सुन्तलाको उत्पादन घट्दै
महाकाली नगरपालिका ६ निशिलका रणबहादुर बमको पाँच वर्ष अघिसम्म खेतभरी सयाै सुन्तलाका बोटहरु थिए। सयौ कुण्डल सुन्तला खलंगा बजारमा ल्याएर बिक्री गर्थे बम। सुन्तलाबाट ३-४ लाख रुपैयाँ एक मौसममा कमाई हुन्थ्यो। तर अहिले आएर सुन्तलाको उत्पादन घट्दै गएको छ। खेतभरी झण्ड–झण्डै ५०/६० बोट मात्रै सुन्तलाका छन्, बमका। चिसोयाम शुरु भएसंगै दार्चुला जिल्ला सदरमुकाम खलंगामा मौसमी सुन्तलाको व्यापार बढेको छ। तर विगतको तुलनामा सुन्तला निकै कम बजारमा आउने गरेको छ।
सुन्तला उत्पादनको हिसाबले पकेट क्षेत्र रहेको धाप निशिलबाटै सुन्तला उत्पादन कम आउन थालेको छ, सुन्तला व्यापारी अंगबीरसिह कार्कीले भनिन्। एउटै ठाउँको सुन्तला धेरै आउने हो, तर यस पटक निकै कम छ। बजारमा माग अनुसार सुन्तला पुर्याउन सकिएको छैन्। जसको कारण दुहुँ गाउँपालिकाको ब्रह्मदेव, पिपलचौरीलगायतका क्षेत्रबाट सुन्तला मगाएर विक्री गर्नुपरेको छ। महाकाली नगरपालिका ६ धाप निसिलमा झण्डै ४० देखि ५० परिवारले व्यवसायिक रुपमा सुन्तला उत्पालन गर्ने गरेका छन्। यहाँका स्थानीयको घटिमा १० देखि अहिले ५०/६० बोट सुन्तलाका छन्। सुन्तला विक्रीबाट प्रति परिवार हजारौ रुपैयाँ दैनिक आम्दानी हुने गरेको छ। बर्षौदेखी राम्रो सुन्तला उत्पादन हुने क्षेत्रमा किराको संक्रमणले रोग लाग्न थालेपछि सुन्तला उत्पादन घट्दै गएको स्थानीय गणेशबहादुर पालले बताए। मेहनत अनुसारको फल पाइन छोडेपछि सुन्तला उत्पादक कृषक चिन्तामा छन्। सुन्तलामा नयाँ–नयाँ रोग देखा पर्दैछन्, सुन्तला उत्पादक कृषक पालले भने। बाजेको पालामा लगाइएका सुन्तलाका बोट जस्ताको त्यस्तै छ, अहिले पछिल्लो समय लगाइएका सुन्तलाका बोटहरुमा रोग लाग्दै गएको छ। उनले भने।
बर्षभरी खेतमा उत्पादन भएको खाद्यान्न खाएर अन्य पारिवारिक खर्च सुन्तला बिक्री गरेर चलाउँदै आएका निसिलबासीले सुन्तला उत्पादन आधाभन्दा बढीले घटेपछि चिन्ता बढेको बताउन थालेका छन्। विगतमा लाखौ रुपैयाँ सिजनमा आम्दानी हुन्थ्यो पालले भने, अहिले मुस्किले ५० हजार हुन्छ उनले भने। अहिले सुन्तला बजारमा प्रतिगोटा १० रुपैयाँदेखि १५ रुपैयाँसम्ममा विक्री हुने गरेको छ। अहिलेको सुन्तलालाई वेमौसमी बनाउन सके २० देखि २५ रुपैयाँ प्रतिगोटामा सजिलै विक्री हुनेगरेको उहाँ सुनाउनुहुन्छ।
जिल्लाको सबैभन्दा राम्रो सुन्तला निशिलको मानिन्छ। ठूलो दाना र मिठो हुने भएपछि अधिकांशले निशिलको सुन्तला माग गर्ने गरेका छन्। हरेक दिन बिहान निशिलका स्थानीय सुन्तला डोकामा ल्याएर सदरमुकाम खलंगा र भारतीय बजार धारचुलामा विक्री गर्ने गरेका छन्।सदरमुकाम ल्याएर औसतमा व्यापारीहरुसंग प्रतिडोका एक हजार पाँच सय रुपैयाँ देखि दुई हजार रुपैयासम्ममा सुन्तला बिक्री हुने गरेको छ। लामो समयसम्म सुन्तला राख्न नसकिने भएको कारण व्यापारी र किसानहरुलाई सुन्तला जोगाउन समस्या भइरहेको छ । सुन्तला बेमौसमी समयमासमेत बिक्रीगर्न चिस्यान केन्द्र नहुँदा अहिले सस्तो मूल्यमै सुन्तला बिक्री गर्नुपरेको पाल बताए। अहिले निशिलबाटै दैनिक २०-३० जना सुन्तला उत्पादक किसान बजारमा सुन्तला बिक्री गर्न आउने गरेका छन्। कात्तिक–मंसिर र अन्तिम पुष भित्रै सबै सुन्तला बिक्री गरिसक्नुपर्ने किसानको बाध्यता छ। सुन्तला उत्पादक कृषकहरुले सुन्तलाको बोटमा लाग्ने रोगकिराको निदान गर्न नसक्दा रुख सुक्ने र फल झर्ने समस्याबाट पीडित बनेका छन्। पटक–पटक किसानले चिस्यान केन्द्रको माग गरेपनि पहल हुन नसकेको उनीहरु बताउँछन्। महाकाली नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष चक्रसिह बोहरा भने यस वर्ष सुन्तला पटके क्षेत्रको लागि बजेट विनियोजन गरेको बताए। उनले भने, २०-२५ लाख रुपैयाँ सुन्तला चिस्यान केन्द्र, पकेट क्षेत्र विस्तारको लागि विनियोजन गरिएको छ। मौसम परिवर्तनको कारण सुन्तला माथिल्लो भेगमा सर्दै गएको छ।