माण गरिएको छ । 

यहाँको व्यापार, पर्यटन क्षेत्रलाई माथि उकास्न पक्की पुल छिटो सञ्चालनमा आउनुपर्ने स्थानीयको माग छ । दार्चुलाका प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले पुल शीघ्र सञ्चालनका लागि आवश्यक पहल गरिरहेको बताए।  

आर्थिक वर्ष २०७९/८० को असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले पुलको संयुक्त रूपमा शिलान्यास गरेका थिए। पुलनजिक नेपालतर्फ सरकारी कार्यालय भन्सार, क्वारेन्टाइन, सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने संरचना निर्माण गर्न बाँकी छ ।

पुलको निर्माण भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाबले गरेको थियो ।  यो पुल निर्माणले दुई देशबिचको व्यापारिक, पर्यटकीय र सांस्कृतिक पक्षमा महìवपूर्ण टेवा पुग्ने दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेशसिंह थापाले बताए।  

सीमानाका खुला रहने समय थपियो  

सीमा क्षेत्रका नागरिकको मागलाई सम्बोधन गर्दै सीमानाका खुला रहने समयमा परिमार्जन गरिएको छ । नयाँ सहमति अनुसार अबदेखि सीमानाका गर्मीयाममा बिहान छ बजेदेखि बेलुका ७ बजेसम्म र हिउँदको समयमा बिहान छ बजेदेखि बेलुका छ बजेसम्म खुला राखिने भएको छ । 

यसले चाडपर्व, धार्मिक तथा सांस्कृतिक कार्यक्रम र विशेष परिस्थितिमा नागरिकको वैध र परम्परागत आवागमनलाई थप सहज बनाउने छ । सुरक्षा र साझा चुनौतीका सन्दर्भमा सीमाक्षेत्रमा हुने अवैध गतिविधि, तस्करी, लागुऔषध ओसारपसार, मानव बेचबिखन तथा अन्य सीमा अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबिच नियमित सूचना आदानप्रदान र समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय बैठकले गरेको छ ।    

कमेन्ट लोड गर्नुस