जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट उद्घाटन
तरुणा जोशी, बझाङ्ग: प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बझाङमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन आइतबारबाट सुरु गरिएको छ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वैशाख ६ मा ८० लाखका दरले पहाडी ६ जिल्ला र टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि प्रक्रिया अघि बढाएको थियो। प्रदेश सरकारले उपलब्ध गराएको ८० लाखको लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टको शुक्रबार परीक्षण उत्पादन गरिएको छ।
योसँगै अक्सिजन भर्नका लागि सिलिन्डर जिल्ला बाहिर पठाउनुपर्ने र अक्सिजनको पर्खाइमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ। जिल्लामा अक्सिजन सिलिन्डर पर्याप्त मात्रामा रहेकोले जिल्लामा अक्सिजन अभाव नहुने भएको छ। शुक्रबार गरिएको परिक्षण उत्पादन सफल भएको र आजबाट नियमित उत्पादन सुरु हुने जिल्ला अस्पतालका प्रमुख डा. सन्दिप ओखेडाले बताए।
ग्रामीण भेगका स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटरको आवश्यकता देखिएकाले अक्सिजन प्लान्ट सञ्चालन भएसंगै कन्सन्ट्रेटर सञ्चालन गर्न सहज भएको डा सन्दिप ओखेडाले बताए।