सुदूर नेपाललाई विश्वसँग जोड्दै

घाईतेको उपचारमा समस्या : सम्पूर्ण खर्च ब्यहोर्ने घोषणा गरेको प्रदेश सरकार र नेताहरु खोई ?

सम्पत्ति बेच्दै परिवारका सदस्य

२०७५ मंसिर १०, ०३:०४ नवराज पनेरु

उग्रतारा मेला हेरेर फर्किने क्रममा डडेल्धुरा बस दुर्घटनामा घाईते भएकाहरुको उपचारमा आर्थिक समस्या देखिएको छ। गत म‌सिर ६ गते भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए। घाईतेहरुलाई विभिन्न अस्पतालमा पुगेर भेट्दै प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले घाईतेको उपचार प्रदेश सरकारले गर्ने घोषणा गरेका थिए भने विभिन्न दलका नेताहरुले पनि घाईतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यक्तिगत रुपमा ब्यहोर्ने घोषणा गरेका थिए। तर विभिन्न अस्पतालमा उपचार गराईरहेका घाईतेहरु उपचारका लागि सहयोगको याचना गरिरहेका छन्। 

मुख्यमन्त्री भट्टले डडेल्धुराको रडुवाखोलामा भएको बस दुर्घटनाका घाईतेको सम्पूर्ण उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले व्यहोर्ने घोषणा गरेका थिए। घाईतेलाई भेटन शुक्रवार विहानै सेती अञ्चल अस्पताल र माया मेट्रो अस्पताल पुगेका मुख्यमन्त्री भट्टले उपचार खर्च सरकारले व्यहोर्ने बताउदै उपचारमा कुनै कमी नगर्न पनि चिकित्सकलाई निर्देशन दिएका थिए। मुख्यमन्त्री भट्टसगै घाईतेलाई भेटन सामाजिक विकाश मन्त्री कृष्णराज सुवेदी र भौतिक पूर्वाधार विकाश मन्त्री पठान सिह बोहरा पनि पुगेका थिए। तर अहिले सेती अञ्चल अस्पतालमा उपचार गराईरहेका घाईते सहयोगको याचना गरिरहेका छन्। सोही दुर्घटनामा श्रीमान गुमाएकी र आफू पनि गम्भीर घाइते भएकी डोटी तल्लीसातकी हरिना बोहरा र संगीता बिकको उपचारमा आर्थिक समस्या देखिएको छ। अस्पतालका ईमर्जेन्सी वार्डका ईन्चार्ज कृष्ण बोहराले दुवैको आर्थिक अबस्था निकै नाजुक भएकोले सहयोगका लागि सामाजिक सन्जाल फेसवुकबाटै आह्वान गरेका छन्। विकको उपचारमा समस्या भएपछि उनकी भाउजुले गहना विक्री गरेकी छिन्। 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम पुर्व भौतीक पुर्वाधार तथा यातायात मन्त्री विरबहादुर बलायरले पनि डडेल्धुरा बस दुर्घटनामा परी काठमाडौमा उपचार गराईरहेका घाइतेको सम्पुर्ण उपचार खर्च ब्यक्तीगत रुपमा आफुले ब्यहार्ने घोषणा गरे। तर डडेल्धुरा बस दुर्घटनाका घाइते भएका नवीन बिकको उपचारका लागि सहयोगको याचना गरिएको छ। उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको छ भने छातिको करङ समेत भाँचिएको छ। उनी अहिले अर्धचेत अवस्थामा छट्पटाइरहेका छन्। बालकका बुबाले अर्को विवाह गरिसकेकाछन् भने अभिभावको रुपमा रहेकी आमाको मृत्यु भएपछि नवीन बेसाहारा भएका छन्।

बस दुर्घटनामा घाईते भएर काठमाडौ पुगाईएकाहरुलाई रक्त व्यवस्थापनमा पनि चुनौती रहेको डोटेली समाज काठमाडौँका अध्यक्ष जगदिश केसीले बताए। डोटेली समाज काठमाडौंले रक्त व्यवस्थापनसंगै घाईतेहरुको उपचारमा पनि सहयोग गरिरहेको छ। इस्तै घाईतेहरुलाई पुर्व मन्त्री लेखराज भट्ट, प्रतिनिधि सभा सदस्य प्रेम आलेमगर पनि पटक–पटक भेट्न गएका छन्। तर घाईतेको उपचारका लागि भने सहयोगको याचना हुने क्रम जारी छ। नेता र सुदूरपश्चिम सरकारले सस्तो लोकप्रियताको लागि उपचार खर्च ब्यहोर्ने घोषणा गरेको त होईन भन्ने आशंका पनि बढेको छ।
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस