सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दर्भ गण्तन्त्र दिवसः भोटका लागि लाशका औँला पनि नछोड्ने निर्दयी सरकार !

२०७८ जेठ १५, ०८:४२ विन्दु चन्द

समय र परिस्थिति उस्तै–उस्तै छ। त्यो बेलामा पनि संकट थियो। यो बेलामापनि संकट नै छ। त्यो बेलामा पनि हजाराँै नागरिकले ज्यान गुमाए। यो बेलामा पनि हजारौँ नागरिकले ज्यान गुमाइरहेका छन्। अझ कतिले ज्यान गुमाउने हुन् ? डर र त्रास त्यति बेला पनि थियो अहिले पनि छ। 

त्यो माहामारीमा पनि कुर्सीका लागि युद्ध भइरहको थियो। यो महामारीमा पनि कुर्सीकै लागि एक आपसमा लडाइ भइरहेको छ। फरक यति हो की त्यो बेला माओवादीको त्रास र डर थियो यो बेला रोग र भोगको डर छ। 

तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र जनयुद्धताका तत्कालीन सरकारले संकटकाल लगाएको थियो। म सानै थिए। १/२ कक्षामा पढ्थे। त्यतिबेला भर्खर गाउँमा स्कुल स्थापना भएका थिए। निगंलाको कलम, गेरोको दवाज र काठको पाटीमा अ, आ, इ, ई, क, ख लेख्न सिकिरहेका थियौँ। 

त्यतिबेला संकटकाल लगाइयो। सबै स्कुल बन्द भए। अलि ठूला देखिने जति सवैलाई माओवादीले आफुसँगै लिएर जान्थे। नगए मार्छ भन्ने त्रास थियो। माओवादीले लैजान्छ भनेर छोरी चेलीलाई राति जंगलकै ओडारमा बसाइन्थ्यो। राति ओडारमा बिताउँदा बाघ भालुको त्यति डर लाग्दैन थियो, जति माओवादीको डर थियो।

डरकै कारण कति त माओवादीसँगै लागे। कति परिवार त गाउँ नै छोडेर भारततिर लागे। अहिलेसम्म पनि फर्केका छैनन्। उनीहरु कहाँ छन् ? कस्तो अवस्थामा छन् केही पत्तो छैन्। कतिले ज्यान गुमाए। कति अपाङ्ग भए। कतिले आफन्त गुमाए। अभिभावक गुमाए। 

तीमध्ये एउटा अविभावक गुमाउनेमा म पनि परे। अलि माहोल शान्त जस्तो भएपछि डर पनि कम–कम हुँदै जानथाल्यो। हाम्रा बुवा रामी चन्द गाउँको मुखिया अर्थात गाउँका अध्यक्ष हुनुहुन्थ्यो। बैतडीको तल्लो स्वराड, साविकको पुरानो गाविस पञ्चेश्वर गाविस। अहिले गाउँपालिका भएको छ। 

बुवा अध्यक्ष हुनुले नै जति माओवादी पनि आउँथे हाम्रै घरमा बस्थे। बुवाको दुई वटा घर थिए। तल्लो घर ६ कोठाको जहाँ माओवादीलाई बस्न दिइएको थियो। त्यहाँ नेकपा माओवादी जिन्दावाद लेखेको अहिले पनि मेटिएको छैन्। 

विस्तारै बानी परियो, माओवादीहरुसँग, त्यति डर पनि भएन। केही दिनपछि जंगलमा बस्ने दिदीहरुलाई पनि घर बोलाइयो। अब त माओवादी घरमै बस्ने, आउने, जाने गर्न थाले। माओवादीको अड्डा पुचौँडी। दाईहरु पनि ठूला थिए। घरको ठूलदाई माओवाादीसँगै जानुभयो। कान्छो दाई पनि माओवाादी बन्नुभयो। अरु त सानै थियौँ। 

देशमा शान्ति आयो। दाईहरु (माओवादी) जनमुक्ति सेना भएर लडे। मलाई यति थाहा छ, तर सानै हुनाले धेरै ख्याल पनि राख्न सकेको छैन्। बुवालाई बिरामीले च्याप्यो। घरमा कोही छैन्। दाईहरुको  बिदा नपाइने। धेरै ठाउँ उपचार गरियो। तर बुवालाई सन्चो भएन। किनभने समयमै उनको उपचार हुन सकेन। 

कुरा २०६५ साल जेठ १५ गतेको हो। यस्तै समय थियो।  बादल लागेको, पानी पर्ला–पर्ला जस्तो थियो। अलि चिसो मौसम पनि थियो। त्यो दिन चुनाव थियो। 

बुवालाई रोगले च्यापिसकेको थियो। बिहानै गाउँका सवै जना भोट हाल्न जाने सुरसारमा थिए। बुवालाई पनि भोट हाल्न जानै पर्ने दवाव आउँदै थियो। गाउँमा एक दुई जना अन्य पनि बिरामी थिए। उनलाई डोकोमा बोकेर भोट हाल्ने मतदान केन्द्रमा लगियो। बुवालाई पनि डोकोमै बोकेर लैजाने कुरा चल्दै थियो केही दिन पहिले। तर बुवाको त्यो दिन अन्तिम दिन थियो। बुवा ४५ वर्षको मात्रै हुनुहुन्थ्यो। 

बुवा रेडियोको रहरी मान्छे। जहाँ गए पनि रेडियो चाहिँ छोड्नु हुन्थेन। ७ बजेदेखि भोटिङ्ग थियो। बुवालाई ७ बजेदेखि नै बढी च्याप्यो। ’खै रेडियो बजाउनु त, को–को गए भोट हाल्न जाउ भन सबैलाई म जान सक्दैन’ बाबाले काकासँग भन्नुभयो।  

बाहिर मान्छेहरुको भीड थियो। त्यहीँ भीडमा एक जना बाजेले भने, ’अब रामी बाँच्दैन, हामी भोट हाल्न जाउँ पछि आउँला।’ भीडका केही भोट हाल्न गए। जाने आउने क्रम नै चलिरहेको थियो। 

उता कति जनाले भोट हाले भनेर गनिँदै थियो। यता बुवाको समय....। घडीमा ठीक १२ बजेको थियो। बुवाले आमालाई भने, केटाकेटी सबलाई बोलाउ म देख्छु। घरका सवलाई बोलाउ म देख्छु। बोकेर बाहिर पु¥याइयो सबसँग बिदा माग्नु भयो। भित्र आफ्ना बालबच्चा परिवारसँग बोल्नै सक्नु भएन। सबैलाई हेरे। सायद सास निक्लिदै थियो होला। गाह्र्रो हुँदै थियो होला आँखा राता–राता र ठूला पार्दै हेर्न थाल्नुभयो। आमाले आँखा बन्द गरिदिनुभयो। एकछिन बेडमै सुताइयो। कति बेलासम्म त ठूलो सास गयो। सानो सास छदै छ भनेर खासखुस गर्दे थिए।

हामी बालबच्चाहरुलाई गाईगोरु हेर्न गोठालो लगाइयो। त्यति बेला अक्कल नै थिएन हामी त बच्चा नै भयौं। घरमा आएको मान्छे देख्दा रमाइलो मान्ने। दुःख के हो ? खुसी के हो ? केही आभाष नै भएन। 

साँझ ४ बजे गोठालोबाट आयौँ। त्यतिबेला बुवालाई भित्रबाट बोकेर बाहिर लगिँदै थियो। सवैजना रुदै थिए। घरमा एक जन्ती भन्दा पनि बढी मान्छेको भीड थियो। उति बेला होसै थिएन। मरे त के भो । भोलि आइहाल्नुहुन्छ जस्तै लाग्थ्यो। 
अर्को दिन को जिते ? को हारे ? गाउँमा कुरा हुन्थ्यो। किरिया बेसेको भित्र। 

बुबा टाढाबाट साँझ घर पुग्दा बाहिरबाट खोकेको महसुस हुन्थ्यो। केही दिनसम्म। जहिले पनि बाबा आउने बितिक्कै आएको जनाउँन खोक्नुहुन्थ्यो। त्यही आभाष हुन्थ्यो। विस्तारै बुझ्दै जाँदा सायद बुवाले समयमै उपचार पाएको भए, मैले बुवा गुमाउनु पर्देन थियो। 

थाहा छ, यो भन्दा दर्दनाक पीडा त माओवादीले हत्या गरेका परिवारलाई छ। अपाङ्ग बनाएर अलपत्र छन्। घर न घाटको भएका छन्।। लडेर ज्यानको बलीदानी दिनेका परिवारलाई पीडा छ। राज्यका लागि लडेकाको केही परिवारले अहिलेसम्म राज्यबाट कुनै सहयोग पाएका छैनन्। उनीहरुलाई कति पीडा होला ?

बेमतलबी सरकार। यति पनि स्वार्थी राजनीति कि, एक मरेको मान्छेलाई पनि हस्ताक्षर गराउनपछि नहट्ने। भोटका लागि डाँडा खोला भौँतारिने, गाउँ–गाउँ हरेक गरीबका घरमा भिख माग्ने राजनीतिक दल, कुर्सी पाएपछि को कहाँ कैले हामी चिन्दैनौ भन्छन्। 

हालत अहिले पनि उस्तै छ। औषधि नपाएर, अस्पताल नपुगेर हजाराँै नागरिककले ज्यान गुमाउनु परिरहेको यो अवस्थामा फेरि एक भोट एक अक्सिजन भन्ने गाइँगुईँ सुनिन्छ। परिवार चलाउन नसक्नेले सरकार चलाउन बसेका छन्। कस्ता निर्दयी र कठोर राजनीतिकर्मी। 

फेरि चुनाव हुने रे। भोटदिने त केही घटे नि। लाशले हात चलाउन सक्थ्यो भने भोट पाउन त्यो हात पनि छोडिन्नथ्यो होला ?

गण्तन्त्र आयो दिन खुल्यो भन्छन्। कसरी भन्ने हाम्ले गणतन्त्र आयो ? केका लागि गणतन्त्र ? कसका लागि ? जनता नै रहेनन् भने सरकार के का लागि ?

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस