सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘हामीले जागिर खोज्ने होइन जागिर निर्माण गर्ने हाे'

२०७८ साउन २६, ०४:१४ खबर संवाददाता

धनगढी : नेपाल वेस्टर्न म्यानेजमेन्ट एन्ड इन्जिनियरिङ कलेज धनगढीका अध्यक्ष शैलेश सिंहसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 

तपाईंको व्यक्तित्वको सवालबाट विमर्श सुरु गरौं । शैक्षिक क्षेत्रसँग जोडिएको कति भयो ?
८ कक्षासम्मको पढाई बझाङको दुर्गा भवानी माविमा गरेको थिए र पछि एसएलसी पञ्चोदय मावि धनगढीबाट उत्तीर्ण गरे। प्रविणता तह मैले ऐश्वर्य बहुमुखी क्याम्पस धनगढीबाट गरे। र, काठमाडौं गएपछि पोखरा विश्वविद्यालय अन्तर्गत बीबीए र एमबीएको अध्ययन गरेको हुँ।

एमबीए सक्किने बित्तिकै मैले नबिल बैंकबाट आफ्नो बैंकिङ यात्रा सुरु गरे र पछि मेगा बैंकमा समेत काम गरे।  सुदूरपश्चिममा एउटा गतिलो इन्स्टिच्युटको आवश्यकता छ भन्ने कुरा काम गर्ने समयमा लाग्न थालिसकेको थियो। अनि बैंकसँग अनुमति लिएर ११/१२ वर्ष पहिला  जागीरलाई र  स्टार प्रालिलाई एक साथ अगाडि बढाएको थिए। यसरी नै शिक्षाको क्षेत्रमा प्रवेश भएको थियो।

व्यावसायिक रुपमा अगाडि बढ्न उत्प्रेरित चाहिँ कसरी हुनुभयो ? 
हामी गरिब देशमा छौँ। गरिब देशको पनि गरिब क्षेत्रमा। अझै तुलनात्मक रुपमा धनगढी भन्दा बझाङ केही पछाडि नै छ। त्यो ठाउँमा मेरो जन्म भयो। मलाई सुरुदेखि नै के चाहिँ थियो भने हामीले जागिर खोज्ने होइन जागिर निर्माण गर्ने हो। देशले पनि जागिर दिने भन्दा पनि जागीर बनाउने किसिमको वातावरण दिनुपर्छ भन्ने लाग्थ्यो। फेरि जागिर गर्यो भने एउटा कार्यालयलाई त योगदान दिन सकिएला तर प्रत्यक्ष रुपमा समाजलाई भने दिन सकिँदैन। उत्प्रेरित हुनको लागि यही सोचले काम गर्‍याे। 

व्यावसायिक रुपमा अगाडि बढ्न खोज्दा परिवारको सहयोग कस्तो रह्यो ?
मैले विवाह गरेको एक महिनादेखि नै भन्न थालिसकेको थिए कि म अब जागिर छोड्छु। तर यसमा परिवार थोरै हिचकिचायो। सुरुमा मैले आफ्नो श्रीमतीलाई कन्भेन्स गर्नु थियो अनि परिवारलाई सम्झाउन सजिलो हुन्थ्यो। त्यही गरे पनि। मलाई परिवारमा आमाबुवा र श्रीमतीलाई मनाउन गर्न २ वर्ष जति लाग्यो। समाजलाई त अझै पनि मनाउनमै छु। हेरौं कहिलेसम्म सकिन्छ। 

तपाईंहरुले सञ्चालनमा ल्याएको कलेजलाई नै विद्यार्थीले किन रोज्ने ?
हामी विद्यार्थीलाई जतिको सैद्धान्तिक ज्ञानको विषयमा जानकारी दिन्छौं त्यति नै व्यवहारिक ज्ञान पनि प्रदान गर्छौ। फेरि प्रयोगात्मक लागि सुविधा सम्पन्न होटेल र ठाउँहरु सँग समन्वय गरेका छौं।  बिजनेस स्कुल भएकोले भोलि परिक्षामा कतिको नम्बर ल्यायो भन्ने कुराले सबै कुरा निर्धारण गर्दैन। अरु कुरा पनि आवश्यक पर्छन् जुन हामी प्रदान गर्छौ। फेरि पोखरा विश्वविद्यालयले हामी मात्रै होइनौं सबै कलेजको व्यवस्थापन समितिलाई यति धेरै अधिकार दिएको छ कि अरुमा सायदै होला। 

विद्यार्थीले नियमित उपस्थिति लगायतको कुरामा कलेजले निगरानी राख्छ र निर्णय गर्न सक्छ। यसले हाम्रो विद्यार्थीको स्थिति के रहन्छ, उसलाई कतिको क्षमतावान बनाउन सकिन्छ भन्ने प्रयास हामीगर्छौ। त्यसैले यो कलेज रोज्नु पर्छ भन्छु।

कमेन्ट लोड गर्नुस