सहरी विकास र प्रदेश सरकारबिच गाडी खोसाखोस
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीको गाडी प्रदेश सरकारले अपहरण शैलीमा नियन्त्रणमा लिएपछि संघीय सहरी मन्त्रालयसंगको सम्वन्ध विग्रिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको निर्देशनमा शहरी विकासका कर्मचारी सवार रहेकै अवस्थामा अत्तरीयाबाट गाडी नियन्त्रणमा लिईएपछि सहरी विकास मन्त्रालय र सुदूरपश्चिम प्रदेशको सम्वनध विग्रिएको हो। सहरी विकास तथा भवन निर्माण विभागले जिल्लामा रहेका गाडीहरुको मर्मत र अन्य विभिन्न ठाउँमा पठाउनका लागि बैतडीको गाडी पनि दशँैको समयमा काठमाडौँ लैजाने तयारी गरेको थियो। तर मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको निर्देशनमा प्रहरी प्रशासन लगाएर अत्तरियामा विभागका कर्मचारीलाई उतार्दै गाडी नियनत्रणमा लिएको थियो।
संघीय सरकार र प्रदेश सरकारको समन्वयमा गाडी राख्न सकिने भएपनि अपहरण शैलीमा गाडी नियन्त्रणमा राखिएको सहरी विकास तथा भवन निर्माण विभागका उप महानिर्देशक पदम मैनालीले बताए। उनले सुदूरपश्चिम प्रदेश सरकारले अपहरण शैलीमा गाडी नियन्त्रणमा लिएकाले प्रदेश सरकारसंगको सम्वन्ध विग्रीएको स्वीकार गरे। उनले सहरी विकास मन्त्रालयले सुदूरपश्चिमको विकास निर्माणका लागि विनियोजन गरेको बजेट पनि घटाउन सक्ने बताए।
यता मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव नारायण विराडीले सहरी विकास बैतडीका प्रमुखले आफ्नो सरुवा भएपछि गाडी पनि संगै लैजान खोजेकाले नियन्त्रणमा लिएको बताए। गाडी नियन्त्रण गर्न मुख्यमन्त्रीको स्वकीय सचिवालयको टिम पनि परिचालन गरिएको थियो। समन्वय नगरी गाडी नियन्त्रण गरेपछि संघीय सहरी विकास मन्त्रालयको सुदूरपश्चिम प्रतिको सोचाई गलत भएको शहरी विकास तथा भवन निमाण विभागका महानिर्देशक मैनालीको भनाई छ। सहरी विकास बैतडीको गाडी प्रदेशमै राख्ने नितिगत निर्णय गराएर राख्न सकिने भएपनि अपहरण शैलीमा नियन्त्रण गर्दा सुदूरपश्चिमलाई नै घाटा हुने उनको भनाई छ।