सुदूर नेपाललाई विश्वसँग जोड्दै

किसान नेता पन्तलाई ‘गिज्याउँदै’ भीमदत्त आदर्श बस्ती, मेयर ओझाको त्यो असार मसान्त

तस्वीर: आशिष पन्त 
तस्वीर: आशिष पन्त 
२०७८ असार २६, ०१:५८ खबर संवाददाता

शेर भण्डारी, डडेल्धुरा: किसान नेता सहिद भीमदत्त पन्तको जन्मथलो अमरगढी नगरपालिका–२ कारिगाउँमा रहेको घर जिर्ण बन्दै गएको छ। कारीगाउँलाई आदर्श बस्तीको रूपमा विकास गर्ने भन्दै पन्तको घर पुनः निर्माणका लागि अमरगढी नगरपालिकाले तारिदत्त पनेरुलाई ठेक्का दिएको थियो। तर, ठेकेदारले घरको छानो हटाएर नयाँ छानो नराख्दा घर जोखिमपूर्ण बन्दै गएको छ। 

वर्षातको समयमा घरको छत नहुँदा घरको अवस्था दयनिय बनेको स्थानीयको आरोप छ। अमरगढी नगरपालिकाले भीमदत्त जन्मेको कारीगाउँलाई आदर्श बस्तीको रूपमा विकास गर्न गत भदौंदेखि काम सुरु गरेको थियो। 

संघीय सरकारको पर्यटन पूर्वाधार विकास आयोजनामार्फत ७२ लाख रुपैयाँको लागतमा उक्त कार्यको प्रारम्भ गरिएको थियो। तर, सहिद पन्तको जीर्ण बनेको घरलाई पुनः निर्माण गर्ने काम सुरु भएको भएपनि नगरपालिका र ठेकेदारको चरम लापरबाहीका कारण घरको अवस्था झनै नाजुक भएको स्थानीयको आरोप छ। 

वर्षातको समयमा पानी पर्दै जाँदा घरको अवस्था जोखिमपूर्ण बन्दै गएको स्थानीय आशिष पन्त बताउँछन्। अमरगढी नगरपालिकाको चरम लापरवाहीले घर जिर्ण भएको उनको आरोप छ। ठेकेदारले लापरवाही गरेको कारण भीमदत्त आदर्श बस्तीको काम अगाडि बढ्न नसकेको अमरगढी नगरपालिका–२ का वडाअध्यक्ष मनोरथ खडायत बताए। 

समयमै काम नसकिने भएपछि वडाले नगरपालिकालाई निवेदन गरेर ठेक्काको म्याद थप्न अनुरोध गरेको बताए। ‘ठेकेदारलाई पटक–पटक भन्दा पनि वास्ता गरेको छैन्। कहिले ढुवानी गर्ने मान्छे नपाएको त कहिले अनेक बहाना गरेर आलटाल गर्न खोजेको छ,’ उनले भने, ‘ठेकदारको लापरवाहीका कारण घर समेत जिर्ण अवस्थामा पुगेको छ

नगरप्रमुखको आश्वासन मात्रै, ७ वर्षदेखि बनेन प्रवेशद्वार
किसान सहिद पन्तको जन्मथलो जाने प्रवेशद्वार आर्थिक अभावले अधुरै रहेको करिव ७ वर्ष पुगिसकेको छ। प्रवेशद्वार निर्माण गर्ने अमरगढी नगरप्रमुख विशेश्वरप्रसाद ओझाले पटक–पटक आश्वासन दिइरहेका छन्। तर, निर्माण भएको छैन। 

पन्तको जन्मथलो डडेल्धुराको अमरगढी नगरपालिका–२ कारीगाउँ जाने मुख्य प्रवेशद्धारको निर्माण कार्य ७ वर्षदेखि अलपत्र परेको हो। सहिद पन्तको जन्मथलो कारीगाउँमा आर्थिक वर्ष २०६९/७० देखि सहिद भीमदत्त स्मृति प्रतिष्ठानले सो प्रवेशद्धार निर्माणको काम सुरु गरेको हो। तर, अहिले प्रवेशद्धार निर्माणको काम अलपत्र परेको छ।

नेपाल पर्यटन बोर्डको २ लाख, अमरगढी नगरपालिकाको १ लाख सहयोग र सहिद भीमदत्त स्मृति प्रतिष्ठानको ५० हजार गरी जम्मा ३ लाख ५० हजारको लागतमा प्रवेशद्धार निर्माण कार्य सुरु भएको थियो। सो प्रवेशद्धार सहिद भीमदत्त स्मृति प्रतिष्ठानले निर्माण गरिएको हो। 

आर्थिक स्रोत कहिँकतैबाट नजुटेपछि निर्माण कार्य रोकिएको सहिद भीमदत्त स्मृति प्रतिष्ठाले जनाएको छ। प्रवेशद्धारमाथि भीमदत्तको सालिकसहित बनाउने योजना रहेको भए पनि आर्थिक अभावले गर्दा पूरा काम हुन सकेको छैन।

पन्तको जन्मथलो जाने प्रवेशद्वार अलपत्र भन्ने खबर सुनेपछि २०७५ को असारमा पत्रकारसहितको टोली लगेर मेयर ओझा प्रवेशद्धार अवलोकन गर्ने पुगेको थिए। सोही असार मसान्तमा प्रवेशद्धार आश्वासन दिएका उनले अझै निर्माण गर्न भने पहल गरेनन्। 

लामो समयदेखि अलपत्र परेका थुपै्र संरचनाहरूको अवलोकन गरेको र, प्रवेशद्धार असार मसान्त सम्ममा सम्पन्न गर्ने मेयरले प्रतिवद्धता जनाएको भएपनि अझै ध्यान नदिएको स्थानीयको आरोप छ। मेयर ओझाले असार मसान्तमा बनाउने भनेको प्रवेशद्धार तेस्रो असार मसान्त सकिनै लाग्दा समेत बन्ने छाँटकाँट देखिदैन।

उसो त स्थानीय तहमा निर्वाचनको समयदेखि नगरप्रमुख ओझाले भीमदत्त आदर्श बस्ती बनाउँछु भनेर घोषणा नै गरका थिए।  भीमदत्त आदर्श बस्ती कुरा त परै जाओस् ७ वर्षदेखि गेट र करिव ७÷८ महिनादेखि घरको छत समेत बन्न सकेको छैन। 

पन्तको जन्मथलोमा जाने प्रवेशद्धार समेत बनाउन ध्यान नदिएको स्थानीयको आरोप छ। मेयरले आदर्श बस्तीको नाममा झुटो आश्वासन दिएको उनीहरूको आरोप छ। 

को थिए भीमदत्त पन्त?
नेपाली किसान आन्दोलनका सहिद भीमदत्त पन्त डडेल्धुराको अमरगढी–२ कारीगाउँमा १९८३ मंसिर १० गते जन्मिएका हुन्।

उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत विषयमा हाइस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो। यसले नै उनमा राजनीतिक चेतना बढायो। सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि थिए, भीमदत्त पन्त।

पन्तले ‘ठालु खान्ना आलु गरिब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात, भकारी फोड’ अभियान चलाएका थिए। भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोही नाम पनि हो।

‘जसको जोत, उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’, ‘कि त जोत हलो, कि त छोड थलो– यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए।

किसान योद्धाका रूपमा चिनिने पन्तको वि.सं. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो। वि.सं. २०७२ फागुन १९ गते मात्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रूपमा भीमदत्त पन्तलाई सहिद घोषणा गरेको थियो। 

 

कमेन्ट लोड गर्नुस