सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘धर्म निरपेक्षता कसैको दबाबमा नेताहरुले संविधानमा लेखेको विषय हो’

२०७८ साउन २७, ०३:५० खबर संवाददाता

धनगढी: साहित्यकार, महकाव्यकार ज्यो मनिराज जोशीसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम राज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 

सामाजिक सञ्जालमा एउटा सन्देश प्रेषित गर्नुभएको थियो धर्मको सम्बन्धमा । २०७८ को जनगणनामा हिन्दु धर्मभित्रको एउटा समुदाय, परम्परालाई छुट्टै धर्मकोे कोलममा राखिएको र यसले हिन्दु धर्म कमजोर बन्छ भन्ने किसिमको आशय राख्नुभएको रहेछ । यसले कसरी तपाईले भने जस्तो धर्मलाई कसरी कमजोर बनाउँछ ? 
नेपालमा गणतन्त्रको नाममा जसरी विकृति विसंगति आयो। नेपाली जनताको आंकाक्षाका विरुद्द यो देश नै समाप्त गर्ने विभिन्न अभियानहरु जसरी चलिरहेका छन्, त्यस मध्येकै यो पनि एउटा हो। जब धर्म संस्कृतिलाई आक्रमण गरिन्छ भित्र–भित्रकै मानिसलाई लडाइन्छ तब उनीहरुको आफ्नो अभियान सफल हुन्छ। गलत व्याख्या गरेर, फुट ल्याएर यस्ता अभियान चलाइन्छ, चलिरहेका छन्। 

लोकतन्त्र भनेको सम्पूर्ण लोकको इच्छा अनुसार शासन चल्नुपर्ने हो तर यहाँ गणतन्त्रको नाममा हिन्दु धर्मलाई हटाएर धर्म निरपेक्षता ल्याइयो। यसले आम मानिसलाई चोट पुर्याएको छ। अहिलेको जनगणनामा पनि हिन्दु धर्म मान्ने जनसंख्या कम छ है भन्ने बनाउन। र, हिन्दु धर्मको परम्परालाई धर्मको नाम दिएर अलग धर्म बनाएर पश्चिमी संस्कृतलाई हावी गराउन लागि परेको अभियान सफल बनाउनका लागि नै जनगणनाको कोलममा थप नयाँ धर्मको कोलम बनाइएको हो।

कुनै पनि विवाद नरहेको मुद्दालाई, जनताले कहिल्यै नउठाएको मुद्दा, कसैको प्रेसरमा रहेका नेताहरुले संविधानमा लेखिएको विषय हो धर्म निरपेक्षता। यसलाई स्थापित गर्न नेताहरु लागेका छन्। नत्र खोई त जनमत संग्रह गरेको ? लोकतन्त्रको सहि व्याख्या विश्लेषण खोई ?  नेताले भनेको मात्रै हुने के लोकतन्त्र यही हो? 

धर्म संस्कार जोगाउने, मान्ने सवालमा तपाईंको पुस्ता र अहिलेको पुस्तामा कतिको फरक देख्नुहुन्छ ?
अहिलेको पुस्ताले धर्म मान्न खोजिरहेको छैन। धेरैले भनिरहेका छन्। म कहाँ पनि बुहारी मान्दैनन्, छोराछोरी मान्दैनन् भनेर आउने गर्छन्। म के भन्छु भने छोराछोरीको दोष होइन। दोष हामी अभिभावकको हो। तपाईं हामीले त्यो संस्कार नै दिन सकेनौं। त्यो संस्कार दिनुपर्यो नि पहिलो कुरा त।

जुन क्लास तपाईं उसलाई दिनुहुन्छ त्यहँ मात्रै उसले बुझेको हुन्छ। उनीहरुलाई अंग्रेजी मात्रै सिकायौँ। अंग्रेजीलाई प्रतिष्ठाको विषय बनायौं। जस्तो, बर्थडे बनायौ। जन्मदिन त हाम्रोमा पनि पहिल्यैदेखि मनाइन्थ्यो। जसलाई हामी वर्ष वृद्धि भन्थ्यौ। कसरी मनाउने भनेर एउटा विधि नै छ तर कसरी बनाउने भन्ने बारेमा पण्डितहरुलाई समेत थाहा छैन। बत्ती बाल्ने हाम्रो परम्परामा अब बत्ती निभाउने किसिमको बनाइयो।  पण्डितहरुले पनि दिनभरी दर्शन छाड्ने र बेलुका त्यसै पश्चिमा संस्कारलाई स्वीकार गरेको पाइन्छ। पहिला यस्तो थिएन धर्म संस्कृतिलाई महत्वका साथ हेरिन्थ्यो। नियममा मान्छे बस्थे।

तपाईंको बिचारमा अब के गर्नुपर्छ लाग्छ आम नागरिकले ?
यो कुरा बुझ्नुपर्छ कि यिनिहरुको चलखेलमा हामी पर्यौ भने स्थिति खराब बन्न सक्छ। धर्मको कोलममा हिन्दुहरुले हिन्दु बाहेक अरु कुनैमा हेर्नुहुन्न। मष्टो कतैबाट लिएर आएका देउता होइन्न। हिन्दु धर्म भित्रकै देउता हुन अहिले आएका हुन र ? होइन। धर्म निरपेक्ष भनेर लेखिनु धर्म माथि यसरी प्रहार हुनु यी सबै कुरामा अब साजिसको रुपमा यसलाई पनि ल्याइएको हो र यो सम्पूर्णले बुझ्नुपर्छ। 

उहाँहरुलाई भन्छु मष्टो त उहाँहरुको देउता हो नि कसले मानेको छैन। मष्टो देउता हो उपासना गर्छौ, पुजा गर्छौ र मस्टोले हाम्रो मनोआकांक्षा पूरा गर्छ।  सबैको विश्वास हो तर मष्टो कसरी धर्म हुन सक्छ ? मष्टो मात्रै पुजेका छैनौ धेरै अरु देउता पनि पुज्छौ अब। पुजेका जति देउता जति सबैलाई धर्मको रुपमा लिने र फेरि प्रकृति धर्म पनि यही हो। हामी सबै प्रकृतिको पुजक हो। हिन्दु धर्म प्रकृतिको पुजक हो भने अब छुट्टै धर्मको रुपमा कसरी राख्न मिल्छ।  

यो यिनिहरुले यो फिजाएको भ्रम हो यसमा न पर्न आग्रह गर्छु। र, सारमा भन्दा सबै नागरिकले सचेत बन्नुपर्छ।

कमेन्ट लोड गर्नुस