सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एकल महिलाको जग्गा हड्पेर उल्टै प्रहरीमा थुनाइयो

२०८१ पुष १४, ०६:५६ नारायण अवस्थी

धनगढीः कैलालीमा जग्गा हड्पेर उल्टै एकल महिलालाई प्रहरीमा थुन्ने काम भएको छ। धनगढी उपमहानगरपालिका–८ मा एक एकल महिलाको जग्गा हड्पेर उल्टै उनलाई नै थुन्ने काम भएको हो।

धनगढी–८ की सुनिता विक रानाले जानकी चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा थुनाएकी हुन्। जानकीको धनगढी–१५ कनरीमा रहेको पाँच कट्ठा जग्गा किनेर साढे ९ लाख अहिलेसम्म नदिएकी सुनिताले जानकीको ७ धुर जग्गा हड्पेकी हुन्। जालझेल गरेर जग्गा हत्याएकी सुनिताले प्रहरी लगाएर ८ दिनअघि जानकीलाई प्रहरी हिरासतमा पठाएकी हुन्।
पाँच कट्ठाको पैसा नदिएरै थप सात धुर कब्जा
धनगढी उपमहानगरपालिका–१५ कनरीको पाँच कट्ठा जग्गा दुई लाखमा हत्याएकी सुनिता विक रानाले धनगढी–८ को थप सात धुर जग्गा हड्पेर जग्गा धनी जानकी चौधरीलाई थुनाएकी छन्। एकल महिला चौधरीबाट २०७५ मा कनरीको पाँच कट्ठा जग्गा साढे एघार लाखमा किन्न कागज गरेकी सुनिताले केबल दुई लाख मात्रै दिएर जग्गा हत्याएकी हुन्। बयानावापत् दिएको दुई लाखबाहेक सुनिताले थप रकम नदिएरै जग्गा जोतभोग गरिरहेकी छन्।

जानकीलाई सुनिताले साढे ९ लाख दिएकी छैनन्। पाँच कट्ठा जग्गाको पैसा नदिएकी सुनिताले जानकीको धनगढी–८ मा रहेको ७ धुर जग्गा समेत हत्याएकी हुन्। जसको जग्गा हत्यायो उसैलाई अभद्र व्यवहार गरेको मुद्दा लगाएर सुनिताले थुनाएकी छन्।

प्रहरीमा जानकी चौधरीले अभद्र व्यवहार गरेको मुद्दा आएकाले थुनेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले बताए। ‘प्रहरीमा अभद्र व्यवहार गरेको उजुरी परेपछि जानकी चौधरीलाई थुनिएको हो, ‘उनले भने, ’मुद्दा अनुसन्धानमा रहेकाले थप कुरा भन्न मिलेन।’
‘घरजग्गा भाडामा लिएर हत्याइयो’
जानकी चौधरीका ससुरा पञ्चराम चौधरीले एकल भएका कारण कच्ची घर बनाएर धनगढी–८ को सात धुर जग्गा जानकीको अंश भनेर छुट्याएका थिए। लुगा सिलाउने काम गर्ने पञ्चराम महेन्द्रनगर गएपछि उक्त जग्गा र घर सुनिता विक रानालाई भाडामा दिएका थिए। तर, भाडामा दिएको घर भत्काएर नयाँ पक्की घर लगाउन खोज्दा जानकीले रोक्न लगाएकी थिइन्। भाडामा दिएको घर आफ्नो भनेर हत्याउने प्रयास भएको जानकीका आफन्तले बताएका छन्।

जग्गाको विषयमा जानकी र सुनिताबिच विवाद रहेको र छलफलका लागि वडा कार्यालय आउने क्रममा सुनिताले जानकीलाई थुनाएको वडाअध्यक्ष जुगाराम चौधरीले बताए। उनले भने, ‘जानकीले जग्गा बेचेको होइन भन्ने सुनिताले किनेको हुँ भन्दै आएका छन्। जग्गाको विषयमा छलफल गर्न दुबै जनालाई वडा कार्यालय बोलाएकोमा सुनिताले जानकीलाई थुन्न लगाएको कुरा थाहा भएको छ।’
अदालतबाट मुद्दा जितेको सुनिताको दाबी
सुनिताले भने जानकीबाट ७ धुर जग्गा र त्यसमा बनेको घर आफूले किनेको दाबी गरेकी छन्। उनले कुन मितिमा कति रकम हालेर घर र जग्गा किनेको भन्ने यथार्थ भने खुलाएकी छैनन्। पाँच कट्ठा जग्गाको साढे ९ लाख नदिएकी सुनिताले अदालतबाट ७ धुर जग्गा भोगचलन गर्ने मुद्दा जितेको दाबी गरेकी छन्। अदालतकै फैसला अनुसार जानकीलाई प्रहरी लगाएर थुन्न लगाएको सुनिता विक रानाले बताएकी छन्।

‘मलाई विभिन्न समयमा जानकीले टर्चर दिन थालेपछि प्रहरी लगाएर थुन्न लगाएकी हुँ,’ उनले भनिन्, ‘जग्गा मैले किनेकी हुँ र अदालतबाट पनि मेरो पक्षमा फैसला भएको छ। मैलै अदालतको कानुन अनुसार जानकीलाई थुनाएकी हुँ।’ सुनिताले एकल महिला भएकै कारण जानकीलाई दुःख दिएको आफन्तले बताएका छन्। पाँच कट्ठा जग्गा हड्पेर बजार नजिकको थप ७ धुर जग्गा सुनिताले हत्याएको र प्रहरी सो कार्यको मतियार भएको जानकीका आफन्तको गुनासो छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस