सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाको सुरक्षा सामुदायिक वनमा जनप्रतिनिधिकै कब्जा

२०७८ असार ७, ०६:०४ नारायण अवस्थी

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–१ स्थित अत्तरियाको सुरक्षा महिला सामुदायिक वनमा जनप्रतिनिधिले नै जग्गा अतिक्रमण गरेको पाइएको छ।  वडा नम्बर १ का निर्वाचित सदस्य किर्तबहादुर चन्दले वन अतिक्रमण गरेको उपभोक्ता समितिले बताएको हो। 

सामुदायिक वनमा वडासदस्य चन्दले टहरा निर्माण गरेपछि एक दर्जन बढी टहरा बनाइएका थिए। सामुदायिक वनले ती सबै टहरा भत्काएपनि वडा सदस्य चन्दसहित २ जनाले पुनः टहरा निर्माण गरेको पाइएको छ। 

वडा सदस्य चन्दले वन अतिक्रमण गरी सर्वप्रथम टहरा निर्माण गरेको र त्यसपछि अन्य मान्छेले समेत टहरा निर्माण गरेको उपभोक्ता समितिले बताएको छ। वन उपभोक्ता समितिकी अध्यक्ष लक्ष्मी भण्डारीले वडा सदस्य चन्दलाई देखेर अन्यले समेत वनमा टहरा बनाएको दाबी गरिन। 

‘वनमा वडा सदस्य चन्दले सबैभन्दा पहिला गोठ बनाए। त्यसपछि १५÷१६ जना अरुले पनि टहरा बनाए। हामीले गएर सबैका टहरा भत्काएको भएपनि सदस्य चन्दले भने हामीलाई गाली गर्दै पुनः वनमा टहरा बनाएका छन्’ भण्डारीले भनिन्, ‘जनप्रतिनिधिले नै अतिक्रमण गरेपछि अरुले पनि गर्ने नै भए। उहाँले त झन अतिक्रमण हटाउन सहयोग गर्नुपर्ने हो।’

वडा सदस्य चन्दले भने सुरक्षा महिला सामुदायिक वनको जग्गा आफूले मात्रै अतिक्रमण नगरेको दाबी गरेका छन्। उनले भने, ‘उपभोक्ता समितिका पदाधिकारीले पैसा खाएर वनको धेरै जग्गा व्यक्तिलाई दिने काम गरेका छन्। सक्नेले वनकै जग्गा कब्जा गरेर पिल्लर सहितका घर बनाएका छन्। मैले त गोठ मात्रै बनाएको हुँ। कानून त सबैलाई बराबर हुन्छ होला नि। अरुले जग्गा छोडे म पनि छोडिदिउला।’

सुदूरपश्चिम प्रदेशमा वन अतिक्रमण तीव्र भएको गुनासो सर्वसाधारणले गर्ने गरेका छन्। वन क्षेत्रमा व्यक्तिगत र संस्थागत अतिक्रमणको बढेको अत्तरिया सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत शेरबहादुर भण्डारीको भनाई छ।

‘सरकारी पक्षबाट समेत वनमा कानून विपरितका भौतिक संरचना बनाउन बजेट हाल्ने कार्यमा भएको वृद्धिले वन क्षेत्र बचाउन चुनौति थपिएको छ’ उनले भने, ‘अत्तरियाको सुरक्षा महिला सामुदायिक वनमा अतिक्रमण हटाउन उपभोक्ता समितिलाई पत्राचार गरिएको छ।’

तराई तथा चुरे क्षेत्रमा रहेका राष्ट्रिय वन तथा सामुदायिक वनमा यो वर्ष अरु वर्षभन्दा बढी जग्गा अतिक्रण भइरहेको वन अधिकारीहरुले बताउने गरेको छन्। 

वन संरक्षण गर्न सहयोग गर्नुपर्ने व्यक्ति र निकाय नै वन अतिक्रमणमा सक्रिय देखिदा कैलालीको वन क्षेत्रको अस्तित्व संकटमा पर्ने देखिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस