संस्कृत भाषाको अध्ययनमा जुटौं
संस्कृत दक्षिण एशियाको प्राचीन भाषा हो।भारोपेली भाषा परिवारको जननी भाषा पनि संस्कृत नै हो।अहिले विश्वमा संस्कृत भाषा बोल्नेको जनसंख्या नगण्य भए पनि यो भाषाको महत्व र गरिमा कम भएको छैन। संस्कृत भाषा र यो भाषामा रचना गरिएका धर्मग्रन्थ,साहित्य,दर्शन आदिको मौलिकता र प्राचिनता माथी शंका गर्ने ठाउँ नै छैन भन्नेमा सबैजसो विद्वान एकमत हुन्छ्न होला।संस्कृत भाषालाई हिन्दुहरुले "देव भाषा" अथवा देवताहरुले सम्बाद गर्ने भाषा हो भनेर विश्वास गर्दछ्न।संस्कृत पूर्वीय साहित्य,धर्म,दर्शन र ज्ञानलाई लिपिवद्ध बनाउन प्रयोगमा आएको पहिलो भाषा हो भन्नेमा सबैजसो विद्वान एकमत देखिन्छ्न।संस्कृत भाषा वैदिक भाषा हो। हिन्दु धर्म बाहेक बौद्ध,जैन र सिख धर्मका महत्वपूर्ण धर्म ग्रन्थहरु संस्कृत भाषामा लेखिएका छ्न। मेरो यो लेखको उद्देश्य संस्कृत किन पढ्न आवश्यक छ भनेर अवगत गराउनु हुने छ। यो अनुसन्धानमुलक लेख भने होइन। नेपालमा संस्कृत भाषाको अध्ययनमा सहजता र सर्वसुलभता ल्याउनुको सट्टा संस्कृत शिक्षामा पूर्ण प्रतिवन्ध लगाउने गलत कार्य भए गरेको हामी सबैले देखेका छौँ।विद्यालय तहको कक्षा चार देखि कक्षा सातसम्म अनिवार्य गरिएको संस्कृत शिक्षा राजनीतिक दवावका कारण सरकारलाई हटाउन बाध्य पारियो।फलस्वरूप संस्कृत भाषा र त्यो भाषामा लेखिएका पूर्वीय धर्म,दर्शन,कला साहित्य हाम्रा लागि बिस्तारै एकादेशको कथा जस्तै बन्दै गैराखेको छ।
संस्कृतलाई पाठ्यक्रमबाट हटाउनु ठिक थियो भन्नेहरुले अनेकन तर्क दिन सक्नु होला तर संस्कृतको सरलता र सत्यता अनि त्यो भाषामा लिपिवद्ध हजारौं पुस्तकमा समेटिएको अथाह ज्ञानको भण्डारलाई यी बनिबनाउ तर्कहरुले ओझेलमा पार्न सकिन्न। मलाई के लाग्दछ भने संस्कृतबाट बिमुख बनाएर हामीलाई पश्चिमा ज्ञान,विज्ञान,कला,साहित्य र सिर्जनाको पिछ्लग्गु र उपभोक्ता बनाउने षड्यन्त्रको साथ संस्कृत शिक्षामा प्रहार गरिएको हो।संस्कृत भाषा केवल कर्मकाण्ड गर्नेहरुको मात्रै होइन।पूजा पाठ गर्ने अनि सत्यनारायणको कथा वाचन गर्नेले मात्रै संस्कृत भाषा सिक्ने या जान्ने अरुले सिक्नु र पढ्नुको उपादेयता नै छैन भन्नु मूर्खता हो। संस्कृत भाषा गहन,सरल,सरस,ओजस्वी भाषा हो भन्ने विद्वानहरुको मत रहेको पाइन्छ।यस्तो प्राचीन र सरल भाषालाई चन्दन टीका लगाएर धोती र कुर्तामा हिड्ने अनि अशुद्ध मन्त्र उच्चारण गर्ने बाहुन बाजेको मात्रै भाषा हो भनेर हामीले ठान्नु अनि यो भाषाको अध्ययन नै छोड्नु हाम्रो ठूलो कमजोरी हो भन्ने मेरो बुझाइ रहेको छ। कार्मकाण्ड गर्नेले अशुद्ध मन्त्र उच्चारण गर्दै गर्ने अनि अरु सबैले यो भाषाको उपेक्षा गर्ने हो भने एक समय यस्तो आउने छ, संस्कृत भाषा सिकाउन अनि हाम्रो पूर्वीय साहित्य,कला,दर्शन,सङ्गीत,ध्वनि विज्ञान लगायतको ज्ञान हासिल गर्न हामीले पश्चिमा विद्वान र विश्वविद्यालयको भर पर्नु पर्ने स्थिती आउने निश्चित छ।
आजको दिनसम्म पश्चिमले जेजति बैज्ञानिक र भौतिक चमत्कार गरेको छ त्यसको जग भनेको हाम्रो पूर्वीय ज्ञान नै हो। हामीले संस्कृत अध्ययन छोडी सकेका छौँ। थोरै संस्कृत पाठशाला बाहेक हाम्रोमा संस्कृतको पढाई बिद्यालय तहमा हुँदैन। नेपाल संस्कृत विश्वविद्यालयमा केही सयले संस्कृत अध्ययन गरिराखेका छ्न।त्यो सानो संख्या पनि संस्कृत पढि सके पछि के गर्ने भनेर अन्यौलमा छ होला। धेरै मान्छेको तर्क हुन सक्छ,संस्कृत पढेर कुनै भविष्य नै छैन। रोजगारी पाउने पर्याप्त आधार संस्कृतले दिन सक्दैन। अनि हाम्रा करिअर काउन्सेलरहरुले पनि संस्कृत पढदा प्राप्त हुने अवसर बारे केही जानकारी नै राख्दैनन्। संस्कृत पढेको ब्यक्तिलाई स्वरोजगार हुन तथा रोजगारी प्राप्त गर्न समेत निकै सजिलो छ। नेपाली भाषा पढाउन संस्कृत पढेको ब्यक्तिले दखल राख्दछ। संस्कृतमा उच्च शिक्षा हासिल गरेको ब्यक्तिले स्वदेशी र विदेशी बिद्यालय,विश्वविद्यालयमा अध्यापन गराउने अवसर सहजै प्राप्त गर्न सक्दछ्न। त्यसैगरी नेपाली सेनामा समेत संस्कृत पढेको ब्यक्तिलाई सहजै जागिर मिल्ने गर्दछ।ज्योतिषको अध्ययन गरेको ब्यक्तिले त झन रोजगारीको लागि कहि दगुर्नु नै पर्दैन।
संस्कृतको अनुपम ज्ञान छ भने हामी राम्रो साहित्यकार, कवि र आयुर्वेदको प्रयोग कर्ता बन्नसक्दछौ।पुरातत्व तथा शिलालेख अनि ताम्रपत्र आदिको सहजै अध्ययन गर्न सक्दछौ। यति मात्रै होइन संस्कृतको ज्ञानले हामी समग्र पुर्वीय धर्मशास्त्र,कला, साहित्य, र दर्शनको अनुपम सौन्दर्यता र गाम्भिर्यताको अनुभव र अनुभुति गर्ने अवसर प्राप्त गर्न सफल हुन्छौं। संस्कृत भाषामा हजारौं पुस्तखरु लेखिएका छ्न, ती पुस्तकहरु मध्ये ९५% पुस्तकहरुको हिन्दु धर्मसङ्ग कुनै लिनुदिनु नै छैन भन्ने संस्कृतका विद्वानहरुको भनाइ रहेको छ। संस्कृतका विद्वानहरुले "संस्कृतमा विज्ञान छ तर विज्ञानमा संस्कृत छैन" भन्ने मत राख्दछ्न। अत: पूर्वीय धर्म,दर्शन,कला, साहित्य,वास्तुशास्त्र,विधिशास्त्र,न्यायशास्त्र,ब्याकरण,ध्वनी विज्ञान आयुर्वेद चिकित्सा र शल्यचिकित्सा,सङ्गीत र आयुध बिज्ञान लगायतका बिधाहरुको गहन र मिहिन अध्ययन र अनुसन्धान गर्न सहज वातावरण बनाइ हाम्रो मौलिक ज्ञान र विज्ञानको विश्वस्तरिय फैलावटका लागि समेत संस्कृत भाषा र शिक्षाको पढाइ विद्यालय तहबाट नै गर्नु अवश्यक देखिन्छ। पूर्वीय दर्शन,साहित्य कला र ज्ञानको विश्वव्यापी बिस्तारका लागि हमीले संस्कृतमा लेखिएका धार्मिक र साहित्यिक ग्रन्थमा महारथ प्राप्त गर्नु आवश्यक छ। तसर्थ आजैबाट औपचारिक, अनौपचारिक जसरी सम्भव हुन्छ संस्कृत भाषा,वाङ्मय,साहित्य,दर्शन र ग्रन्थको अध्ययन र अध्यापनमा जुटौं।