...अनि धनगढीमै ट्याटू खोपेर लाखौं कमाउन थाले सागर
धनगढीः ढाई वर्ष विदेशमा दु:ख गरेका धनगढीका सागर निरौला अहिले आफ्नै ठाउँमा फर्किएर व्यवसाय गर्दैछन्। २०१३ मा उनी रोजगारीका लागि मलेशिया गएका थिए। उनी १८ घण्टासम्म आगोको रापमा उभिएर मेशिनको काम गर्थे। विदेशमा दुःख गरेर नेपाल फर्केका उनी अहिले ट्याटू व्यवसायबाट मालामाल बनेका छन्। उनले धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगरमा ट्याटू पसल खोलेका छन्। सोही पसलबाट उनी अहिले डेढ लाख बढी मासिक आम्दानी गरिरहेका छन्।
विदेशमा धेरै दुःख पाएको उनी सुनाउँछन्। ‘ढाई वर्ष मलेशिया बसियो। न समयमा खाना न परिवारलाई समय समयमा फोन सम्पर्क गर्न सकिन्थ्यो,’ तितो अनुभव सुनाउँदै उनले भने, ‘काममा थोरै ढिला भए पनि तलब काटिन्थ्यो। १७/१८ घण्टा पेलिएर काम गर्नुपर्ने त्यसमा पनि मालिकको किचिकिच सुन्नुपर्ने।’
मलेशियाबाट फर्केर फेरि रोजगारीको लागि भारत गएको उनी बताउँछन्। ‘घरमा आर्थिक समस्या थियो। मलेशियाकै जस्तो काम ब्याङ्गलोरमा पनि छ, सजिलो काम छ भनेर सुनेपछि त्यहाँ गए। केही महिना काम गरे तर तलबमा चित्त बुझेको थिएन। त्यहि पनि केही समय गरिरहे’ उनले भने।
त्यहाँ उनको जीवनले नयाँ मोड लियो। एकदिन साथीसँग उनी ट्याटू खोप्न उनी एक ट्याटू पसलमा गए। त्यहाँ गएर उनले ट्याटू पनि खोपे। त्यहाँको काम देखिसकेपछि सागरलाई पनि ट्याटू खोप्न सिक्ने इच्छा जाग्यो। साथीसँग कुरा गरेर उनले सोही पसलमा काम सिके। ६ महिना जति बसेर उनले उक्त पसलमा ट्याटू बनाउन सिकेका थिए। ‘सानैदेखि मलाई चित्र बनाउन राम्रो लाग्थ्यो। विद्यालय जाँदा धेरै चित्रहरु बनाउँथे। चित्र कोर्थे त्यसैले मैले यसमा सम्भावना देखे’ उनले भने।
ब्याङ्गलोरमा ट्याटू खोप्न सिकेपछि उनले स्वदेशमै सोही कार्य गर्ने योजना बनाए। तर यहाँको समाजमा त्यो स्विकार्य छ वा छैन भन्नेमा पनि उनी चिन्तित थिए। धनगढीमा नभए काठमाडौँ गएर भए पनि व्यवसाय सञ्चालन गर्ने सागरले योजना बनाए। तर उनलाई आफ्नै ठाउँमा सो कार्य गर्न इच्छा थियो। उनले भने, ‘यताका मान्छेले ट्याटूबारे गलत बुझेका थिए। यो व्यवसाय यता चल्ला कि नचल्ला जस्तो पनि लाग्थ्यो। तर आफ्नै ठाउँमा गरौँ भन्ने सोच थियो। केही परिवर्तन गर्ने अठोटले यतै ट्याटू पसल खोले’
सुरुमा उनले परिवारबाट पनि सहयोग पाएका थिएनन्। ‘ट्याटू व्यवसायलाई नराम्रो नजले हेर्ने भएकाले घरबाट पनि स्विकिर्ति दिएनन्। विदेश जाने पैसा कमाउने भनेर भन्थे। ट्याटू व्यवसाय राम्रो नचले, भनेकै ठाउँ गएर जागिर गर्ने भन्दै आमा बुवासँग एक वर्षको समय मागेँ’ सागरले भने, ‘ट्याटूबारे सकारात्मक कुराहरु सम्झाईबुझाई गरेर बल्ल पसल खोल्ने अनुमति पाए।’
ट्याटु खोप्नु नराम्रो नभएको उनी बताउँछन्। ‘कस्तो मान्छेले ट्याटू खोप्छ भन्ने कुराले प्रभाव पर्छ। गलत मान्छेले गलत तरिकाले ट्याटू खोप्दा सो व्यवसाय बदनामित हुने गरेको छ’ उनी भन्छन्, ‘पहिले ट्याटूलाई हाम्रो समाजमा नराम्रो नजरले हेर्ने गरिन्थ्यो तर पछिल्लो समय यसलाई सबैले सकारात्मक रुपमा हेर्छन्।’
धनगढीमा धेरै ट्याटु व्यवसायी नरहेको तथा कतिपयले दर्ता नै नगरी व्यवसाय सञ्चालन गरिरहेको सागर बताउँछन्। ट्याटू व्यवसाय दर्ता गर्दा लामो समय लागेको बताउँदै उनले भने, ‘पसल दर्ता गर्न जाँदा त्यहाँ ट्याटूको बारेमा धेरै सोधियो। यो व्यवसाय दर्ता गर्न मिल्छ कि मिल्दैन भनेर बुझेर दर्ता गर्न भनिएपछि केही दिन प्रतिक्षा गरेको थिए।’ धेरै दिनपछि मात्रै ‘रोयल क्राउन ट्याटूज’ नामक पसल दर्ता भएको उनी बताउँछन्।
प्रायजसो ग्राहक आफ्नो कथा तथा विगतको यादगार चिनो वा पे्रमी प्रेमिकाको चिनो, आमाबुवाको नाम लेख्ने र भगवानप्रति आस्था राख्नेले भगवानको फोटो बनाउन आफ्नो पसलमा आउने गरेको सागर बताउँछन्। बढीजसो युवाहरु आफ्ना ग्राहक भएको उनले बताए। पछिल्लो समय इञ्जिनियर, डाक्टर लगायत जागिर गर्ने व्यक्ती पनि आउने गरेको उनले सुनाए।
ट्याटूको रंग विदेशबाटै बनेर आउने सागर निरौला बताउँछन्। ट्याटूको रंग मेडिकल ल्याबमै बनेर आउने हुँदा त्यसले शरिरमा कुनै असर नगर्ने उनी दाबी गर्छन्।
१५ सयदेखि ४५ हजारसम्मकाे ट्याटू
आफुले १५ सय रुपैयाँदेखि ४५ हजार मूल्य सम्मको ट्याटु खोप्ने गरेको उनले बताए। सामान्य ट्याटू खोप्न ३ घण्टा जति लाग्ने गरेको उनी बताउँछन्। यस्तै ठूलो ट्याटु खोप्न कम्तीमा पनि १३÷१४ घण्टा लाग्ने सागरले बताए। हालसम्म ट्याटू व्यवसाबाट महिनामा डेढ लाख बढी आम्दानी हुने गरेको उनी बताउँछन्। उनी वर्षमा ३ हजार कर पनि तिर्छन्।
इच्छा भए आफ्नै ठाउँमा धेरै सम्भावना रहेको बताउँदै उनले युवाहरुलाई व्यवसाय गरेर मनग्य आम्दानी गर्न सुझाव दिएका छन्।