सहिद भीमदत्त पन्तको घरलाई प्लाष्टिकको घुम्टो !
डडेल्धुराः किसान नेता सहिद भीमदत्त पन्तको घरमाथि प्लाष्टिकको घुम्टो हालिएको छ। अमरगढी नगरपालिका–२ कारिगाउँमा रहेको घर जीर्ण बन्दै गएको समाचार प्रकाशित भएपछि ठेकेदारले घरमाथि प्लाष्टिकको घुम्टो हालेको हुन्।
आइतबार ठेकेदार पक्षका मान्छे आएर पन्तको घरमाथि प्लाष्टिक राखेको स्थानीय आशिष पन्तले बताए। कारीगाउँलाई आदर्श बस्तीको रूपमा विकास गर्ने भन्दै पन्तको घर पुनः निर्माणका लागि अमरगढी नगरपालिकाले तारिदत्त पनेरुलाई ठेक्का दिएको थियो।
तर, ठेकेदारले घरको छानो हटाएर नयाँ छानो नराख्दा घर जोखिमपूर्ण बन्दै गएको थियो। वर्षातको समयमा घरको छत नहुँदा घरको अवस्था दयनिय बन्दै गएको थियो भने घर नै भत्किने अवस्थामा पुगेको थियो। छतमा प्लाष्टिक राख्दा घर केही मात्रामा सुरक्षित हुने भएपनि त्यो दीर्घकालिन उपाय नभएको स्थानीय बताउँछन्।
अमरगढी नगरपालिकाले भीमदत्त जन्मेको कारीगाउँलाई आदर्श बस्तीको रूपमा विकास गर्न गत भदौंदेखि काम सुरु गरेको थियो। संघीय सरकारको पर्यटन पूर्वाधार विकास आयोजनामार्फत ७२ लाख रुपैयाँको लागतमा उक्त कार्यको प्रारम्भ गरिएको थियो।
ठेकेदारले लापरवाही गरेको कारण भीमदत्त आदर्श बस्तीको काम अगाडि बढ्न नसकेको अमरगढी नगरपालिका–२ का वडाअध्यक्ष मनोरथ खडायत बताए। समयमै काम नसकिने भएपछि वडाले नगरपालिकालाई निवेदन गरेर ठेक्काको म्याद थप्न अनुरोध गरेको बताए।