सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ विमानस्थलकाे सुरक्षा चुस्त बनाइने

२०७८ असार १०, ०४:२५ रासस

बझाङ: विमानस्थलको सुरक्षालाई नै चुनौती हुने गरी भएका मानवीय गतिविधिमा देवल विमानस्थलले रोक लगाइने निर्णय गरेको छ।

विमानस्थल सुरक्षा समितिको बैठकले नयाँ सुरक्षा योजना ल्याउने विमानस्थलका बरिष्ठ अधिकृत तथा विमानस्थल सुरक्षा समिती अध्यक्ष भानुभक्त आचार्यले  बताए। 

पशुपंक्षी तथा सर्वसाधारण विमानस्थलको संवेदनशील क्षेत्रमा प्रवेश गर्न सक्ने भएकाले रोक्न नयाँ योजना अघि सारिएको अध्यक्ष आचार्यले जानकारी दिए।

जतिवेला पनि विमानस्थल भित्र मानिसको आवतजावत तथा पशुपंक्षीहरु चराउने तथा धुम्रपान, मध्यपान गर्न विमानस्थल क्षेत्रमा छिर्ने गरेकाले सुरक्षा चुनौती बढेकाले विमानस्थल प्रवेश गर्दा पासको व्यवस्था गर्ने उनले बताए। 

साथै अध्यक्ष आचार्यले भने, “विमानस्थल भित्र विना काममा प्रवेश गर्ने, क्रिकेट खेल्ने, गोरु चराउने, फोटो खिच्ने, टिकटक बनाउने, अफिस भित्र जाने कार्य भएकाले यसलाई रोक्न जरुरी छ। विमानस्थल जस्तो संवेदनशिल क्षेत्रमा मदिरा सेवन गरेर आउने, गुट्टका खाएर कार्यालय परिसरमा थुक्ने जस्ता काम भएका छन।”

विमानस्थलमा हाल ११ जना सुरक्षाकर्मी भए पनि त्यो पर्याप्त नभएको सुरक्षाकर्मीको भनाइ छ। 

कतिपय अवस्थामा आकस्मिक रुपमा विमान अवतरण यही गर्नुपर्ने  हुन्छ। समिट एयरलाइन्स बझाङका सञ्चालक किशोर खड्काले विमानस्थल घेरबारका काटिएका तारहरु पुनः मर्मत गरेर स्थानीयलाई भित्र प्रवेशमा रोक लगाउनु पर्ने बताए।  

बुधबारबाट विमानस्थलमा फोटो, भिडियो खिच्न नपाइने, अनुमतिविना विमानस्थल भित्र जान नपाउने लगायतका निर्णयहरु भएपनि स्थानीयतहका प्रमुखसँगको छलफलपछि मात्रै कार्यन्वयनमा लैजाने अध्यक्ष आचार्यले जानकारी दिए।

कमेन्ट लोड गर्नुस