सरकारी जागिरबाट राजीनामा दिएर गायक
धनगढी: गायक नवराज कलौनीले वि.स. २०६९ सालदेखि संगीतको कक्षा लिन सुरु गरे। २०७३ सालमा आएर ‘मन ढुङ्गो’ गीत रेकर्ड गरे। पछिल्लो समयमा उनले एकदर्जन भन्दा बढी गीतहरु रेकर्ड गरिसकेका छन् र स्रोता दर्शकको मन जित्न सफल भएका छन्।
औपचारिक शिक्षा एमएसम्म अध्ययन गरेका उनले केही समय सरकारी जागिर समेत गरेका थिए। तर अहिले भने पुरै ध्यान संगीत क्षेत्रमा लगाउने भनेर जागिरबाट राजीनामा गरिसकेका छन्। उनको बचपनको सपना पनि संगीत क्षेत्रतिर नै भविष्य बनाउने भन्ने थियो।
अहिले जसरी स्रोता दर्शकहरुले माया गरिरहेका छन् यो पाउला भन्ने लागेको थियो ? भनेर प्रश्न गर्दा उनी भन्छन्, ‘मलाई चाहिँ विश्वास थियो। त्यसैले सबैकुरा छोडेर पनि यो क्षेत्रमा छु।’ केही सन्देशमलक हँुदै यसमै उनी थप्छन् ‘सबैमा यो हुनुपर्छ। आत्मविश्वास म भित्र थियो। यसैले श्रोताहरुले रुचाउने किसिमका सृजना ल्याउने कोशिस गरेरहेको हुन्छु। र माया पाइरहेको पनि छु।’
पछिल्लो समय खुब चर्चामा रहेको ‘घुम्तीमा रेल’ भन्ने उनको आधुनिक गीत हो। जसमा उनले सुदूरपश्चिमको लबज राखेको पाइन्छ। यसरी लबज राख्दा पहिलो कुरा त कामले नयाँपन पाउने र अर्को यहाँको संस्कृतिक पहिचान देखिने उनको बुझाइ छ। सँगै नयाँपनको कोसिस गरिरहँदा आफूलाई पनि खुसी महशुस भइरहेको कलौनी बताउँछन्।
एउटा सर्जकको लागि प्रविधि बढी चुनौतीको रुपमा रहेको छ कि अवसरको रुपमा भन्ने प्रश्नमा उनी भन्छन् ‘यसलाई कसरी लिने भन्ने हो। यदि तपाईसँग प्रतिभा हुँदाहुँदै पनि मिडियामैत्री हुनुहुन्न भने पक्कै पनि चुनौती छ।’ उनी यसमै थप्छन्, ‘पूरानो तरिकाले एरेन्जिङ गरेर हुने स्थिति पनि छैन। अहिले धेरै महङ्गो छ। अनलाइन मार्केटिङ धेरै आवश्यक छ। यहीँ चुनौती हुन् र यसलाई बुझ्न सकियो भने यही नै अवसर पनि।’
(कार्यक्रम प्रभात विमर्शको नियमित श्रृंखलामा गायक कलौनीसँग दिनेश खबरकर्मी पदमराज जोशीले गरेको कुराकानीमा आधारित।)