धनगढीका साँघुरो सडकमा गुड्छन् ६ हजार अटो रिक्सा, अझै दर्ता हुँदै
धनगढी: सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीका सडकहरुमा अटाउनै नसक्ने संख्यामा अटो तथा ई–रिक्सा सञ्चालन हुँदा आवागमनमा सास्ती बढेको छ। ३ पाङ्ग्रे सवारीका रुपमा सञ्चालन हुँदै आएका रिक्साले धनगढीका सडकहरु दैनिक खचाखच भरिएका हुन्छन्। धनगढी उपमहानगरपालिका र प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयमा ११ हजार चार सय ५४ रिक्सा दर्ता भएका छन्।
तीमध्ये अधिकांश रिक्सा धनगढीका सडकमा सञ्चालन हुँदै आएका छन्। विद्युती रिक्साको भिडभाडका कारण सडक जाम हुँदा आवतजावतमा सास्ती भइरहेको स्थानीय रामकृष्ण चौधरी बताउँछन्। ‘गाडीहरु मात्रै धेरै भइहाले जसले समय समयमा जाम भइरहेको हुन्छ’ उनले भने।
सडकमै नअटाउने संख्यामा रिक्सा भएपनि दर्ताको काम अझै जारी छ। धनगढी उपमहानगरपालिकाले नयाँ दर्ताको प्रक्रिया बन्द गरे पनि यातायातमा दर्ता हुने क्रम रोकिएको छैन। रुट परमिटसमेत नभएका रिक्सा धनगढीका मुख्य सडकमा सञ्चालन हुँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहराले बताए। विद्युतीय रिक्सा सञ्चालनको कुनै मापदण्डसमेत नभएको बताउँदै उनले भने, ‘यहाँ ११ सयको संख्यामा अटोहरु हुनुपर्ने हो तर अहिले धनगढीमा मात्रै ६ हजार बढी अटोहरु छन्। बजारभरी अटो मात्रै छन् यसले गर्दा ट्राफिकलाई पनि चुनौतिको विषय बनेको छ।’
यातायात कार्यालयमा दर्ता भएका रिक्सा प्रदेशका अन्य जिल्लामा समेत सञ्चालन हुँदै आएका यातायात कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले बताए। तर अन्य जिल्ला वा स्थानीय तहमा कतिको संख्यामा रिक्सा सञ्चालनमा छन् त्यसको कुनै तथ्यांक नै छैन। आ–आफ्नो क्षेत्रभित्र पर्ने स्थानीय तहहरुले निश्चत मापदण्ड तोकिदिए कार्यालयले पनि कार्यान्वयन गर्ने र सोही अनुसार सञ्चालन गर्ने उनले बताए।
विद्युतीय रिक्सा व्यवस्थापनको मुद्दा उपमहानगरपालिकालाई भने टाउको दुखाइको विषय बनेको छ। तर व्यवस्थापनमा कुनै पहल भएको छैन। उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले सो विषयमा पटक–पटक विवाद हुँदै आएको बताएका छन्। ‘आवश्यकता भन्दा बढी अटो दर्ता भइसकेकन छन्। यसले धेरै पटक विवाद पनि भएको छ,’ उनले भने, ‘अन्य ठाउँमा दर्ता भएका अटोहरु पनि धनगढीमै आएर सञ्चालन हुन्छन्। त्यसले गर्दा अप्ठ्यारो भएको छ।’
सो समस्या समाधान गर्न सम्बन्धित पालिकालाई नै पठाउने निर्णय भए पनि सो निर्णय मन्त्रिस्तरिय निर्णयले बदर गर्दा झन समस्या भएको उनले बताए। ‘एकचोटी रुट बनाउने प्रक्रियामा गयौँ तर कोरोना संक्रमणको माहामारीका कारण रोकियो’ उनले भने, ‘पछिल्लो समय शहीदगेट–क्याम्पस चोक लगायतका अन्य सडक मर्मतको कार्य भइरहेकाले रुट बनाउन समस्या भइरहेको छ।’
के होला विकल्प ?
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहराका अनुसार अटो रिक्सा व्यवस्थापनका लागि नयाँ दर्ता बन्द गर्नुपर्ने देखिन्छ। दर्ता भएका पुराना रिक्साहरुको निश्चित मापदण्ड तोकेर सञ्चालन गर्ने नीति बनाइनुपर्ने उनको भनाई छ। यस्तै रुट तोकिनुपर्ने वा मुख्य सडकमा जोरविजोर प्रणाली अनुसार सञ्चालन गर्ने गरी उपमहानगरपालिकाले नीति बनाउनुपर्ने उनले बताए।