स्वअभ्यासले अगाडी बढेको शैलुको सांगीतिक यात्रा
अन्तराष्ट्रिय रियालिटी शो ‘द भ्वाइस’ को नेपाली संस्करण सुरु भएपछि धेरै चलेका र चार्चाको शिखरमै पुगिसकेका गायक, गायीकाले पनि सहभागिता जनाए। त्यो भिडमा एउटा पनि गित बजारमा नल्याएका गायक गायीकाको सङख्या भने निकै कम थियो। तिनै मध्येकी एक हुन, धनगढी उप–महानगरपालिका वडा नम्वर १ शिवनगरीकी शैलेश्वरी (शैलु) सिंह। उनले न संगीत सिकेकी छिन् न त आफ्नै स्वरमा सजिएको गीत नै बजारमा ल्याएकी छिन्। तर स्वअभ्यासले अगाडी बढ्दै गएको शैलुको गायनीको अहिले देशभरी नै चर्चा चुलिएको छ। उनी अहिले ‘द भ्वाइस अफ नेपाल’ को ‘उत्कृष्ठ २४’ मा पुग्न सफल भएकी छन्। दर्शकस्रोताको भोटिङका आधारमा उनी ‘उत्कृष्ठ २४’ मा पुग्न सफल भएकी हुन्।
शैलुको पुख्र्यौली घर बझाङको छबीस पाथीभेरा गाउँपालिका वडा नम्वर ४ श्रीमातोला हो। स्थायी बसोबास धनगढी भएपनि उनी अहिले अध्ययनका क्रममा काठमाडौंमामा छिन्। कानुनमा स्नातक गरिरहेकी शैलुमा गीत गाउने कला ‘द भ्वाइस अफ नेपाल’ सुरु हुनु भन्दा पहिले सम्म एउटा कोठामै खुम्चिएको थियो। उनमा गायन कला छ भन्ने थाह परिवारलाई पनि थियो तर कानुनको विद्यार्थीलाई गायीका बनाउने लक्ष्य हुने त कुरै भएन। शैलुका बुवा जनक वहादुर सिंह, संगीत नसिकेरै छोरीले ठुलो सफलता पाएपछि अचम्मित थिए। शैलुको बुवा सिंह जिल्ला कारागार कैलालीमा लेखाापाल पदमा कार्यरत छन्।
शैलुले अहिले सम्म ‘द भ्वाइस अफ नेपाल’ का विभिन्न चरणमा गीत गाउँदा उनको गायकीको निकै चर्चा भएको छ। उनका कोच सनुप पौडेल मात्रै होईन अन्य कोचहरु प्रमोद खरेल, दिप श्रेष्ठ, अभयाले पनि उनको गायनीको चर्चा गरेका छन्। शैलुले ब्लाईन्ड अडिसनमै सुरुमा घर धनगढी र त्यसपछि काडमाडौँ र अर्को पटक बझाङ भनेपछि विवाद पनि भयो। धेरैले सुदूरपश्चिममा घर भएको भन्न पनि शैलुले हिचकिचाएको आरोप लगाए। तर शैलुले आफ्नो पुख्र्यौली घर बझाङ र अहिलेको स्थायी बसोवास धनगढीकै नै भएको बताईन्। उनले कोचले घर कता भनेर सोध्दा धनगढी नै भनेको तर कोचले ‘अहिले कुन ठाउँबाट आएको’ भनेर सोध्दा काठमाडौ भनेको बताईन्। उनले जन्मथलो सुदूरपश्चिमका लागि माया कहिल्यै नघट्ने बताउदै ‘द भ्वाइस अफ नेपाल’ मा यात्रा अगाडी बढाउन सुदूरपश्चिमवासीको सहयोग अपरिहार्य रहेको बताईन्।